सन्त नेता भट्टराईको स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै


  • March 4, 2015


सन्त नेता भट्टराईको स्मृति दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदैछ । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो । उनको सम्झना र सम्मानमा नेपाली कांग्रेस, कांग्रेसका भातृ संगठनहरु तथा कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले आज कार्यक्रम गरि बनाउदैछन् ।
नेपाली राजनीतिमा निष्ठा, निस्वार्थ र इमान्दारीताको पहिचान छाडन सफल नेता भट्टराइलाई प्रतिकको रुपमा लिने गरिन्छ । भट्टराई २०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधिसभाको सभामुखका साथै पत्रकार संघका संस्थापक सभापतिसमेत थिए ।
भट्टराईको जन्म स्व पिता संकटाप्रसाद र स्व माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो । भट्टराई वि. सं. २०४६को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण योगदान भट्टराईको रहेका थियो । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८को आम निर्वाचनमा उनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए । पछि २०५६को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ ।


NEPAL NEWS Team
392 views

सम्बन्धित समाचारहरु