नेभिगेशन
समाचार

नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि सिड्नीमा आध्यात्मिक महोत्सव गरिदै 

सिड्नी । बहुसांस्कृतिक अष्ट्रेलियामा नेपाली समुदाय, तुलनात्मक रुपमा नयाँ, गतिशील र मर्यादित समुदायको रुपमा चिनिन्छ । अष्ट्रेलियामा नेपालीहरुको बसोबास सत्तरी को दशकमा शुरु भएतापनि नब्बेको दशक पछि नेपालीहरुको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको पाईन्छ। अष्ट्रेलियाको  न्यु साउथ वेल्स राज्यमा नेपाली समुदायको बसोबास ठुलो हिस्सामा ग्रेटर सिड्नीको सेरोफेरोमा नै रहेको छ । अध्ययनको सिलसिलामा आएका अधिकांश नेपालीहरु आजभोलि स्थायी बसोबाससंगै विविध पेशागत क्षेत्रमा आफ्नो वर्चस्व स्थापित गर्न सफल समेत भएका छन् । नेपाली समुदायको वृद्धि संगै धेरै नेपालीहरुले अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा आर्थिक र सामाजिक रुपमा महत्वपुर्ण योगदान पनि दिन सफल भएका छन् ।  

सिड्नीमा नेपाली समुदायको संख्यामा बढोत्तरीसंगै हाम्रो दोश्रो पुस्ताको संख्या पनि उल्लेखनीय रहेको छ  र आउँदा दिनहरुमा यो संख्या झन्  तिब्र गतिमा बढ्ने क्रम निश्चित छ । हाम्रो बृहत्तर नेपाली समुदायलाई एकताको शूत्रमा बाध्न, हाम्रो सनातन धर्म, विविध संस्कृति र बहुसांस्कृतिक परम्पराहरुलाई संरक्षण, सम्बर्धन र पुस्तान्तरण गर्नका निमित्त हामीलाई एउटा साझा चौतारीको आवश्यकता टड्कारो रहेको सबैमा सर्वविदितै छ । सो आवश्यकताको अपरिहर्यता महशूस गरि सम्पूर्ण नेपाली संस्था र समुदायहरुको अपनत्व रहने गरि यो, Greater Sydney Nepalese Multicultural Centre (GSNMC), गैरनाफामूलक संस्था स्थापना भएको हो । 

आध्यात्मिक महोत्सवका समन्धमा सस्थाद्वारा हालै जारी बिज्ञप्तिमा  GSNMC, सम्पुर्ण नेपालीहरुको एउटा संस्थागत साझा चौतारी भएको र यस संस्थाको पहिलो प्रमुख उद्द्श्य भनेको सिड्नीको सेरोफेरोमा बस्ने सम्पूर्ण नेपालीहरुको सहभागीतामा जति सक्दो छिटो प्रस्तावित बहुसांस्कृतिक केन्द्र निर्माणका लागि काम गर्नु उल्लेख गरिएको छ । बिज्ञप्तिमा अष्ट्रेलियामा बसोबास हुदै गरेको पहिलो नेपाली पुस्ताले आउने भावी पुस्तालाई सुम्पिने सामुदायिक धरोहरको रुपमा पनि यो प्रस्तावित नेपाली बहुसांस्कृतिक केन्द्र महत्वपूर्ण कसीको रुपमा रहने विश्वास गरिएको छ । बहुआयामिक, बहुउद्देश्यीय र दिर्घकालिन महत्वको बहुसांस्कृतिक केन्द्र निर्माणको यो महाअभियानमा सबै अष्ट्रेलिया र विशेषत ग्रेटर सिड्नीबासी नेपालीहरुको सक्रिय सहभागिता र अपनत्व जरुरी छ भन्नेमा हामी सचेत छौँ ।


लामो समयदेखि हामी सबैले महशूस गरेको नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आवश्यक नीति तथा कार्यक्रमहरु तय गर्दै जग्गा खरिद तथा प्रारम्भिक भौतिक पूर्वाधार निर्माणका लागि अर्थ संकलन गर्नु यतिबेला हामी सबैको प्रमुख प्राथमिकता बनेको छ । प्रभावकारी अर्थ संकलममा वृहत नपाली समुदायको सहभागिता र अपनत्वले  विशेष महत्वपूर्ण स्थान राख्दछ ।  

परियोजनाका सम्बन्धमा व्यापक सचेतना र जनसहभागिताका लागि सिड्नी सेरोफेरोमा स्थापित सम्पूर्ण समुदायिक संघ-संस्था, व्यवसायीहरु तथा सम्पूर्ण आम जनसमुदायहरुको सहयोग र सक्रिय सहभागितामा GSNMC ले आउदो अगस्त २९ देखि ३१ सम्म "सिड्नी आध्यात्मिक महोत्सव २०२५" कोआयोजना गर्न लागिएको सस्थाका अध्यक्ष बिष्णु हमालले बताए ।  उनका अनुसार वाचन प्रविण पण्डित दीनबन्धु पोख्रेलको प्रमुख आतिथ्यतामा स्थानिय पण्डितहरुले समेत कथा, धार्मिक एबं आध्यात्मिक प्रवचन दिनेछन् । महोत्सवमा कलश यात्रा पुजाआजा र आरती र भजन कृतन गरिने छ । आध्यात्मिक महोत्वव सफल बनाउनका लागि आ-आफ्नो क्षेत्रबाट यो अभियानलाई सफलतापुर्वक सम्पन्न गर्न आर्थिक सहयोग गर्न सम्पूर्ण व्यवसायी तथा सामुदायिक संघ-संस्थाका प्रतिनिधिहरुलाई सस्थाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्