सिड्नी। अष्ट्रेलियालाई कर्मथलो बनाएका नेपाली समुदायले मानवीय सेवाको उदाहरण प्रस्तुत गर्दै सिड्नीमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन्। प्राकृतिक विपद्, आकस्मिक अवस्था तथा अस्पतालहरूमा देखिन सक्ने रगत अभावलाई कम गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।
नेप्लिज ब्लड डोनर्स एसोसिएसन (NBDA) अष्ट्रेलिया को आयोजना तथा रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलिया (RSNA) र फेडरेशन अफ नेप्लिज कम्युनिटी एसोसिएसन अष्ट्रेलिया (FeNCAA) NSW को सहकार्यमा सिड्नी टाउनहलस्थित अष्ट्रेलियन रेड क्रस लाइफब्लड टाउनहल डोनर सेन्टर मा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा ६ जनाले प्लाज्मा र १३ जनाले होल ब्लड दान गरेका थिए। प्लाज्मा दान गर्नेहरूमा सविना बश्याल, प्रकाश पन्थी, प्रसन्न दाहाल, सञ्जय श्रेष्ठ, रमेश सापकोटा र केड्जिल डिमाकुलाङ्गान रहेका थिए। त्यस्तै होल ब्लड दान गर्नेहरूमा शंकर प्रसाद शर्मा, रास्ना पालन्चोके, आश्मा ढुङाना, योगेश पराजुली, उत्सव अर्याल, गणेश पन्थ, लक्ष्मण कुमार कार्की, मनकाश पिया, भुषण दंगोल, प्रकाश लामिछाने, सरोज पाठक, जमुना रोक्का र प्रदीप खनाल सहभागी भएका थिए।
नेप्लिज ब्लड डोनर्स एसोसिएसन अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रसन्न दाहालले गरेका थिए भने स्वागत मन्तव्य सदस्य रास्ना पालन्चोकेले राखेकी थिइन्। अध्यक्ष पोखरेलले अष्ट्रेलियामा हुने रगत अभाव न्यूनीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै इच्छुक व्यक्तिहरूलाई आफू नजिकको ब्लड सेन्टरमा गई नियमित रक्तदान गर्न आह्वान गरेका थिए।
कार्यक्रममा अतिथिहरूले ‘रक्तदान जीवनदान’ जस्तो पुण्य कार्यमार्फत समाजप्रति जिम्मेवारी निर्वाह गरेको भन्दै आयोजक संस्थाहरूको प्रशंसा गरेका थिए। साथै समान उद्देश्य भएका संघ–संस्थाबीच सहकार्य, समन्वय र मानवीय हितका कार्यक्रमहरू विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
उक्त कार्यक्रममा विभिन्न संघ–संस्थाका पदाधिकारी, समुदायका अगुवा तथा नेपाली समुदायका सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।