ध्वस्त प्रणाली, दलदासको दम्भ र नक्कली नेतृत्व


  • December 14, 2021


ध्वस्त प्रणाली, दलदासको दम्भ र नक्कली नेतृत्व


डिल्लीराज पाण्डेय

कर्मचारीले राजनीति, अदालतमा सेटिंग, सेनाले ब्यापार, बिचौलिया दलालहरूले सरूवाबढुवा, नेताहरूले गफ ! न जागीर न ब्यापार तर नेताहरू कसरी करोडौंका मालिक हुन्छन् ?

उत्तर सहज छ— सेटिंग ।

हरेक दिन हामी विना श्रम र उत्पादनमा बाँच्छौं भने हामी धर्तीका बोझ हौं । अझ कुन नैतिकताले सिद्धान्त र आदर्श फलाक्छौ एकपटक होइन एक सय एकपटक सोचौं धर्तीको बोझ बन्ने या नबन्ने ?

कमजोरी स्वीकार्नुको सट्टा अक्सर मान्छेहरू आफ्ना कमजोरी लुकाउन अरूका कमजोरीहरू देखाउने गर्छन् । एउटा अपराधीले आफ्नो अपराधलाई ढाकछोप गर्न अर्कोलाई अपराधी देखाउने गर्छ । तर जब राजनीतिमा अपराधीकरण हुन्छ तब राजनीतिक दल तथा त्यसका सांगठनिक निकायहरू समेत अपराधीहरूको पक्षपोषण गर्न थाल्दछन् । ब्यक्तिले गर्ने अपराधहरू नियन्त्रण गर्न जति सजिलो छ राजनीतिक दलले गर्ने अपराधहरू नियन्त्रण गर्न कठिन ।

राजनीतिले अपराधको वैधानिकता खोज्दा राज्यसत्ताका अंगहरूमा सेटिंग तथा दबाबका खेलहरू सुरू हुन्छन् । राजनीतिमा अपराध घुसिसकेपछि त्यसको छायाँ अदालतमा पर्छ । अपराधीहरू दण्डित हुनुपर्ने ठाँउमा उल्टो पुरस्कृत हुन पुग्छन् । राजनीतिक अपराधीहरू जनताको रगत खान्छन्, लाशमाथि सुत्छन् र लाशमाथि राजनीति गर्छन्, अपराधीहरूको कुनै समवेदना र सहृदयता हुँदैन ।

“यदि हामी कानुनको सम्मान चाहन्छांै भने हामीले पहिले कानुनलाई सम्मानजनक बनाउनुपर्छ ।”

माथिका भनाइ हुन् अमेरिकाको सर्वोच्च अदालतका पूर्वन्यायाधीश स्वर्गीय लुइस डि ब्रान्डिसका । जुन देशमा कानुनको पालना, विधिको शासन साथै विज्ञानको प्रयोग कुशलतापूर्वक हुन्छ ती देशहरू विकसित हुन्छन् । दुर्भाग्य आज हाम्रो देशमा यी तिनै कुराहरूको अभाव छ जसका कारण सिंगो राज्यब्यवस्था नै अराजकतातर्फ धकेलिदैछ । सम्मानित हुनुपर्ने संस्था तथा ब्यक्तिहरू सबैभन्दा बदनाम हुँदैछन् ।

विज्ञान, विधि तथा कानुन एउटा कागजमा थन्किएको छ । समाज चलायमान छैन । उत्पादन छैन तर राजनीतिको उत्पाद छ । विधि दुई चार नेताहरूको सनकको रखैल बन्दैछ, पूराका पूरा हामी ओरालो यात्रामा छौं ।

प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेताहरू त बदनाम थिए अब न्यायालय समेत बदनाम भैरहेको छ । प्रधानन्यायाधीश चोर बाटोबाट कार्यालय छिर्दैछन् भने सडकमा वकिलहरूको कुस्ति छ । राजनीतिक नेतृत्व गालीपुराणमा ब्यस्त छ भने वैचारिक रूपमा लुला भैसकेका बिचौलियाका नवसन्तान नक्कली कम्युनिष्टहरू लुला हातहरूले लालसलामको नाटक रच्दैछन् ।

उत्पादन छैन बिचौलियाहरूको जुलुश छ । वकिलहरूको संख्या त छ तर न्यायलाई बनवास लखेटिएको छ । धतुरो रोप्नेहरूको जयजयकार हुँदैछ भने समाजमा कोकिनका फूलहरूको प्रचार । कहाँ मुस्कुराँउछ न्यायालय कोकिनका फूलहरूसँग ? माहुरीहरूलाई लखेटर तिनीहरूकै रेमिट्यान्स डकार्ने दुर्जनहरू नै देशका मालिक भएका छन् ।

सर्वोच्चको विवाद जति छिप्पिदैछ, न्यायप्रणाली त्यति नै कमजोर हुँदैछ । लोकतन्त्र संकटतर्फ मोडिदै छ । आफूलाई लोकतन्त्रवादी हौं भन्ने नेता तथा दलहरूले जुन दिनबाट लोकतन्त्रको मेरूदण्ड अदालतमा राजनीतिक सेटिंगको बिज रोपे आज मुलुकले त्यसैको परिणाम भोग्दैछ । राजनीतिक दलको गम्भीर भुलमा प्रणाली ध्वस्त त गरियो किन्तु त्यसको ठाउँमा अर्को प्रणाली स्थापित गरिएन । आज न्यायालयमा देखिएको आँसु तथा अराजकताको मुस्लो प्रणाली र पद्धति विना हुने निर्णयहरूबाट फैलिएको दुर्गन्धले परिणाम हो ।

