नेभिगेशन
न्यू साउथ वेल्स

ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको साधारण सभा सम्पन्न, विष्णु हमाल अध्यक्षमा चयन

सिड्नी । मिनी नेपाल निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टरको पहिलो साधारण सभा तथा अधिवेशनले विष्णु हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।IMG_4357-1771200689.jpeg

हिजो फेब्रुअरी १५ तारिक आईतवार अबनस्थित  ग्राण्ड प्यालेस फङ्सन सेन्टरमा सम्पन्नसाधारण सभाले अध्यक्ष हमालले प्रस्तुत गरेको संस्थाको प्रगति प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। प्रतिवेदनमा संस्थाले स्थापना पश्चात गरेका गतिविधि, प्राप्त उपलब्धि, अवसर तथा चुनौती र आगामी योजनाबारे उल्लेख गरिएको थियो। हमालले नेपाली कला, संस्कृति र पहिचानलाई अष्ट्रेलियामा प्रवर्द्धन गर्ने उद्देश्यका साथ संस्थाले ‘मिनी नेपाल’ निर्माणको अभियान अघि बढाएको जानकारी दिए।

यसैगरी महासचिव डा. प्रकाश पौडेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष प्रकाश वस्ताकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पनि सभाले अनुमोदन गरेको छ। आर्थिक प्रतिवेदन अनुसार सदस्यता शुल्क र विभिन्न सहयोगमार्फत हालसम्म संस्थाको कोषमा करिब ९ लाख अष्ट्रेलियन डलर संकलन भएको छ।

कोषाध्यक्ष वस्ताकोटीका अनुसार नेपालका कथा वाचक दिनबन्धु पोखरेलको उपस्थितिमा आयोजित महायज्ञमा ८८ जना दाताले प्रतिबद्धता जनाएको २० लाख अष्ट्रेलियन डलरभन्दा बढीमध्ये हालसम्म १ लाख ३६ हजार डलर संकलन भइसकेको छ।IMG_4356-1771200720.jpeg

कार्यक्रमका प्रमुख अतिथि न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत संजीव शर्माले नेपाली कला, संस्कृति र संस्कार संरक्षण तथा प्रवर्द्धनमा सरकारी तवरबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। अष्ट्रेलिया सरकारका छायाँ मन्त्री मार्क जोसेफ काउरेले पनि नेपाली समुदायले सञ्चालन गरेको संस्कृति संरक्षणको अभियानलाई पूर्ण साथ रहने बताए। उनले ‘मिनी नेपाल’ निर्माणले अष्ट्रेलियाली समुदायलाई नेपाली समाज र संस्कृतिबारे बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा विभिन्न सामाजिक अगुवा तथा संघसंस्थाका प्रतिनिधिहरूले ‘मिनी नेपाल’ परियोजना नेपाली पहिचान जगेर्नाको महत्वपूर्ण अभियान भएको उल्लेख गर्दै सामूहिक सहयोग आवश्यक रहेको धारणा राखेका थिए।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा विष्णु हमाल, उपाध्यक्षमा उमेश पन्त र देव बहादुर गुरुङ चयन भएका छन्। महासचिवमा डा. प्रकाश पौडेल, कोषाध्यक्षमा प्रकाश वस्ताकोटी र सहकोषाध्यक्षमा अमृत आचार्य चयन भएका छन्।

 

यसैगरी सदस्यहरूमा बाबु गौतम, प्रतिज्ञा अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोत्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्सु  साह, विजय पौडेल उपाध्याय र प्रीति शर्मा चयन भएका छन्। बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ।

नयाँ कार्यसमितिले आगामी चार महिनाभित्र सदस्य संख्या दुई हजार पुर्‍याउने, स्थानीय सरकारसँग सहकार्य गर्दै यसै वर्ष करिब चार हेक्टर जग्गा खरिद गर्ने तथा ‘मिनी नेपाल’ निर्माणलाई तीव्रता दिने योजना बनाएको छ।

कार्यक्रममा संस्थालाई स्थापना कालदेखि सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो। साथै नेपाली कला संस्कृतिसम्बन्धी बालबालिकाको सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई आकर्षक बनाएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्