नेभिगेशन
न्यू साउथ वेल्स

सिड्नीको रोजहिलमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुँदै

सिड्नी ।  नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ। आयोजकका अनुसार धार्मिक तथा सांस्कृतिक संरक्षणको उद्देश्यले आयोजना गरिएको महायज्ञ यही फेब्रुअरी २३ सोमबारदेखि मार्च १ आईतवारसम्म सञ्चालन हुनेछ।

कार्यक्रम सिड्नीको रोजहिलस्थित BAPS Shri Swaminarayan Hindu Mandir, Rosehillमा दैनिक अपराह्न ३ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। सप्ताह अवधिभर धर्मशास्त्रका मूर्धन्य विद्वान, १८ पुराणका अन्तर्राष्ट्रिय कथा व्यास पण्डित कुबेर सुवेदीको मुखारविन्दबाट श्रीमद्भागवत कथावाचन हुनेछ। यस्तै, आध्यात्मिक ब्रह्मनिष्ठ साधक तथा लड्केश्वर धामका पीठाधीश्वर मुकुन्द शर्माबाट दिव्य भजन प्रस्तुति रहने जनाइएको छ।

समाजका अध्यक्ष लक्ष्मी बास्ताकोटीले विदेशमा बसोबास गर्ने नेपाली समुदायबीच धर्म, संस्कार र परम्पराको संरक्षणका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताइन्। “यस्ता धार्मिक अनुष्ठानले समुदायलाई एकताबद्ध बनाउनुका साथै नयाँ पुस्तामा आफ्नो मौलिक पहिचानप्रति जागरण गराउने विश्वास लिएका छौं,” उनले भनिन्।

महायज्ञमा सहभागी भई पुण्य लाभ लिन समाजले अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई आह्वान गरेको छ। आयोजकका अनुसार कार्यक्रमको प्रत्यक्ष प्रसारणसमेत गरिने व्यवस्था मिलाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्