अशान्त राजनीतिक आकाश


  • September 2, 2021


अशान्त राजनीतिक आकाश


डिल्ली राज पाण्डेय

९० को दशक, विश्वबाट कम्युनिष्टहरूलाई अछुत ठहर्याइएको दशक । जहाँजहाँ कम्युनिष्टहरू पतन भए त्यहाँको धर्तीसमेत अपवित्र ठानियो । यस्तो प्रचार गरियो कि कम्युनिष्ट हुनु नै पूर्वजन्मको पाप हो । एउटा यस्तो कालखण्ड थियो जुन कालखण्डमा कम्युनिष्टलाई शैतानको रूपमा प्रचार गरिन्थ्यो । पश्चिमाहरूको यो प्रयत्न आज पनि जारी छ । विश्व कम्युनिष्ट आन्दोलनका पतन र उत्थानका कैयौं कारणहरू छन् त्यसका बारेमा यो छोटो आलेखमा बहस गर्न खोजिएको होइन ।

कम्युनिष्ट विरूद्धको चर्को प्रोपोगाण्डा नेपालमा समेत प्रवेश गरेको थियो । बर्लिनको पर्खाल ढल्दा त्यसका छिटाहरू नेपालमा पर्नु अस्वाभाविक थिएन । कम्युनिष्टहरूलाई म्युजियममा राख्नुपर्छ भन्ने सम्मका प्रचारहरू भए । तर प्रोपोगाण्डाहरू असफल हुँदै गए । पार्टी, कार्यकर्ता, संघर्ष र इतिहास सबै हिसाबले जनतामा भिज्न कम्युनिष्टहरू सफल भए । मदनको कुशल नेतृत्व कम्युनिष्ट लोकप्रियताको ढाडस बन्यो । अशान्त कम्युनिष्ट आन्दोलनको आकाशबाट खस्ने चट्यांगको सामना गर्न सक्ने कुशलता मदन भण्डारीमा थियो । ४२ बर्षकै उमेरमा उनको अन्तराष्ट्रिय ब्यक्तित्व बनिसकेको थियो । शायद त्यसैले होला अमेरिकी चर्चित पत्रिका न्युजविकले लेख्यो, “नेपाल जहाँ माक्र्स जीवित छन् ।”

एउटा नायक नेपाली आकाशले पाएको थियो तर दुर्भाग्य त्यो चम्किलो तारा नेपालको आकाशबाटै अपहरण गरियो । देशले केही महान् मानिसहरू जन्माउँछ, जसलाई जीवित रहुन्जेल हामी सराप्छौं । बत्तीमुनि अँध्यारो छायाँ हुन्छ र हामी त्यही छायाँमा बस्छौं । कस्तुरीले आफ्नो नाभीको वीना नचिनेजस्तै हामी उसलाई चिन्दैनौ र उसले पनि चिन्दैन आफूलाई । बैरीले उसलाई चिन्दछ र अपहरण गर्दछ । अनि हामी नियतिको खप्परलाई दोष दिन्छौं र भन्दछौं, “सतीले सरापेको देश ।”

कमरेड मदन ३७ बर्षको उमेरमा पार्टीको महासचिव भए । ४२ वर्षको उमेरमा उनको हत्या गरियो । वास्तवमा कमरेड मदनको अभाव कम्युनिष्ट आन्दोलनलाई मात्र होइन सिंगो लोकतान्त्रिक आन्दोलन देश भक्तिपूर्ण आन्दोलनलाई भयो । मदन भण्डारी नेपाली भूमिमा जन्मिएका नेपाली भूगोलभन्दा बाहिर समेत चम्किन सक्ने प्रतिभा थिए भन्ने अनुमान लगाउन कठिन छैन ।

