डार्विन ।अष्ट्रेलियन नेपलिज जर्नलिस्ट एसोसियसन (एन्जा) ले अष्ट्रेलियाको डार्विनमा नेपाली समुदायसँग अन्तरक्रिया तथा बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार, १८ अक्टोबरमा आयोजना हुने कार्यक्रममा नेपाली समुदायका सदस्य र सञ्चारकर्मीबीच सामुदायिक सरोकारका विषयमा छलफल गरिनेछ।
डार्विनमा बसोबास गर्ने नेपाली समुदायका चासो, आवश्यकता र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको एन्जाले जनाएको छ। कार्यक्रममा समुदायका समस्या, चुनौती तथा सम्भावनाबारे छलफल गर्नुका साथै नेपाली संघसंस्था र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरिनेछ।
नेपालीहरूको महान् चाड बडादसैँको अवसर पारेर आयोजना हुन लागेको कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, आत्मीयता र एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले दसैँको शुभकामना साटासाट गर्नुका साथै समुदायका गतिविधि र आगामी दिनमा गर्न सकिने सहकार्यबारे आफ्ना धारणा राख्ने अवसर पाउनेछन्।
कार्यक्रम संयोजक तथा एन्जाका कार्यसमिति सदस्य सबिन बरालका अनुसार कार्यक्रम आइतबार स्थानीय समयअनुसार साँझ ५ बजे जुममार्फत सामुदायिक परामर्शबाट सुरु हुनेछ। त्यसपछि डार्विनस्थित जिङ्गिली वाटर पार्कमा भेटघाट तथा बार्बेक्यु कार्यक्रम आयोजना गरिनेछ।
एन्जाले कार्यक्रममार्फत नेपाली समुदाय र सञ्चारकर्मीबीच प्रत्यक्ष संवादको अवसर सिर्जना गर्नुका साथै सामुदायिक गतिविधि, आवश्यकता र साझा सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरेको छ। दसैँको अवसरमा आयोजना हुने भेटघाटले समुदायका सदस्यबीच सम्बन्ध विस्तार गर्न र सहकार्यका नयाँ सम्भावना पहिल्याउनसमेत सहयोग पुग्ने विश्वास आयोजकको छ।