काठमाडौं — जापानमा दशकौँदेखि व्यवसाय, समाजसेवा र सामुदायिक नेतृत्वमा सक्रिय रोबिन शेरचन अब गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि अघि बढेका छन्। लामो समयदेखि अन्तर्राष्ट्रिय नेपाली समुदायसँग प्रत्यक्ष रूपमा जोडिँदै आएका शेरचनको यो कदमलाई एनआरएनएको भावी दिशासँग जोडेर हेरिएको छ।
सन् १९८५ मा जापान पुगेका शेरचन आज जापानका विभिन्न सहरमा फैलिएका २७ वटा रेस्टुरेन्ट तथा बारका सफल सञ्चालक मात्र होइनन्, नेपाली उद्यमशीलताको अन्तर्राष्ट्रिय अनुहारका रूपमा पनि परिचित छन्। व्यवसायिक सफलतासँगै उनले जापानमा रहेका नेपालीहरूको हकहित, सामाजिक सुरक्षा र सांस्कृतिक पहिचानका लागि निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
एनआरएनए भित्र देखिँदै आएको संस्थागत अन्योल, विभाजन र विश्वासको संकटका बीच शेरचनले अनुभव, समन्वय र व्यावहारिक नेतृत्वको विकल्प प्रस्तुत गर्ने दाबी गरेका छन्। उनका अनुसार एनआरएनए अब व्यक्तिकेन्द्रित होइन, संस्थागत, समावेशी र परिणाममुखी नेतृत्वतर्फ उन्मुख हुनुपर्ने चरणमा पुगेको छ। यस पटक उनले बेलायत , अमेरीका र अस्ट्रेलिया अनि क्यानडासँगै अन्य राष्ट्रहरुवाट साझा टीम बनाउने अभियानको थालनी सुरु गरेका छन ।
“विश्वभर छरिएका गैरआवासीय नेपालीहरूको शक्ति, सीप र पूँजीलाई मातृभूमिको विकाससँग जोड्नु नै मेरो प्राथमिकता हो,” शेरचन भन्छन्, “एनआरएनएलाई विवाद होइन समाधानको संस्था बनाउने समय आएको छ।”
उनको अध्यक्षीय दृष्टिकोणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको अधिकार, लगानीमैत्री वातावरण, दोस्रो पुस्ताका गैरआवासीय नेपालीसँगको सम्बन्ध विस्तार र नेपालसँगको भावनात्मक तथा आर्थिक सेतु मजबुत बनाउने विषयहरू प्राथमिकतामा छन्।
एनआरएनएको आगामी निर्वाचन नजिकिँदै जाँदा रोबिन शेरचनको उम्मेदवारीलाई स्थायित्व, परिपक्वता र व्यवहारिक नेतृत्वको संकेत का रूपमा हेरिन थालेको छ।