एमाले नेतृत्वमा पदासीन भए माधव नेपाल किन्तु कुनै विशेष क्षमता भने थिएन, उनी मदनका सहयोद्धा थिए । पार्टीमा उनको महत्वपूर्ण योगदान थियो तर प्रमुख नेतृत्वमैं बसेर काम गर्न सक्ने क्षमता उनमा थिएन भन्ने कुरा पार्टी जीवनमैं देखियो । मदनको अभावको पुर्ताल गर्न सक्ने कुनै पनि नेता थिएनन् । उनको कार्यकालमा पार्टीका जीवनमा घटेका घटनाक्रमहरूलाई हेर्ने हो भने उनको अदूरदर्शिता तथा अकर्मण्यतालाई देख्न सकिन्छ ।एमालेको ९ महिने शासनलाई अपवाद मान्ने हो भने माधवको कार्यकालमा सफलताभन्दा असफलता नै बढी छ ।

रातारात महाकाली सन्धि भयो । २०५४ सालमा पार्टी नै विभाजित भयो साथै दाशढुंगा हत्याकाण्ड पत्ता लगाउनको लागि नेपालको भूमिका नै शंकाको घेरामा छ । माधव वैचारिक नेता नै होइनन् यसर्थ जबजको भजन र मदन भण्डारीको नाम जप्नुबाहेक १५ बर्षसम्म पार्टीको नेतृत्वमा बस्दा आफूपछिको नेतृत्वका बारेमा सोच्ने फुर्सद उनमा भएन । माधव महाकाली सन्धि तथा २०५४ को पार्टी विभाजनका लागि सबैभन्दा बढी दोषी छन् ।

आज २४ बर्ष पछि फेरि एमाले विभाजित भएको छ तर नेतृत्वमा माधव होइन केपी छन् । यी दुई पात्रमा सैद्धांतिक र बैचारिक भन्दा पनि रकमी चिन्तन हावी छ ।माधव र केपी दुवैमा अहंकार तथा कुण्ठाको जबरजस्त घर छ । गुटको तावेदारी गर्दै १२ हात उफ्रिने लस्कर खडा गरेर जत्था तयार गर्न सकिएला तर पार्टी सकिंदैन ।यि दुबै पात्र ब्यक्तिगत स्वार्थका कारण राष्ट्र तथा अन्तराष्ट्रका फरक फरक शक्तिकेन्द्रहरूको गोटी बन्दैछन् ।तुलनात्मक रूपमा आशालाग्दो दोश्रो पिंडी गुटको पिछलग्गू बन्दैछ ।कुहिरोको काग बन्दैछ ।यो पंत्ति न हाँसको चाल नत वकुल्लाको चालमा छ ।

एउटा समय थियो एमालेको कार्यकर्ता हुन नैतिकता,इमान्दारिता चाहिन्थ्यो ।बैचारिक बहसमा सहभागी हुनु पर्थ्यो ।अनुशासित र मर्यादित हुनु पर्थ्यो ।काँग्रेश या अरू राजनीतिक दलका कार्यकर्ता भन्दा जनप्रिय हुनु पर्थ्यो ।रकमी चिन्तन होइन सामुहिक भावना हुनुपर्थ्यो ।मानिसहरूले धेरै टाढा बाट नै छुट्याउन सक्थे पार्टीका कार्यकर्ताहरूलाई ।भ्रष्टाचार तथा कमिसन खोरहरूलाई घृणा गरिन्थ्यो तर आज नेतृत्वमा बस्नेहरू नै ठुला ठुला भ्रष्टाचारमा मुछिएका छन् र तिनीहरू कै डाँको ठुलो छ ।नेतृत्व नै ठुला तस्कर,ठेकेदार तथा विचौलियाका वरिपरि देखिन थाल्यो ।पैसाको मान्यताले विचारलाई थिच्यो ।आज आश्चर्य लाग्छ कि पार्टीका नेताहरू नव सामन्तहरू जस्ता देखिन्छन् ।

कमजोरी धेरैका हुन सक्छन् तर जो नेतृत्वमा छ सबैभन्दा बढी त्यो नै जिम्मेवार हुनुपर्छ । अरूलाई गाड्न खाल्डो खन्नेहरू आज आफै खाल्डोमा पर्दैछन् । आफ्नो घरलाई जलाएर खरानी घस्ने भस्मासुरहरू न हिजो विजेता थिए न त आज नै विजेता हुन् । तिनीहरू त केवल विजेताको भेषमा लाखेनाँच नाँच्ने नटुवा हुन् । ढोंग नै गर्नुछ भने राजनीति किन ?

