सिड्नी । एनआरएनए अष्ट्रेलिया यतिबेला २०२५- २०२७ कार्यकालको लागि चुनाव गराउने चटारोमा छ । लाग्छ कृषकलाई असार लागे जस्तै यहाँका सामाजिक अभियन्ताहरुलाई आफ्नो पक्षका उम्मेदवारलाई संस्थाको नेतृत्वमा कसरि पुर्याउन सकिन्छ भनेर लागिपरेका छन् । एनआरएनए गैर राजनैतिक संस्था हो र यसलाई राजनीतिबाट टाढा राखिनु पर्छ भन्ने बहस र छलफल यसको स्थापनाकाल देखि नै चल्दै आएको छ । तर यो संस्थाले त्यो पाटोबाट कहिल्यै मुक्ति पाउन सकेको छैन र पाउने सम्भावना पनि देखिदैन ।
भन्ने बेलामा सबैले भन्छन् - संस्थामा राजनीति घुसाउन हुदैन , संस्थाको नेतृत्वमा पुग्नेहरु सबैको साझा बन्न सक्नु पर्छ तर ब्यबहारमा त्यति लागु भएको अनुभूति गर्न नसकेको टिप्पणीहरु समाजमा सुनिदै आईएको छ । यो संस्था प्रति अगाध माया र बिस्वास दर्शाउने सदस्यहरु यस्ता खालका टिप्पणीहरु आगामी दिनमा सुन्न नपरोस् भन्ने चाहना राख्दछन् । सदस्यहरुको चाहना र भावनाको कदर र सम्मान हुन्छ कि हुदैन आगामी दिनमा देखिने नै छ । बिगतमा झैँ यसपटको निर्वाचनमा पनि डेमोक्र्याट विचारधारा र बामपन्थी विचारधारा नजिक रहेका समूह बीच चुनाव हुदै छ । एक अध्यक्ष पदका लागि सन्तोष कुँवर,भैरव ढकाल र संजिव गोर्खाली ढकालले उम्मेदवारी दिएका छन् ।

सन्तोष र संजिव गत निर्वाचनमा एकै टिम (डेमोक्र्याट)बाट उम्मेदवार बनेर चुनाब जितेका थिए भने भैरवले समाबेसी टिम बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । संस्थालाई संस्थागत ढंगबाट अगाडी बढाउदै प्रविधीमैत्री, आर्थिक पारदर्शिता, श्रोतको पहुच लगायत बिभिन्न तहका सरकारी समन्वयकारी भूमिका खेल्दै आएको र संस्थामा दिगो संयमसेवाको अवधारणाको लागी आफ्नो ईमान्दार प्रयासबाट सस्थाले थप उचाइ लिन सक्ने बिस्वासका साथ संस्थाको नेतृत्व गर्ने निर्णय गरेको बताउने सन्तोष कुँवर बिगत एक दशक भन्दा लामो समयदेखि एनआरएनए अभियानसंग जोडिदै आएका छन् ।
पारदर्शिता र नवीनताको माध्यमबाट एनआरएनए अष्ट्रेलियालाई एक मोडेलका रूपमा स्थापित गर्ने प्रतिबद्धताका साथ चुनाबी मैदानमा उत्रिएका भैरव हाल एनआरएनए आईसीसीका सल्लाहकार रहेका छन् । उनि एनआरएनए अष्ट्रेलियाको पूर्व सल्लाहकार, पूर्व उपाध्यक्षसमेत हुन् । पर्थ निवासी ढकाललाई एक सफल व्यवसायी र समाजिक अभियन्ताका रुपमा चिनिन्छ ।
नर्दन टेरिटोरीमा रहेको नेपाली समुदायमा आफ्नो बिशिस्ठ पहिचान बनाउन सफल नर्दन टेरिटोरी संयोजक एबं सामाजिक अभियन्ता सन्जीब गोर्खाली ढकाल संस्थालाई सहि मार्गबाट अगाडी बढाउन आफुले ईमान्दार प्रयास गर्ने बताउछन् । उनि भन्छन् - यहाको सरकारि निकायसँग पहुँच र सामर्थका आधारमा सहयोग जुटाउन आफु लागिपर्ने छु ।
बर्तमान कार्यसमितिका महासचिव सन्तोष कुँवरले (२०२५ -२०२७) अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।
.jpg)
टिम सन्तोषको ब्यानर लिएर चुनावी मैदानमा उत्रिएका कुँवरको ( एनसिसि डाइरेक्टर ) टिममा राष्ट्रिय उपाध्यक्षमा बबिन मिश्र ( मेलबर्न ) महासचिवमा चुडामणि सापकोटा (क्यानबेरा),सचिबमा कल्याण खड्का ( सिड्नी ), कोषाध्यक्षमा निजन चौलागाई ( सिड्नी ), राष्ट्रिय महिला संयोजकमा रिज्नु अधिकारी (एडिलेड) र राष्ट्रिय युथ कोर्डिनेटरमा पुकार घिमिरे (ब्रिसबेन ) रहेका छन् । यो निर्वाचनमा डेमोक्र्याटिक पक्षधर टिमको रुपमा आफुलाई अगाडी सारेको सन्तोषको यो टिमले अष्ट्रेलियाको प्राय सबै राज्य र टेरिटोरिमा आफ्नो टिमलाई चुनाबी मैदानमा उतारेको छ । उनको टिमबाट एन एस डब्लु राज्य संयोजकमा राज गुरुङ , एसिटि राज्य संयोजकमा ललित मल्ल ,क़ुइन्सल्याण्ड राज्य संयोजकमा अतुल खड्का ,भिक्टोरिया राज्य संयोजकमा महादेव धानुक ,साउथ अष्ट्रेलिया राज्य संयोजकमा थिरबहादुर गुरुङ, वेस्टर्न अष्ट्रेलिया राज्य संयोजकमा हरिबंस सन्जेल र तास्मानिया राज्य संयोजकमा सुजन वाग्लेलाई चुनावी मैदानमा उतारेको छ ।

यी मध्ये तास्मानिया राज्य संयोजकमा सुजन वाग्ले र क़ुइन्सल्याण्ड राज्य संयोजकमा अतुल खड्काको प्रतिस्पर्धी उम्मेदवार नभएकोले उनीहरु निर्निरोध हुने भएका छन् । त्यसैगरी यो टिमबाट आईसीसी सदस्यका लागि राजेश के सी ,हरिकृष्ण अधिकारी ,सईवल न्यौपाने ,विष्णुप्रसाद तिवारी ,दिपक अधिकारी सुशील पोखरेल ,निराजन पोखरेल ,र दिपक बस्नेत उम्मेदवार बनेका छन् । आठ जना आईसीसी सदस्य पदका लागि १५ जनाको उम्मेदवारी परेको छ ।