प्रधामन्त्री ओलीका कारण तीन दल– मोर्चाको वार्ता भाँडियो


  • January 21, 2016


प्रधामन्त्री ओलीका कारण तीन दल– मोर्चाको वार्ता भाँडियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा दर्ता भएको कारण अहिले गाईजात्रा भएको टिप्पणी गरेपछि मुख्य तीन दल र मधेशी मोर्चाका शीर्ष नेताबीचको वार्ता निष्कर्षबिहिन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकको सुरुवात सौहाद्रपूर्ण रुपमा नै भएको वार्तामा एकाएक पप्रधानमन्त्री ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि खनिदै संविधान संशोधन विधेयक आफूहरुको सहमति विना नै कांग्रेस नेतृत्वको अघिल्लो सरकारले पेश गरेको र त्यही कारण अहिले गाईजात्रा भएको टिप्पणी गरेपछि वैठकमा तिक्तता पुर्ण अवस्था सृजना भएको थियो ।
बैठकमा एमाले उपाध्यक्ष एंव कार्यदलका सदस्य भीम रावलले बोलिरहेका बेलामा प्रधानमन्त्री ओलीले म केही कुरा भन्छु भन्दै बीचमा हस्तक्षेप गर्दै आक्रोशित भएपछि वैठकको माहौल एकाएक विग्रिएको स्रोतको भनाई छ । बैठकमा ओलीले यो संशोधन पारित भएपछि आन्दोलन रोकिन्छ भन्दै मधेसी मोर्चाका नेताहरुलाई प्रश्न गरेका थिए । उनले तीन दलबीच संविधान संशोधन विधेयक जस्ताको तस्तै पारित गर्ने सहमति भइसकेको भन्दै आन्दोलन रोकिँदैन भने समानुपातिक समावेशी कसलाई मतलव छ भन्दै प्रधानमन्त्री जंगिएपछि वार्ताको वातावरण विग्रिएको बैठकमा सहभागि एक नेताले बताए । बैठकको आहृवानकर्ता प्रधानमन्त्री ओली आफैं आक्रामक रुपमा प्रस्तुत भएपछि मधेसी मोर्चाका नेताहरु रिसाए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले हामी चिया खान मात्र आएका होइनौं भन्दै प्रतिवाद गरेका थिए । त्यस क्रममा तीन दलको सहमति हुन नसक्ने निष्कर्ष निकालेको हो ? भन्दै मोर्चाका नेताहरुले प्रश्न गरेको थियो । जवाफमा तीन दलका नेताहरुले मधेसी मोर्चाले राखेको छ बुँदेलाई आफूहरुले राजनीतिक संयन्त्रको टीओआरका रुपमा मानेको र त्यो सकारात्मक भएको बताए ।
बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग आदिवासी, जनजाति र मधेसीको माग पूरा गर्दै हैसियत नभएको टिप्पणी गरे । ‘यो सरकारले माग पूरा गर्छ जस्तो पनि लाग्दैन’, उनले भने,‘चार महिना अघि हामी जुन अवस्थामा थियौं, त्यही अवस्थामा छौं ।’ ‘आइयो प्रवचन सुनियो र हिंड्न लागियो’, वैठकस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले भने,‘कुटनीतिक रुपमा पनि सरकार असफल भएको छ ।’ उनले एकतर्फी संविधान संशोधन गरेर पनि समस्याको हल नहुँने बताए । प्रमुख तीन दलका शीर्ष नेताको आग्रहमा संसदमा संविधान संशोधनको विधेयक ९ गते पारित गर्ने मिति तय भएको छ ।
प्रधानमन्त्री ओलीले बैठक सुरु गरेसंगै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यदलमा जहाँ पुगेर छलफल अड्किएको छ, त्यहाँबाट सम्वाद सुरु गरौं भनेपछि दुबै तर्फका कार्यदल सदस्यले ब्रिफिङ गरेका थिए । तीन दलबाट एमाले उपाध्यक्ष एवं रक्षामन्त्री भीम रावल र मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले ब्रिफिङ गरेको स्रोतले बताए ।
बैठकमा ओलीको कार्यशैलीबाट कांग्रेस र एमाओवादी रुष्ट बनेका छन् । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाले संविधान संशोधनसँग मधेसी मोर्चालाई अनावश्यक रुपमा नजोड्न आग्रह गरे । प्याकेजमा सहमति भए मात्र मोर्चासँग सहमति हुन्छ भन्ने आफूलाई थाहा रहेको भन्दै उनले छलफल जारी राख्नु पर्नेमा जोड दिए । एमाओवादी अध्यक्ष दाहालले समानुपातिक समावेशी आफूलाई मतलव भएको भन्दै प्रधानमन्त्रीलाई जवाफ दिएका थिए । साथै ओलीले भनेजस्तो संविधान संशोधन विधेयक यथास्थितिमा पास गर्ने कुनै सहमति नभएको माओवादीले बैठकमा प्रष्ट पारेको स्रोतले बताएको छ ।
कांग्रेस सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलले पनि ओलीको प्रस्तुतीको बैठकमा नै विरोध गरेका थिए । विगतका कुुरालाई कोट्याएर वार्ताको वातावरण विगारेर के गर्न खोजेको भन्दै उनीहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेको स्रोत भनाई छ । एमाले उपाध्यक्ष भीम रावलले भने मधेसी मोर्चाले नयाँ माग राखेकाले सहमति हुन नसकेको दाबी गरे । सीमांकनका विषयमा तराई मधेसमा देखिएको समस्या समाधान गरौं भनेर नयाँ माग राखेको भन्दै उनले सात वटै प्रदेशका विषयमा प्याकेजमा सहमति गर्नुपर्ने बताए ।


NEPAL NEWS Team
423 views

सम्बन्धित समाचारहरु