Wednesday, June 12, 2024

प्रबासीको  आँखामा नेपाल 


  • December 12, 2023


प्रबासीको  आँखामा नेपाल 

प्रेम कुमार लुइटेल 

नेपाल भाग्यमानी मानिसहरुले बसोबास गर्ने मुलूक हो । थोरै मात्र पनि मेहनत गर्न जानेको मानिसले चाहेमा हाँसीखुशी जीवन विताउन सक्दछ । आफ्नै देश, परिवेश र समाजभित्र रहेर नातासम्बन्धवीच चाडबाड र रमाइलो गर्ने शौभाग्य नेपालमा बसेर मात्र हासिल गर्न सकिन्छ ।

नेपालको हावापानी बसोबासकालागि अत्यन्तै अनुकूल छ । धेरैजसो स्थानमा मौसम सधै अनुकूल रहने गर्दछ । सस्ता र मध्यमस्तरका लुगा लगाएर जाडो र गर्मीको सामना गर्न सकिन्छ । परम्परागत तवरले काठबाट बनाइएका र फूसले छाना छाएका घरमा समेत जीवनयापन भइरहेको छ ।

संसारका कतिपय मुलुकमा उग्र हिमपात, अत्यधिक तापमान र शक्तिशाली आँधीजस्ता प्रतिकूलतासँग जुँधेर मानिसहरु वाँचिरहेछन् । महिनौ हिउ रहने ठाँउमा त घर र कार्यस्थलभित्रै वाँच्न सिक्नुपर्ने हुन्छ । चौविसै घण्टा तातो हावा चाहिने घर, सडकमा थुप्रिएको हिउ सफा गर्ने साधन वा वातानुकुलित एयर कण्डिसनर आदि नभए जीवननै खतरामा पर्दछ । प्रतिकूल मौसमका वेला दैनिक जीवन चलाउन मात्र पनि ठूलो धनराशी खर्च हुन्छ । सो जुटाउन राज्यले नागरिकबाट उत्तिकै बढी कर असुल्छन् ।

नेपालमा धेरैजसो गरिवको सानै भएपनि आफ्नै छानो छ । विदेशिएका अधिकांश मानिस घर जोर्न र किस्ता तिर्न केही समयलाइ मात्र पनि फुर्सत निकाल्न नमिल्ने गरी काममा होमिन्छन् । यसरी थाप्लोमा वित्तिय भार(ऋण) बोकाएर जीवनभर व्याज र किस्ता असुल्ने पूँजिवाद र उपभोक्तावादी संस्कृति आम तहमा नेपालमा छैन ।

नेपालको सामाजिक जीवनशैली झनै लोभलाग्दो छ । भिन्न जातजाती र आर्थिक स्तर भएका मानिस मिलेर बसेका मात्र छैनन् एक अर्कामा आश्रित पनि छन् । आफ्नोपन छ । कोही भोको नांगो देख्यो भने खान लाउन दिने चलन छ । माग्न आउनेलाइ खाली हात पठाउन नहुने मान्यता छ । नचिनेकै मान्छे घरमा आयो भने पनि तातोचिसो वा चिया सोध्ने गरिन्छ । ग्रामिण समाजमा अझै छरछिमेकको सहयोग उपलव्ध छ । गक्ष र उपलव्धताअनुसार पँधेरो, चौतारो, चियापसल, रेष्टुरेन्ट र विभिन्न पार्कहरु साथीभाइ भेटेर सुखदु:ख साटासाट गर्ने थलो वनेकै छन् । सस्तो चियादेखि महंगो ह्विश्की, जे मा भूले पनि भो!

हिमाल, पहाड र तराइको भिन्नशैलीका जीवन अनुभव गर्न सकिन्छ । भौगोलिक र प्राकृतिकसँगै सांस्कृतिक र भाषिक विविधता पनि छदैछ । ग्रामिण र विकट क्षेत्रमा पुगेर प्राचिन जीवनको झल्को दिने जीवनशैलीसँग साक्षात्कार हुन सकिन्छ । आधुनिकताले गाँजेको शहरी जीवनदेखि पौराणिकझै लाग्ने ग्रामिण अनि विकट जीवनको भोगाइ बुझ्न सकिने खुला विश्वविद्यालयको रुपमा नेपाललाइ लिन सकिन्छ ।

सडकविस्तारको गति सुस्त भएपनि अति दुर्गम स्थानमा समेत सार्वजनिक यातायात पुग्न थालेका छन् । सार्वजनिक यातायात उति सुरक्षित नलागेपनि भाडादर भने विश्वमै सस्तो छ । गाडी मोटरसाइकल किनेर वा भाडामा लिएर पनि घुमघाम गर्ने व्यवस्था छ ।

