छ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बिज्ञको भनाई


  • April 30, 2015


छ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बिज्ञको भनाई

काठमाडौं । आज बिहान ६ बजेर २२ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको १०७ वटा भूकम्पको धक्का महसुस गरिएको छ । त्यसअघि हिजो राति ११ बजे गोरखा केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो । अघिल्लो दिनको तुलनामा भूकम्पका धक्का क्रमशः कम हुँदै गइरहेको छ । तीनदिनअघि चार रेक्टरमाथिका दैनिक दर्जनभन्दा बढी भूकम्प गएपनि बुधबार छवटा मात्र गएको थियो । गत मङ्गलबार १३ वटा भूकम्प गएको थियो । भूकम्पको सानातिना कम्पन आइरहने भएकाले यसबाट आत्तिन नपर्ने भूकम्पविद्हरूले बताएका छन् ।
ठूला भूकम्पपछि साना कम्पनहरू आउनु स्वभाविक प्रक्रिया भएकाले यसबाट अतालिनुपर्ने अवस्था नरहेको भूकम्पविद् डिल्लीराम तिवारीले बताए । भूकम्पको कम्पन कम भएसँगै पानी परेपछि सर्वसाधारणमा थप आशङ्का बढिरहेका बेला उनले पानी र भूकम्पको कुनै सम्बन्ध नहुने भएकाले यसबाट नअतालिन सर्वसाधारणलाई आग्रह गरे । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको कम्पन क्रमशः कम हुँदै गएको र अब ६ रेक्टरभन्दा मुनिका भूकम्पले कुनै असर नगर्ने बताए । ‘तुलनात्मकरुपमा भूकम्पको दुरी कम हुँदै गएको छ । एक हप्तासम्म दिनमा दुई÷चार वटा जान सक्छ, अब यो हप्तामा एउटा, महिनामा एउटा तथा चार महिनामा एउटा हुँदै जान्छ, ठूलो कम्पन आउँदैन र छ रेक्टरमुनिकाले खासै असर पनि गर्दैन’ अधिकारीले भने ।


NEPAL NEWS Team
308 views

सम्बन्धित समाचारहरु