Saturday, December 2, 2023

“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”


  • September 13, 2015


“हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ”

काठमाडों । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आजदेखि नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ माथि प्राप्त संशोधन प्रस्तावमा मतदान हुने बताएका छन् । आज बिहान रेडियो नेपालसंगको कुराकानीमा उनले प्रमुख दलको आग्रहमा शुक्रबार र शनिबार मतदानको प्रक्रिया स्थगन गरिएकाले आज बिहान ११ः३० मा बस्ने पहिलो बैठकमा शीर्ष नेताले बोल्ने र त्यसपछि केही समय स्थगन भई दोस्रो बैठकदेखि प्रक्रिया अघि बढ्ने जानकारी दिए । उनका अनुसार शीर्ष नेताले छलफलमा भाग लिएपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनेछ । उनले अहिलेसम्मका आन्दोलन र उपलब्धि तथा जनताको भावना समेटिएको प्रगतिशील र लोकतान्त्रिक संविधान तयार भएकाले यसलाई जारी गर्ने ऐतिहासिक चरणलाई पूरा गर्न सबैमा आग्रह पनि गरे ।
अध्यक्ष नेम्वाङले आजको बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने तथा यदि वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न सकिने जनाए । उनले भने– ‘हामी संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेका छौँ, यसबाट दायाँबायाँ वा पछाडि फर्कने ठाउँ छनै, अगाडि बढेर बाहिर निस्कनाको विकल्प छैन ।” रासस


NEPAL NEWS Team
148 views

सम्बन्धित समाचारहरु