नेभिगेशन
समाचार

कोजाग्रत पूर्णिमा आज : दशैंको समापनसहित महालक्ष्मीको आराधना, तिहारको तयारी सुरु

काठमाडौं । आज आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमा, दशैंलाई बिदा गरी धनधान्यकी देवी महालक्ष्मीको आराधना गरेर मनाइँदै छ ।

यस दिन रातभर जाग्राम बसी महालक्ष्मीको पूजा–आराधना गर्ने धार्मिक परम्परा रहिआएको छ । विश्वास अनुसार आज राति जाग्राम बसेर भक्तिभावपूर्वक आराधना गर्ने व्यक्तिका घरमा महालक्ष्मी स्वयं प्रवेश गरी ऐश्वर्य र समृद्धि प्रदान गर्छिन् ।

कोजाग्रत पूर्णिमाको साथसाथै नेपालीहरूको महान् पर्व बडादशैंको पनि आज औपचारिक समापन हुने परम्परा छ । आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज अर्थात् आश्विन शुक्ल पूर्णिमासम्म मात्र शास्त्रसम्मत मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बेलुकी अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउन सकिन्छ ।

बिहानै दशैंघरमा राखिएका फूल, प्रसाद र जमराको अवशेष नजिकको नदी, तलाउ वा तीर्थस्थलमा विसर्जन गर्ने चलन छ । भोलिदेखि कात्तिक स्नान सुरु हुने र आकाशदीप दान गर्ने परम्परा पनि यत्तिकै महत्वपूर्ण मानिन्छ, जसले तिहार पर्वको तयारीको संकेत गर्छ ।

कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ । दशैंको समाप्तिसँगै महालक्ष्मीको आराधना र तिहारको प्रारम्भिक उत्साहले देशभर उत्सवको वातावरण छाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्