Saturday, July 13, 2024

तीन सय ३५ किलो प्लास्टिक झोला अनुगमनका क्रममा बरामद


  • April 15, 2015


तीन सय ३५ किलो प्लास्टिक झोला अनुगमनका क्रममा बरामद

काठमाडौं । सरकारले काठमाडौँ उपत्यकामा प्लास्टिक झोलामाथि वैशाख १ गतेदेखि प्रतिबन्ध लगाएपछि त्यसको कार्यान्वयनको अवस्थाबारे अनुगमन सुरु गरिएको छ । वातावरण विभाग, नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको संयुक्त टोलीले बुधवार असन, कालिमाटी र ललितपुरको कृष्ण मन्दिर अगाडि अनुगमन गरेको हो ।

अनुगमनका क्रममा असनमा ३०० केजी, कालिमाटीमा २५ केजी र कृष्ण मन्दिरमा १० केजी प्लास्टिक झोला बरामद गरेको विभागले जनाएको छ । बरामद प्लास्टिक झोलाका थोक बिक्रेतालाई वैशाख ९ र १० गते विभागमा बोलाई बयान लिएर न्यूनतम रु पाँच हजारदेखि अधिकतम रु ५० हजारसम्म जरिवाना गरिने विभागका उपमहानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए ।
प्लास्टिक झोला ललितपुरको थानापति ट्रेडर्स, कालिमाटीका अधिकारी प्लास्टिक सप्लायर्स र रेग्मी प्लास्टिक सप्लायर्स, असनका रक्की प्लास्टिक सप्लायर्स, आरके प्लास्टिक सप्लायर्स र एनके प्लास्टिक सप्लायर्स, भेडासिङका वन्पीलाल प्लास्टिक स्टोर्स, राजेश श्रेष्ठ प्लास्टिक स्टोर्स र प्रदीप ट्रेडर्सबाट बरामद गरिएको उनले बताए । ‘विभागको नेतृत्वमा वैशाख पहिलो साता थोक बिक्रेताकामा अनुगमन गरिने, दोस्रो साता उपत्यकाका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको नेतृत्वमा आफ्नो कार्यक्षेत्रभित्र खुद्रा बिक्रेताकामा अनुगमन गर्ने र तेस्रो साता प्लास्टिक प्रयोगकर्ता सर्वसाधारणलाई जनचेतना जगाउने उद्देश्यले सम्झाउने बुझाउने कार्यक्रम गर्न लागिएको छ’ – उपमहानिर्देशक भट्टराईले भने – ‘सम्झाउँदा बुझाउँदा पनि नमानेमा सर्वसाधारणलाई पनि रु पाँच हजारदेखि रु ५० हजारसम्म जरिवाना गरिनेछ ।’
सकेसम्म सर्वसाधारणलाई कारबाही गर्नु नपरोस् भन्ने हिसाबले जनचतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइएको विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका वातावरण महाशाखा प्रमुख महेन्द्रमान गुरुङले बताए ।


NEPAL NEWS Team
304 views

सम्बन्धित समाचारहरु