काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि थप पाँच मन्त्रीको नाम टुंगो लगाउँदै राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन्। बालुवाटार स्रोतका अनुसार नयाँ मन्त्रीहरूको शपथ सोमबार हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. संगीता कौशल मिश्र, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्रीमा अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषिमन्त्रीमा डा. मदन परियारलाई सिफारिस गरिएको छ।
डा. संगीता कौशल मिश्र
स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी अतिरिक्त सचिव डा. मिश्रले पदबाट राजीनामा गरिसकेकी छन्। उनी २०५७ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेकी थिइन्। फुलब्राइट छात्रवृत्तिमा अमेरिका अध्ययन गरेर फर्किएपछि २०७० सालमा पुनः स्वास्थ्य सेवामा प्रवेश गरेकी उनले स्वास्थ्य सेवा विभाग महानिर्देशक, कोशी अस्पताल र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेकी थिइन्। कोभिड–१९ महामारीताका उनले कोशी अस्पतालमा देखाएको नेतृत्व र प्रसूति गृहमा गरेको कामको प्रशंसा गरिएको छ।
महावीर पुन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस भएका पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष हुन्। म्याग्दीको नाङीमा जन्मेका उनले अमेरिकाबाट स्नातक गरेका थिए। सन् १९९२ मा नेपाल फर्किएर शिक्षा तथा प्रविधिको पहुँच विस्तारमा सक्रिय भएका पुनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार र २०७९ सालमा भवन कीर्ति रत्न पुरस्कार पाएका थिए। उनी ‘नवप्रवर्तनका अभियन्ता’का रूपमा चिनिन्छन्।
अनिलकुमार सिन्हा
उद्योग तथा भूमिसुधार मन्त्रीमा सिफारिस भएका सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्। करिब सात वर्ष न्यायाधीशका रूपमा सेवामा रहेर उनले संवैधानिक इजलासका महत्त्वपूर्ण फैसलामा भूमिका खेलेका थिए, जसमा संसद् विघटन खारेजी र अख्तियार प्रमुख नियुक्तिसम्बन्धी मुद्दा उल्लेखनीय छन्। यसअघि उनी कर र कर्पोरेट कानूनमा विशेषज्ञ अधिवक्ता थिए।
जगदीश खरेल
सञ्चार, सूचना तथा प्रविधि मन्त्रीका लागि सिफारिस भएका खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्। हाल इमेज टेलिभिजनका समाचार प्रमुख रहेका उनले लामो समय ‘हट सिट’ कार्यक्रम सञ्चालन गरेका थिए। दोलखा निवासी खरेल त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर र हाल अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि अध्ययनरत छन्।
डा. मदन परियार
कृषिमन्त्रीका लागि सिफारिस भएका डा. परियार वरिष्ठ जलवायु तथा कृषिविज्ञ हुन्। समता फाउन्डेसनका अध्यक्ष रहेका उनले संविधानसभाको राज्य पुनर्संरचना आयोगको संयोजकको जिम्मेवारी सम्हालेका थिए। दलित समुदायबाट पीएचडी गर्ने पहिलो व्यक्ति परियारले जलवायु परिवर्तन, कृषिउद्योग र सामाजिक समावेशीताका क्षेत्रमा लामो समय काम गरेका छन्।