वातावरण जब शान्त हुन्छ जुनसुकै ब्यक्ति पनि खडा हुन सक्छ । जब राजनीतिक आकाश अशान्त हुन्छ, वातावरण वदलिएको हुन्छ त्यो वेला जो कुशलतापूर्वक खडा हुन सक्छ त्यो मात्र असली नेता हुन सक्छ । हरेक संकट र अवसरहरूमा नै नेतृत्वको बौद्धिकता र सरलताको मूल्यांकन हुने गर्दछ । अशान्त राजनीतिक आकाशबाट खस्ने चट्यांगहरूको सामना केवल राजनेताहरूले मात्र गर्न सक्छन् । नेतृत्वमा सबैभन्दा पहिले देशको इतिहास बुझ्न सक्ने सामथ्र्य हुनुपर्छ । जसले आफ्नो देशको इतिहास नै बुझ्न सक्दैन त्यो नेता हुनै सक्दैन ।

सबैभन्दा डरलाग्दो हो द्वैधचरित्र । यो चरित्रका मान्छेहरूसँग लड्न निकै कठिन हुन्छ । जब राजनीतिक नेतृत्वमा यस्ता मान्छेहरूको उपस्थित मजबुत बन्दछ तब राजनीति अराजकतामा परिणत हुन्छ । बौद्धिकता, प्रतिबद्धता र सरलतालाई त्यहाँ मजाक बन्दछ । विश्वास गरौं कसरी ? विश्वास नगरौं कसरी ? यही चक्रमा घुम्दैछ नेपालको राजनीति । नेताहरू त बग्रेल्ती छन् तर देशमा नेतृत्वको संकट छ । आज हामी यिनै ढाँट र पाखण्डीहरूलाई झेल्न अभिशप्त छौं ।

नेपालका प्रमुख राजनीतिक दलहरू ढाँटहरूको प्राइभेट कम्पनी जस्ता छन् र कार्यकर्ताहरू यिनै कम्पनीमा काम गर्ने कामदारहरू जस्ता देखिन्छन् । वास्तविकता जनतालाई खुलस्त बताउने गरेको पाइँदैन । हरेक सम्झौता पछाडिका खेलहरू केवल रहस्यमय र सत्ता स्वार्थका खेलहरूमा मात्र केन्द्रित देखिन्छन् । एउटा तीतो सत्य के हो भने नेतृत्वलाई जनताप्रतिको विश्वास पटक्कै छैन यदि विश्वास हुन्थ्यो भने जनतालाई सत्य बताउने आँट हुन्थ्यो ।

जनताको बीचमा जाने, उनीहरूसँग बस्ने, उनीहरुलाई माया गर्ने, उनीहरूबाट सिक्ने उनीहरूसँग जे छ त्यसबाट निर्माण शुरू गर्ने । यो एउटा असल राजनीतिज्ञले गर्नैपर्ने पहिलो काम हो जसले नेतृत्व र जनताको बीचको सम्बन्ध नङ र मासुको जस्तो बनाउँछ । नेतृत्व र जनता बीचको सम्बन्ध गहिरो हुन नेतृत्व इमान्दार बन्नुपर्दछ ।

