उपराष्ट्रपति निर्वाचनको कार्यतालिका परिवर्तन


  • October 27, 2015


उपराष्ट्रपति निर्वाचनको कार्यतालिका परिवर्तन

काठमाडौं । सभामुख ओनसरी धर्तीले आज उपराष्ट्रपति निर्वाचनको कार्यतालिका परिवर्तन गरेकी छन् । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग र समुदायको हुनुपर्ने व्यवस्था गरे पनि दुवैको निर्वाचन एकै पटक गर्ने यसअघिको निर्वाचन कार्यतालिकालाई परिवर्तन गरिएको हो । अब राष्ट्रपति निर्वाचित भइसकेपछि मात्रै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया आरम्भ हुनेछ। यसअनुसार उपराष्ट्रपतिको उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने म्याद कात्तिक १३ गते शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म तोकिएको छ। यसअघि उपराष्ट्रपतिका लागि पनि राष्ट्रपतिको झैँ आजै बिहान १० बजेदेखि १ बजेसम्म प्रस्ताव दर्ता गर्ने समय दिइएको थियो। उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान भने कात्तिक १४ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। शनिबारै साँझ ५ बजे सभामुखले निर्वाचन परिणाम घोषणा गर्नेछन्। कार्यतालिका परिवर्तन गरे पनि संविधान उल्लङ्घन भने हुने छैन। संविधानले संसदको अधिवेशन सुरु भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्ने उल्लेख गरेको छ। संसदको अधिवेशन असोज १५ मा सुरु भएको हो। उपराष्ट्रपति पदका लागि हालसम्म एमाओवादीले मात्रै उम्मेदवारी दिने घोषणा गरेको छ। उसले तत्कालीन माओवादी सेनाका पूर्व डेपुटी कमान्डर नन्दकिशोर पुन पासाङलाई उम्मेदवार बनाउँदैछ।


NEPAL NEWS Team
260 views

सम्बन्धित समाचारहरु