असफलताहरु सफलताका सिंढि हुन


  • September 10, 2020


असफलताहरु सफलताका सिंढि हुन

सन्दर्भ: विश्व आत्महत्या रोकथाम दिवस

विजय ज्ञवाली
विश्वमा हरेक ४० सेकेण्डमा एकजना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिला भन्दा पुरुषहरु नै बढी छन् । ७० वर्ष कटेकाहरुमा बढी यो समस्या देखिएको छ ।
नेपालमा दैनिक करिब एक दर्जनले आत्महत्या गर्छन् भने बर्सेनि पाँच हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्यांक छ। विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार प्रत्येक एक लाख मानिसमा २५ जनाले आत्महत्या गर्ने नेपाल विश्वमै बढी आत्महत्या गर्ने देशको सूचीमा आठौं स्थानमा पर्छ ।

आत्महत्याका प्रमुख कारणमध्ये शारीरिक, मानसिक, आर्थिक साथै सामाजिक परिवेशसँग जोडिएका परिघटना हुन सक्छन्। सामाजिक कारण अन्तर्गत मानिसका दैनिक व्यावहारिक कुरा पर्छन्। जस्तो: ऋण, धन, गालीगलोज, चरित्र हत्या जस्ता समस्याले ग्रस्त मान्छेले पनि आत्महत्याको बाटो रोजेको देखिन्छ। शारीरिक कारण अन्तर्गत कुनै ठूलो रोग, टिबी, क्यान्सर लगायत दीर्घरोग वा उपचार हुन नसक्ने प्रकार रोगको कारणले बाँच्ने आशा हराउँदै जाँदा मानसिक विचलन आएर आत्महत्याको बाटो रोज्नु।

आत्महत्याको ९० प्रतिशत कारण मानसिक समस्यालाई मानिन्छ । लागूऔषध दुव्र्यसनीमध्ये १५ प्रतिशत, पर्सनालिटी डिसअर्डरमध्ये १० प्रतिशत र सिजोफ्रेनिया भएकामध्ये १० प्रतिशतले आत्महत्या गरेको देखिन्छ ।

नेपालमा सामाजिक–सांस्कृतिक विचलन, मानसिक रोग, पारिवारिक कलह, अनमेल विवाह, यौन दुर्बलता, आपसी अविश्वास, असुरक्षा भाव, अन्याय, द्वन्द्व, बेरोजगारी, गरीबी, इन्टरनेटको दुरुपयोग, लागूपदार्थको दुव्र्यसन, जीवनमा सधैं असफलता आदि कारणले आत्महत्या बढ्दो छ ।

नेपाली सामाजिक जीवनमा अस्वस्थ प्रतिस्पर्धा, असमानता, घरेलु हिंसा, नैतिक शिक्षाको अभाव र नक्कल गर्ने मनोविज्ञान पनि आत्महत्याका उत्तिकै जिम्मेवार कारक देखिन्छन् ।
तसर्थ प्रश्न उठ्छ- के हामीसंग जिन्दगी मात्र निराशाको बिन्दुसम्म हो? त्योभन्दा अंघाढिको जिन्दगी के जिन्दगी होईन?
जन्मेपछि कर्म भोग्नु अनिवार्य छ। बितिसकेका कुराहरुको बारेमा फेरि बहस गर्न नसकिएला। तर बर्तमान र भविष्यको लागि त सोंच्न सकिन्छ नि !
हरेक असफलताहरु सफलताका सिंढि हुन। मान्छे असफल हुनु जिन्दगी बर्बाद हुनु होईन, तर गलत बाटो रोज्नुचाहिं आफूमात्र बर्बाद हुनु होईन, आफूसंग जोडिएर आऊने परिवारका सदस्य र समाजलाई असफल बनाऊनु हो।

चिन्ता चिताको कारक हो। चिन्तादेखि टाढा रहनु नै उपर्युक्त हुन्छ। भगवानले सृष्टि रचेका छन भने उनको सृष्टिमा सबैलाई समान रुपमा बांच्ने अधिकार पनि छ। मान्छे समस्यामा पर्छ भने समाधानको उपाय पनि छ। आफुले देखेका केहि सपनाहरु मर्न सक्छन तर केहि नयाँ पनि त जन्मन्छन् । यो त केवल एउटा शिलशिला न हो । न केहि पातहरु झरेर रुखको हरियाली सकिन्छ नत केहि फूलहरु झरेर जांदैमा बगैंचाको सौन्दर्यतामा कमी आऊँदछ।

हुन त हाम्रो समाजमा आत्महत्या गर्ने मान्छेलाई कमजोरको संज्ञा दिईन्छ। तर मेरो लागि ति जस्ता हिम्मतिला मान्छे अरु हुन सक्दैनन् जस्तो पनि लाग्छ, जसले आफ्नो चलिरहेको स्वास (वायु) लाई पूर्णरुपमा रोक्ने हिम्मत गरे । नाक मुख थुनेर आधा मिनेट त रहन सकिँदैन भने ७/७ मिनेटको दर्दनाक अवस्था सहने मान्छे हिम्मतिला हुन, तर जिन्दगी नै हार्ने शर्तमा। जिन्दगी जित्ने शर्तमा कदापी होईन।

