सिड्नी। अष्ट्रेलियाको Liverpool City Council अन्तर्गत पर्ने South Ward मा रिक्त पदका लागि आगामी १८ अप्रिल २०२६ मा हुने उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङले Community Voice of Australia बाट उम्मेदवारी दिएका छन्। उपप्रमुख Betty Green ले स्वास्थ्य कारण देखाउँदै कार्यकालको बीचमै राजीनामा दिएपछि रिक्त उक्त पदमा चुनाव हुन लागेको हो । यस उपनिर्वाचनमा लेबर, लिबरल लगायत स्वतन्त्र गरी ११ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्।
गुरुङ लामो समयदेखि अष्ट्रेलियामा नेपाली समुदायसँग आबद्ध भई स्वयंसेवकका रूपमा सक्रिय रहँदै आएका छन्। British Army तथा Australian Defence Force मा ३० वर्षभन्दा बढी सेवा गरेको अनुभव उनीसँग छ। लामो समयदेखि Liverpool क्षेत्रमै बसोबास गर्दै आएका गुरुङ स्थानीय समुदाय, परिवार, व्यवसाय तथा भावी पुस्ताका आवश्यकताबारे जानकार व्यक्तिका रूपमा चिनिन्छन ।
निर्वाचित भएमा गुरुङले काउन्सिल दरलाई न्यायोचित र जिम्मेवार बनाउने, फोहोर तथा फोहोर व्यवस्थापन जस्ता आधारभूत सेवामा सुधार गर्ने, सडक, फुटपाथ, पार्क तथा खेलकुद पूर्वाधार सुदृढ गर्ने, सामुदायिक सम्पत्तिलाई अनावश्यक निजीकरणबाट जोगाउने, समुदाय तथा खेलकुद स्थल सुलभ बनाउने, नयाँ पूर्वाधार विकासमा जोड दिने, स्थानीय रोजगारी सिर्जना गर्ने र Liverpool लाई सुरक्षित, सशक्त तथा बस्नयोग्य बनाउने प्राथमिकता राखेका छन्।
पारदर्शिता, जवाफदेहिता र जनमुखी नेतृत्वलाई आफ्नो अभियानको मुख्य आधार बनाएका गुरुङले South Ward का मतदातालाई १८ अप्रिल २०२६ मा मतदान गरी आफूलाई विजयी बनाउन आह्वान गरेका छन्। यस क्षेत्रमा नेपालीहरूको पनि बाक्लो बसोबास रहेको छ।
यसअघि अष्ट्रेलियामै नेपाली मूलका भद्रा वाइवा र सुक्रिती भट्टले काउन्सिल निर्वाचन जितेर प्रतिनिधित्व गरिसकेका छन्, जसले नेपाली समुदायका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।