सिड्नी। प्रवासी नेपाली समुदायबीच सांस्कृतिक एकता, पहिचान र उत्सवको भावना सुदृढ गर्ने उद्देश्यले अबन नेपलिज कम्युनिटीले ‘नेपाल नयाँ वर्ष २०८३’ विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। भोली अप्रिल १४ तारिख मंगलबार दिउँसो १ बजेदेखि साँझ ९ बजेसम्म Granville Park मा हुने कार्यक्रममा सर्वसाधारणका लागि निःशुल्क प्रवेश व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी Remitly ले मुख्य साझेदारका रूपमा साथ दिएको छ भने Cumberland City Council लगायत विभिन्न संघसंस्था र व्यवसायिक प्रतिष्ठानहरूको सहयोग रहको छ ।
यस अवसरमा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। गायक रमेशराज भट्टराई, अञ्जु पन्त, सिर्जाना खत्रीका साथै जिनिशा गौतम, श्रेस्या ज्ञावली , सरिना सैंजु लगायत कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। विभिन्न नृत्य समूह, ‘अर्बन फोक’ लाइभ प्रस्तुति, तथा स्थानीय नेपाली कलाकारहरूको सहभागिताले कार्यक्रमलाई बहुरंगी बनाउने बताइएको छ।
कार्यक्रम सञ्चालन डोमा तामाङ, अजिना कार्की र सबला बस्नेतले गर्नेछन्। कार्यक्रममा खानाका स्टल, व्यवसायिक स्टल, बालबालिकाका गतिविधि, तथा सामुदायिक भेटघाटका विशेष आकर्षणहरू समेत रहनेछन्।
अर्बन नेपलिज कम्युनिटीका अध्यक्ष अरुण श्रेष्ठले नयाँ वर्ष कार्यक्रमलाई प्रवासी नेपालीहरूको साझा पर्वका रूपमा लिन आग्रह गरेका छन्। उनका अनुसार, “विदेशी भूमिमा रहेर पनि आफ्नै भाषा, संस्कृति र परम्परालाई जोगाइराख्ने सबैभन्दा प्रभावकारी माध्यम यस्ता सामुदायिक कार्यक्रम हुन्। नयाँ वर्ष २०८३ लाई सम्पूर्ण नेपाली समुदाय एकै ठाउँमा भेला भई आपसी सद्भाव, सहकार्य र एकताको सन्देश फैलाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताए।
आयोजकका अनुसार, अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एउटै छानामुनि ल्याउँदै नेपालीपनको अनुभूति दिलाउने यस कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्नेछ।
सिड्नी तथा आसपासका क्षेत्रका नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई ‘नेपाल नयाँ वर्ष २०८३’ उत्सवलाई भव्य रूपमा सफल बनाउन आयोजकले आह्वान गरेको छ।