संविधानले महिला, मधेसी, दलित, आदिवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने छ


  • September 12, 2015


संविधानले महिला, मधेसी, दलित, आदिवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने छ

काठमाडों । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताएका छन् । कांग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजना भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको खास माग भए चाँडो वार्तामा आउन आग्रहसमेत गरे । उनले भने– ‘आन्दोलनरत दलसँग कुनै पनि माग छैन, त्यसैले उनीहरु वार्तामा आउन आनकानी गरिरहनुभएको छ ।’ उनले अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशितासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने जिकिर गरे । नयाँ बन्न लागेको संविधानले महिला, मधेसी, दलित, आदिवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने पौडेलको भनाई थियो । उपसभापति पौडेलले सहमतिका लागि केही दिन प्रक्रिया स्थगन गरिएकोे बताउँदै सो समयसम्म पनि वार्तामा नआए संविधान निर्माणलाई अगाडि बढाइने बताए । सो कार्यक्रममा काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिएकाले तत्काल वार्तामा आउन आग्रह गरे । कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद् डा प्रकाशशरण महत, बालकृष्ण खाँड, शङ्कर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गरेका थिए ।


NEPAL NEWS Team
234 views

सम्बन्धित समाचारहरु