४६ साल पछिका बर्षहरूमा अदालतलाई प्रभावमा पार्ने गरी कैयौं निर्णयहरू गरिए । तर आजका दिनहरूमा जस्तो लज्जा देखिएको थिएन । एकीकृत पार्टीलाई अदालतले विभाजित गर्यो सायद ओलीलाई ढाडस मिल्यो मौन रहे । परमादेशमार्फत् शेरबहादुर प्रधानमन्त्री भए सायद प्रचण्ड र माकुनेलाई ढाडस मिल्यो मौन रहे ।

गुटको राजनीतिमा मौलाएको सेटिंगको खेल खुद गुटबाजहरूका लागि पिसाबको न्यानो थियो । तर, पटमूर्खहरूले यो बुझ्न सकेनन् या चाहेनन् । कम्युनिष्ट नामका बुख्याचाहरू कहाँ कोबाट संचालित छन् प्रश्न गम्भीर छ । दुबै निर्णयहरू सत्ताको कात्रो भिर्ने तथा भिर्न आतुर हुनेहरूका सेटिंगका परिणामहरू थिए । दुबै निर्णयमा जनमतको उपहास थियो तर त्यसका पिता भने गफाडी ओली, प्रचण्ड साथमा माकुने थिए ।

सयौं चोलेन्द्रहरू जन्मिसकेका छन् । एउटा चोलेन्द्र जाँदैमा न्यायालयमा खासै परिवर्तन हुँदैन । न्यायप्रणाली ध्वस्त गर्ने म्याराथन त गरियो तर त्यसको ठाँउमा नयाँ विधि, पद्धति र प्रक्रियामा पटक्कै रूचि भएन या गरिएन । समयमैं संकटको समाधान गरिएन भने अदालत शक्तिकेन्द्रहरूको गोटी बन्नेछ, त्यसका संकेतहरू देखिइसकेका छन् ।

लोकतन्त्रको मेरूदण्ड अदालत नै शक्तिको केन्द्रहरूबाट संचालित हुँदा राजनीतिक दलहरू कठपुतली बन्दै छन्, बन्ने छन् । अपराधीहरू चोखिन्छन् निर्वाचन केवल नाम मात्रको हुन्छ । आखिर प्रणाली ध्वस्त त गरियो किन्तु त्यसको ठाँउमा अर्को प्रणाली स्थापित गरिएन । ध्वस्त गर्न जति सजिलो छ निर्माण गर्न त्यति नै कठिन ।
४६ साल पछिका बर्षहरूमा धेरै पटक नेताहरूको हावामा उडियो । हामी उल्लुहरूलाई नेताहरूले भने आकाशमैं एअरपोर्ट छ जहाज आकाशमैं ल्यान्डिंग हुन्छ । याद छ हाम्रो जहाज कतिपटक दुर्घटना भयो ? हामी झोले हामी दलदास अझै ताली बजाँउदैछौं है ! केही हदसम्म नेपाली जनता इडियट त छैनन् ? प्रश्न गम्भीर छ ।
हाम्रो जस्तो समाजमा सत्ताले सहजै यस्ता शासकहरू जन्माउँछ जो भालुका नंग्रा र बाघका दाँत लिएर आँउछन् ।प्रचण्ड ,माकुने,ओलि बाबुराम या शेरबहादुर लगायतका पात्रहरूका झुसिला डकार नेपाली समाजले भोगिसकेको छ ।कर्म गर्नुको सट्टा सत्ताको कात्रो भिर्नेहरूले नै पटक पटक आफ्ना असफलतामा पुर्व राजालाई प्रहार गर्ने गर्छन् ।कुन मानेमा पुर्व राजा भन्दा श्रेष्ट छौ त तिमीहरू ? कमल थापा जति ढोंगी छन् त्यो भन्दा कम ढोंगी छैनन् प्रमुख राजनीतिक दलका नेता ।यि दुर्जन छोटे राजाहरूबाट अझै कति शासित हुनु पर्ने हो खै ?
तर दुर्भाग्य केही हद सम्म नेपाली जनता बेवकुफ छन् ।विधि र कानुनको शासन स्थापित हुन योग्य नेतृत्व चाहिन्छ त्यसका लागि जनतामा चेतना ।आफ्नो सास फर्न समेत मालिकको आदेश कुर्ने दलदासहरू रहँदा सम्म यो निकै कठिन देखिन्छ,तर असम्भव भने छैन ।
ढिलो या चाँडो देश ध्रुविकरण तर्फ जान सक्छ ।संकट फेरि कोबाट प्रयोग हुने भन्ने नै हो ।प्रयोगशाला बाट बच्ने निर्णायक उपाय जनताको चेतना हो , जनताको चेतना मात्र हो !!!

यदि अझै यही छाँट हो भने धिक्कार ! धिक्कार र फेरि धिक्कार !!!

लुइस म्याकमास्टरले भनेका छन्, “मृतकहरू न्यायको लागि बोल्न सक्दैनन् तिनीहरूको लागि बोल्नु जीवितहरूको कर्तव्य हो ।”

के साँच्चै जीवितहरू छैनन् या सबै मृत भैसके ?


सम्बन्धित समाचारहरु