Wednesday, June 12, 2024

नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाल, काफ्ले र अधिकारीको नाम सिफारिश


  • March 18, 2015


नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाल, काफ्ले र अधिकारीको नाम सिफारिश

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छान्न बनेको समितिले प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. चिरन्जीवी नेपाल र राष्ट्र बैंक डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको छ । चैत ५ गतेबाट अहिलेका गभर्नर डा. युवराज खतिवडा पाँच वर्षे कार्यकाल सकेर अवकास हुँदैछन् । बुधवार बसेको बैठकले नामहरु सिफारिस गरेपनि त्यसलाई गोप्य राखिएको छ । ‘नाम सिफारिस भइसकेको हो, धेरैतिरबाट दबाब आएकाले गोप्य राखिएको हो,’ अर्थमन्त्री निकट एक उच्च स्रोतले भन्यो, ‘अब अर्को बैठक बस्दैन, सोझै मन्त्रिपरिषदमा नाम जान्छ ।’ समितिमा अर्थमन्त्रीका साथै पूर्वगभर्नर हिमालय शम्शेर राणा र राष्ट्र बैंकका पूर्वसञ्चालक पार्थिवेश्वर तिमल्सिना छन् । सिफारिस समितिका सदस्य राण अस्वस्थ भएपछि बैठक चाँडै सकिएको थियो । अहिले राणा अस्पताल भर्ना भएका छन् ।
समितिले यसअघि बसेको बैठकले नाम सिफारिस गर्न सकेको थिएन । गभर्नरका लागि आधा दर्जन व्यक्तिहरुको नाम चर्चामा रहेपनि अन्तिम सिफारिस नेपाल, काफ्ले र अधिकारीको भएको हो । चर्चामा डा. शंकर शर्मा, युवराज भुसाल, रामेश्वर खनालको पनि नाम थियो ।
नेपाल प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुनुअघि अर्थमन्त्रालयका पनि सल्लाहकार थिए । श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गरेका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा छन् । उनी काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर पनि हुन् । खुला अर्थतन्त्रको पक्षपाती नेपाल परराष्ट्र मन्त्रालयका सल्लाहकार पनि थिए । उनी निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदै अगाडि बढाएर आर्थिक विकास गर्न सकिन्छ भन्ने विचार राख्छन् । अर्थशास्त्रीहरुको संगठन नेपाल आर्थिक संघका महासचिवसमते रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकारसमेत थिए । उनी नेपाल उद्योग परिसंघको विज्ञ सदस्यका रुपमा पनि चयन भएका थिए । यी तीन वटै संस्था उद्योगी व्यवसायीहरुको प्रतिनिधिमूलक संगठन हो ।
सिफारिसमा परेका काफ्ले र अधिकार दुवै राष्ट्र बैंककै उत्पादन हुन् । काफ्ले नेपाली कांग्रेसको सिफारिसमा डेपुटी गभर्नर नियुक्त भएका हुन् भने अधिकारी नेकपा एमालेको सिफारिसमा नियुक्त भएका हुन् । दुबै जनासँगै डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । काफ्ले २०३९ सालबाट नेपाल राष्ट्र बैंक छिरेका हुन् । थर्ड क्लास अफिसरबाट छिरेका उनले त्यहाँ ३२ बर्ष बिताइसकेका छन् । उनले राष्ट्र बैंकमा नियमन, सुपरिवेक्षण, लघुवित्त, ट्रेनिङ सेन्टर र राष्ट्र ऋण विभागमा बिताएका छन् । नेपाल विकास बैंक खारेजीमा लैजाँदा उनी वित्तीय संस्था सुपरिवेक्षण विभागका प्रमुख थिए । काफ्लेले त्रिभुवन विश्वविद्यालय र अस्ट्रेलियाको न्युइङल्यान्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातककोत्तर गरेका छन् ।
सिफारिसमा परेका अधिकारी २०४२ सालमा सहायकस्तरबाट राष्ट्र बैंक छिरेका हुन् । उनी कार्यकारी निर्देशक भएको एक वर्ष्भित्रै डेपुटी गभर्नरमा बढुवा भएका थिए । उनले सरकारी स्वामित्वमा रहेका संस्थानहरु निजीकरण गर्ने सन्दर्भमा पनि सरकारी सदस्यका रुपमा काम गरेका थिए ।

अधिकारीले भारतको चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका हुन् । नेपाल राष्ट्र बैंकले नौ बर्षअघि नेपाल बंगलादेश (एनबी) बैंक टेकओभर गर्दा उनी त्यसको संयोजक भएर सुधार प्रकृयामा सहभागी भएका थिए


NEPAL NEWS Team
354 views

सम्बन्धित समाचारहरु