विकट गाँउघरमा खुलेका होमस्टे र अतिथि सत्कारको परम्पराले यात्रागर्न रुचाउनेलाइ प्रोत्साहन मिलेको छ । अत्याधुनिक होटेल, लज र रिसोर्टहरुपनि जताततै छन् ।

आफूले अपनाउदै आएको धर्मसंस्कृति र ती सम्बन्धित मन्दिर पाटी पौवा ठाँउठाँउमा छन् । भजनकिर्तन, पुराण, यज्ञयज्ञादी, श्राद्ध आदिबाट आध्यात्मिक तुष्टि मिल्ने गरेको छ ।

थोरै खर्चमा जीवन चल्ने मुलुकहरुमा नेपाल शिर्षस्थानमा पर्दछ । सिमित आवश्यकता भएका र खर्च व्यवस्थापन गर्न जान्नेले विश्वमै सबैभन्दा सहज जीवन नेपालमा वाँच्न सक्दछन् । पैसा हुनेका लागि यूरोपेली मापदण्डभन्दा उच्चस्तरको निर्माण र साजसजावट सहितका आधुनिक घर, वस्तुसामाग्री र सेवासुविधा नेपालका शहरीक्षेत्रमा छन् ।

थोरै पूँजी लगानी गर्न सक्नेका लागि सानो व्यवसाय खोली आफै मालिक बन्ने अभिष्ट नेपालमा तत्काल पूरा हुन सक्छ । पहिलाजस्तो चन्दा आतंक छैन । सुरक्षाव्यवस्था र व्यवसायको प्रवर्द्धनका लागि वैंकिंग र सहयोगी निकायहरुले सेवा विस्तार गरेका छन् । व्यवसाय चल्ने र नचल्ने भन्ने चाहि जहाँपनि आफ्नो दक्षता, मेहनत र लगनशीलतामा भर पर्ने हो ।

सामान्यदेखि जटिल स्वास्थ्य समस्याका लागि तत्काल पाइने स्वास्थ्य सेवा उपलव्ध छन् । सरकारी अस्पतालमा पनि सेवा राम्रो बन्दै गएको छ । आकस्मिक सेवा लिन जाँदा घण्टौ कुर्नुपर्दैन ।

विलासिताका लागि केवुल कार, टुरिष्ट सेवा, हेलिकप्टर सेवाहरु उपलव्ध छन् ।

विश्वमै राम्रो र सस्तो मध्येको राजनीतिक र सामाजिक सेवा नेपालमा पाउन सकिन्छ । पार्टीका लाखौं कार्यकर्ताले सामुदायिक तहमा सित्तैमा सहयोग र सहजीकरण गर्ने गरेका छन् । राजनीति गर्ने अधिकांश मानिसले समाजसेवाका रुपमा निशुल्क सो पेशा अपनाएका छन् । केही उच्च नेतामा नेतृत्वदायी ज्ञान, क्षमता र कुशलताको कमीले गर्दा भने राजनीति कलंकित बनेको छ ।

अधिकांश सरकारी, निजी र गैरसरकारी निकाय संचालनक्षमता, कार्यदक्षता र नियमनको कमीबाट ग्रसित छन् । कर्मचारीहरुले अपर्याप्त तलव सुविधामा भएपनि सातामा ६-६ दिन काम गरेर सेवा दिएका छन् ।

भ्रष्टाचार छ । अनुसन्धान र कानून कार्यान्वयन निकायले काम गर्न नदिएको भन्दा पनि गर्न नसकेको देखिन्छ । ति निकायले व्यवसायिक र स्वायत्त ढंगले काम गर्ने हो भने तत्काल भर्पाइ लिन सकिन्छ ।

सार्वजनिक शिक्षालयहरु व्यवसायिक र गुणस्तरीय वन्ने प्रयासमा छन् । तर व्यवहारोपयोगी शिक्षा सर्वसुलभ छैन । सैद्धान्तिक ज्ञानको भार बोकाउने तर्फ भन्दा पनि बजारका लागि तत्काल आवश्यक र रोजगारमुखी क्षेत्रमा खपत हुने जनशक्ति उत्पादन गर्ने चूनौति विद्यालय र विश्वविद्यालय सामु छ । निजी शैक्षिक  संस्थाको दवदवा र व्यापार नियन्त्रण गर्नुपर्ने देखिन्छ । …

यो लेख सामाजिक सन्जालबाट सभार गरिएको हो। लुइटेल   क्यानाडा निवासी हुन ।


NEPAL NEWS Team
186 views

सम्बन्धित समाचारहरु