राजनीतिको एक मात्र उद्देश्य जनसेवा हो । प्लेटो र एरिस्टोटलदेखि हिगल, कास्ट र फायरबाख हुँदै माक्र्ससम्मका चिन्तकहरूले आफ्ना चिन्तनको केन्द्रविन्दु मानिसको सेवा, सुविधा र सन्तुष्टिलाई बनाएका हुन् । राजनीतिमा जति पनि दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रमको कुरा गरिन्छ, ती सबैको अन्तिम लक्ष्य हेरियो भने जनता अर्थात् मानिसलाई सेवा, सुविधा उपलब्ध गराउने विन्दुमैं गएर टुङ्गिएको देखिन्छ । कसैको वैयक्तिक महत्वाकांक्षा पूर्ति गर्न यदाकदा सत्ताकब्जाका घटना नहुने होइनन् । अथाह श्रोतको साधन राज्यलाई ठानेर नाम, दाम र शानका लागि सत्तालाई दुरुपयोग गर्नेहरूको कथालाई अपवाद मान्ने हो भने राज्यसत्ता मानिसको सर्वोपरि हितका लागि गठन भएको संस्था हो, माध्यम हो ।

नेतृत्व र राजनीतिप्रति जनतामा विश्वासको शंकट हुनु देशका लागि गम्भिर चुनौती हो । शासनव्यवस्था परिवर्तन भए पनि संस्कार, व्यवहार र चेतनामा परिवर्तन भएन भने त्यसले सार्थक परिणाम दिन सक्दैन । छलाङ र अग्रगमनका ठूलाठूला भाषण छाँटे पनि जनताको जीवनस्तरमा जबसम्म सुधार आउँदैन, त्यसको कुनै तुक हुँदैन ।

आर्थिक भ्रष्ट भन्दा चिन्तन,विचार र आदर्शका भ्रष्टहरू अझ खतरनाक लाग्छ ।कुतर्क गर्न सिपालु हुन्छन ।समाजमा विष प्रवाह गर्न सिपालु हुन्छन तर मात्र एक धक्का दिनुस ढल्छन ।उनीहरूको छाँया भन्दा पनि नजिक हुन्छ उनीहरूको पतन ।

सडक मौन छ ।चौतर्फि चाकडी रामहरूका छिटाहरू छन् ।निकासको बाटो अवरुद्ध छ ।सज्जनहरू मौन छन् ।परिचय हुनेहरूले मात्रै समाजको नेतृत्व गर्न सक्छन् भन्नु नै अन्धविश्वास हो ।समाजलाई अन्धविश्वास तर्फ धकेलिदै छ ।निरंकुशता खोज्न अन्त जानै पर्दैन निरंकुशता हामी आफै भित्र छ ।हरेक राजनीतिक दलहरू भित्र लोकतान्त्रिक शून्यता छ त्यसैले राजनीतिमा अराजकताले घर गर्दैछ ।विचारहिन नकचराहरूलाई समाजका रोल मोडेल घोषित गर्ने धृष्टता गरिदै छ ।एमाले जीवनमा यतिवेला शीतयुद्ध चलिरहेको छ । धेरै प्रश्न र जिज्ञासाहरू छन् । सत्य बोल्न सक्नेहरूको कमि छ ।बैचारिक र ब्यवहारिक रूप मै यो पार्टी आधारभूत वर्ग भन्दा धेरै टाढा पुगिसकेको छ ।

कात्रोमा समेत खल्ति राखेर भ्रष्टाचार गर्नेहरूको छाँयामा मृत्यु हुन्छ जीवन होइन ।प्रस्तुति र ब्यवहारका हरेक डोबहरूमा सामन्तको गन्ध आँउनेहरू एउटा कम्युनिष्ट पार्टीको त के एउटा पुजिवादी पार्टीको समेत नेता हुन सक्दैनन् ।हत्यारा सबै हत्यारा नै हुन चाहे भावनाको गरूँन ,संवेदना या सपनाको ।लगभग दुइ तिहाईको सरकारलाई पोलेर खाने हत्याराहरू यतिवेला कोही रक्त स्नानमा छन् कोही रक्त मिटिंगमा ।सोच ,संगठन,पद्धति,संस्कृति र जीवन शैलिका हिसाबले यो एउटा पुजिवादी पार्टी भन्दा पनि अझ तल गिर्ने अभियानमा त छैन ? लास बन्ने या लास भन्दा अगाडीको छटपटाहटलाई महसुस गरेर सुध्रिने …?


सम्बन्धित समाचारहरु