मृत्युको मुखबाट बाँचेका इरिक्सन प्रिमियर लिगमा


  • February 6, 2022


मृत्युको मुखबाट बाँचेका इरिक्सन प्रिमियर लिगमा

डिल्लीराज पाण्डेय

१० नम्बरको जर्सी लगाएर डेनमार्कको राष्ट्रिय टिमको नेतृत्व गर्ने खेलाडी हुन क्रिष्टयन इरिक्सन । इरिक्सनको जीवनमा एकक्षण सास रोकियो तर इरिक्सनले हरेस खाएनन् । फुटबलले हरेस खाएन यसर्थ कि उनी फुटबल खेलाडी थिए । तर,मृत्युले भने हरेस खायो । हज्जारौं दर्शकहरूको प्रार्थना थियो कि इरिक्सनको जीवन सुरक्षित रहोस् । जीवनका खास मोड अथवा घटनाहरूमा मृत्युले समेत हरेस खाँदो रहेछ ।

१० नम्बरको जर्सीमा डेनमार्कको राष्ट्रिय टिमको नेतृत्व गर्ने क्रिष्टियन एरिक्सनको जीवनमा ठ्याक्कै त्यस्तै भयो । इरिक्सन युरोकपको पहिलो खेलमैं बेहोस भएर मैदानमा ढलेका थिए। त्यसबखत् डेनमार्कका खेलाडी तथा सिंगो फुटबल स्तब्ध बनेको थियो । बेहोस इरिक्सनका वरिपरि डेनिस खेलाडीहरू थिए । सबैका आँखा रसाएका थिए । एउटा महाविपत्ति, मानौं एउटा प्रलय आएको थियो ।

भनिन्छ, संकटको घडी नै साहसको घडी हो।रेफ्रि तथा खेलाडीहरूको महत्वपूर्ण भुमिका नै इरिक्सन बाँच्ने ढाडस बन्यो । रेफ्री तथा खेलाडीले सही निर्णय गरेकै कारण आज इरिक्सन जीवित छन् । चिकित्सकले समेत रेफ्रि अनि खेलाडीको प्रशंसा गरिरहेका थिए ।केही मिनेट मात्रै ढिलो भएको भए उनको मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ थियो । इरिक्सनको उपचार भइरहेको थियो । उनी ठिक हुँदै थिए । तर उनी फुटबलको मैदानमा तत्काल देखिने छन् या छैनन् अन्योल कायमै थियो । कुशलताका लागि डेन मार्कको टिम,रेफ्रि लगायत चिकित्सकको टिमलाई फिफाले सम्मान गर्यो ।

२०२१ को युरो कप फुटबलमा समूह चरणमा फिनल्यान्डविरुद्धको खेल दौरान हृदयघात भएपछि डेनिस खेलाडीले पुनः खेलेका छैनन् । त्यस खेलमा हृदयघात भएपछि उनको शरीरमा मुटुको गति नियन्त्रण गर्ने स्वचालित यन्त्र अर्थात् आईसीडी जडान गरिएको छ । केही समयअघि एरिक्सनलाई उनको मूल क्लब मिलानले खुला गरेको थियो ।

सिरी ए कलबले उनको शरीरमा जडान गरेको इम्प्लान्टेबल कार्डियोभर्टर डेफिब्रिलेटर अर्थात्, आईसीडी नहटाएसम्म इटालीमा खेलाउन नपाउने भएपछि मिलानसँग उनको सम्झौता रद्द भएको थियो । त्यसपछि एरिक्सनलाई प्रिमियर लिगकै अर्को क्लब ब्रेन्टफोर्डले अनुबन्ध गरेको हो । तत्कालका लागि उनी यो सिजनको अन्त्यसम्मका लागि मात्रै त्यहाँ रहनेछन् ।

फेब्रुवरी १४ , १९९२ मा जन्मिएका एरिक्सन १८ बर्षको उमेरबाट ब्यवशायिक फुटबलको सुरूवात गरेका थिए ।पहिलो क्लब एजाक्स थियो । २०१३ मा ११ मिलियनमा टोटनहाम संग सम्झौता गरेका थिए । दुइ पटक क्लबको वर्ष खेलाडी भए । टोटनहामको तर्फबाट च्याम्पियन्स लिगको फ़ाइनल समेत खेले । २०२० इटालियन क्लब इन्टर मिलान गए जहाँ उनले सेरी ए उपाधि जिते । २०२२ मा ब्रेन्टफोर्डबाट खेल्दैछन् ।प्रिमियर लिग फुटबल शारीरिक रूपमा अलि कठिन मानिन्छ ।

आजको युग विज्ञानको युग । मानव, विज्ञान र प्रकृतिका विचको सुमधुर सम्बन्ध तथा यात्राले मात्र एक आपसको अस्तित्वको रक्षा गर्न सक्छ । महामारी,संकट या संभावित दुर्घटनाको जोखिमलाई किनारा लगाउन सबैले आ-आफ्नो अस्तित्वको सम्मान गर्न जरूरी छ । आज एरिक्सनको मात्र होइन संसारका करोडौं मानिसहरूको धड्कन यही विज्ञानका कारण धड्किरहेको छ । मृत्युको मुखबाट बाँच्न सफल एरिक्सनलाई जीवनको नयाँ चुनौतीका लागि शुभकामना !!!


NNA Team
345 views

सम्बन्धित समाचारहरु