ओगावा र इनावा प्रजातिको हैजा फैलिँदै


  • August 14, 2015


ओगावा र इनावा प्रजातिको हैजा फैलिँदै

काठमाडौं । राजधानीमा दुई सातायता देखिएको हैजा बिस्तारै फैलिँदै गएको छ। बल्खुमा देखिएको हैजा कालिमाटी, सोल्टीमोड, कुलेश्वर, टेकु, ओमबहाल, भोटेबहाल, इमाडोल, नरदेवी हुँदै केन्द्रीय कारागारसम्म देखिएको छ। हैजा देखिएपछि कारागारका दुई जना टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्। टेकु अस्पतालमा बिहीबारसम्म प्रयोगशाला प्रमाणित ३८ जना हैजाका बिरामी भेटिएका छन्। अस्पतालमा दिनहुँ सरदर २५ जना हैजाका बिरामी पुग्ने गरेका छन्। ‘हैजाको संक्रमण फैलिरहेको छ,’ डा. शेरबहादुर पुनले भने, ‘३८ जनामा प्रयोगशाला प्रमाणित हैजा देखिनुको अर्थ यो संक्रमण भएकाहरू एक हजारभन्दा बढी हुन सक्छन्।’ डा. पुनका अनुसार अस्पताल भर्ना भएका कारागारका दुई जनामध्ये एक जना निको भएर फर्किसकेका छन् भने अर्कामा प्रयोगशाला प्रमाणित हैजा देखिएको छ। उनी अस्पतालमै छन्। ‘कारागारको पानी वा खाद्य पदार्थ प्रदूषित भएर कैदीमा हैजा देखिएको हो,’ डा. पुनले भने, ‘समयमै ध्यान नदिए समस्या विकराल हुन सक्छ।’ हाल केन्द्रीय कारागारमा करिब ३ हजार कैदीबन्दी छन्। यसपटक देखिएको हैजा विगतको भन्दा कडा भेटिएको विज्ञहरूले बताएका छन्। डा. पुनका अनुसार अघिल्लो वर्षमा आउने हैजाका बिरामीलाई ८र१० बोतल स्लाइन पानी चढाउँदा उठ्न सक्ने भए पनि अहिले त्यति स्लाइन चढाउँदा पनि बिरामीको होस खुल्ने गरेको छैन। ‘यसपटक विगतको भन्दा कडा हैजा देखिएको छ।’ उनले भने।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. गीता शाक्यका अनुसार यसपटक (०१) ओगावा र इनावा प्रजातिको हैजा देखिएको छ। ‘इनावा प्रजातिको हैजा करिब ८ वर्षपछि देखिएको हो,’ डा।पुनले भने, ‘निरन्तर देखिइरहने भन्दा लामो समयपछि देखिने प्रजातिको जिनमा परिवर्तन हुने सम्भावना हुन्छ भने यो कडा रूपमा समेत प्रस्तुत हुन्छ।’ इनावा प्रजातिको प्रयोगशाला प्रमाणित हैजा देखिएकी महिला अस्पतालमा भर्ना हुन आउँदा बेहोस थिइन्। डा. पुनका अनुसार उनमा हैजाको कडा लक्षण देखिएको थियो। हाल राजधानीका अन्य अस्पतालमा समेत हैजा तथा झाडापखालाका बिरामी उपचार गर्न पुगिरहेको टेकु अस्पतालकै डा।राजेश साह बताउँछन्। उनका अनुसार अस्पताल पुगेका अधिकांश बिरामीले सोझै जार र केहीले धाराको पानी खाने गरेको बताएका थिए। ‘हामीले बिरामीको खानपानबारे व्यक्तिगत रूपमा सोधखोज गर्दा अस्पताल भर्ना भएका सबैले उमालेको वा शुद्घीकरण गरेको पानी खाने गरेको पाइएन,’ डा. साह र डा. पुनले भने, ‘जारको पानी सुरक्षित र सफा हुन्छ भन्ने विश्वास बिरामीमा पायौं जो हालको स्थितिमा पूर्ण गलत देखियो।’ विशेषज्ञहरूले हाल राजधानीमा हैजा फैलिएको अवस्था भएकाले सकेसम्म उमालेर वा क्लोरिनले शुद्घीकरण गरेर पिउन सुझाव दिएका छन् ।


NEPAL NEWS Team
343 views

सम्बन्धित समाचारहरु