पर्थ, पश्चिम अस्ट्रेलिया । नेपाली कला, संस्कृति, संगीत, मौलिक परिकार र सामुदायिक पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ प्रस्तुत गर्ने उद्देश्यले ‘नेपाल फेस्टिभल पर्थ २०२६’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पश्चिम अस्ट्रेलियाको आयोजनामा अक्टोबर १० शनिबार पर्थको वेलिङ्टन स्क्वायरमा हुने महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। निःशुल्क तथा परिवारमैत्री महोत्सवमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
हरेक दुई वर्षमा आयोजना हुँदै आएको नेपाल महोत्सवको यस संस्करणमा नेपाली संस्कृति, लोककला, संगीत, नृत्य र मौलिक खानालाई विशेष प्राथमिकता दिइनेछ। नेपालका विभिन्न जातजाति र भूगोलको प्रतिनिधित्व गर्ने सांस्कृतिक परेडबाट महोत्सवको सुरुआत हुनेछ।
महोत्सवको मुख्य आकर्षणका रूपमा ‘नेपाल हाउस’ रहनेछ। त्यहाँ नेपाली हस्तकला, ऐतिहासिक सम्पदा तथा पर्यटकीय गन्तव्यबारे प्रदर्शनी गरिनेछ। मुख्य मञ्चमा चर्चित गायक प्रमोद खरेल, गायिका रचना रिमाल तथा परम्परा ब्यान्डको प्रस्तुति रहनेछ। नेवारी, तामाङ सेलो लगायत विभिन्न लोक तथा बहुसांस्कृतिक प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिनेछन्। साथै बालबालिकाहरुको लागि बिभिन्न मनोरन्जनात्मक खेलहरु राखिने छ ।
एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक हरिबंश सञ्जेल (सुमन)ले महोत्सव नेपाली समुदाय र अस्ट्रेलियाको बहुसांस्कृतिक समाजबीच सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण अवसर भएको बताए।
‘समृद्ध नेपाली संस्कृति प्रस्तुत गर्दै पर्थको बहुसांस्कृतिक समुदायसँग नेपालीपन र आत्मीयता साट्ने यो अवसर हो,’ उनले भने, ‘हालै नेपालमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउने पहलसमेत महोत्सवमार्फत गरिनेछ।’
महोत्सव सफल बनाउन एनआरएनए पश्चिम अस्ट्रेलियासँगै नेपाल एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया (NAWA), पर्थ नेपाली मन्दिर तथा सामुदायिक केन्द्र (PBWA) लगायत विभिन्न संघसंस्था, क्लब तथा व्यवसाय सहभागी छन्।
यसपटक Interlace Studies मुख्य प्रायोजक रहेको छ भने Basmati Grocery Mart र 8848 Momo House प्रमुख सह–प्रायोजक छन्। सिटी अफ पर्थ, अफिस अफ मल्टिकल्चरल इन्ट्रेस्ट्स (OMI) र लटरीवेस्टले पनि महोत्सवलाई सहयोग गरेका छन्।
महोत्सवमा ढाका टोपी, गुन्यु–चोलीलगायत परम्परागत पोसाक, बालबालिकाका गतिविधि, नेपाली चिया चाख्ने ‘टी टेस्टिङ’, मःम, सेलरोटी तथा नेवारीलगायत विभिन्न नेपाली परिकारका स्टल रहनेछन्।
आयोजकले नेपाली समुदायसँगै पर्थको बहुसांस्कृतिक समाजलाई महोत्सवमा सहभागी भई नेपाली संस्कृति, संगीत, परम्परा र स्वादको अनुभव गर्न आग्रह गरेको छ।