जिन्दगीलाई नै जित्ने शर्तहरु त ती हुन जसले फाटेको मनलाई सिऊने कोसिस गर्यो, भत्केका सपनाहरु पुन: जोड्ने कोसिस गर्यो र कठिन घुम्तीहरु पुनश्च: पार गर्ने अठोट गर्यो। भगवानले हामी सबैलाई अथाह स्मरणशक्ति दिएका छन, अनि त्यसैगरि बिर्सिन सक्ने शक्ति पनि दिएका छन। नराम्रा कुराहरुको घटाऊ र राम्रा कुराहरुको जोड नै जिन्दगी जिउने कला हो। जिन्दगी कस्तो बनाउने त्यो हाम्रो बिचारमा भर पर्छ। राम्रो विचारको प्रतिफल राम्रो र नराम्रो विचारको प्रतिफल नराम्रो नै हुन्छ। सुख र दुख त केबल शारीरिक र मानसिक रुपको अवस्था मात्र हो। शरीरको अनुकुलता सुख हो भने प्रतिकुलता दुख हो। हामी सबैलाई यस्ता स साना कुराहरु थाहा छ तर हामी यी सबै कुराहरुलाई भुलेर ठुला ठुला कुराहरुको पछि लागि परेका छौ। भनिन्छ नि थोपा थोपा मिलेर सागर बन्छ भने झैँ स साना सुख र खुसीका कुराहरु समेटेर नै सिंगो सुखी र खुसिमय जिन्दगी बन्दछ।
यस धर्तीमा हरेक सजिव प्राणीहरु मर्नकै लागि जन्मिन्छन। अजम्बरी कोहि पनि छैन। मान्छे पनि छोंटो समयको लागि धर्तीमा आएको हुन्छ र जिऊनको लागि संघर्ष गरेर बाँच्दछन, र त आफ्नो नाम अमर बनाऊँदछन। मर्नको लागि मात्र के बाँच्नु बरु बाँच्नको लागि बारम्बार मर्नु नै उत्तम ठहरिन्छ। बाँच्नको लागि संघर्ष गर्नु पर्छ, काम गर्नु पर्छ, फलको आश नगरी गरिएको मेहनतले नै इतिहास लेख्दछ।
तपाई हाम्रो जीवनमा जे जति कुराहरु भैरहेका छन वा घटिरहेका छन ति सबैको जिम्मेवार तपाई हामी नै हो। दोस्रो ब्याक्ति हुँदैहोईन। प्रतिकूलताका सबै कुराहरुलाई छोडिदेऊं र आफ्नो लागि आफैसँग केहि खाली ठाऊँ बनाऊ जहाँ सृजनशिलअनुरुपका कुराहरुलाई प्रत्यारोपर्ण गर्न सकियोस। मानिसको शारीरिक र मानसिक अवस्थाको अनूकूलता मानिसको सुख र प्रतिकूलता दु:ख हो। त्यहिं अनूकूलता खुशी हो अनि प्रतिकूलता पिडा हो। जो जसले जतिसुकै धनसम्पति र पद प्रतिष्ठा आर्जन गरेपनि शारीरिक र मानसिक अबस्थाको अनूकूलताबिना न त सुखी हुनसकिन्छ, न नै खुशी हुन सकिन्छ।

समाजमा अझ विशेष गरेर किशोर किशोरी र युवायुवतीहरुमा आत्महत्या एउटा लहडको बिषयझैं भएको छ। योसंगै डरलाग्दो सामाजिक मनोविज्ञानको फाँट पनि बिस्तार भएको छ। क्षणिक आवेशमा आएर गरिने यस्ता अपरिपक्व निर्णयले उनीहरु त उम्किन्छन, तर उनीहरु संग जोडिएका परिबार र समाजलाई कयौं पीडा दिएर गएका हुन्छन। आत्महत्याका बिरक्त लाग्दा समाचारभन्दा पनि आत्महत्या गर्न प्रेरित गर्ने कारक र कारण अझ डरलाग्दा हुन्छन।

जीवनमा धैर्य र क्षमाशीलताको साह्रै आवस्यकता हुन्छ । यदि दुवै भएन भने जीवनको विकास असम्भब हुन जान्छ । कूविचारहरू सकरात्मक विचारबाट बदल्नु पर्ने हुन्छ ।
मानसिक विकारलाई सकरात्मक सोधन, स्वस्थ सत्संग साधना गर्न जरुरी छ । सकरात्मक प्रवृतिलाई शास्त्रले महत्व दिएको छ । नकरात्मक विचारको लागि होइन जीवनलाई सकभर सरल र शान्त अवस्थामा राखौं, समाजमा स्वस्थ मानिसको संख्या दिनानुदिन घटिरहेको छ । अहिले भइरहेको मानव समस्या यही नै हो ।

मिहिनेत नगरि सफलता पाईने भए खुशीहरु कति फिक्का हुने थिए। संघर्षहरुका कथा लेखिने थिएनन। सपनाहरुको अस्तित्व हुनेथिएनन। सपना पूरा गर्न संघर्ष गरौं। चाहनाहरुलाई फुल्न दिऊँ, रहरहरु अझ भर्दै जाऔं। सपनाहरुको उडान भरौं। जीवन त एकदिन आफै पनि पुरा हुनेछ।

जीवन अमूल्य छ । हामी मान्छेका रूपमा जन्मिनु नै अमूल्य हो । यसको केहीसँग पनि तुलना हुन सक्दैन । जीवनमा गुमाउनुपर्ने कुरा केही पनि छैन, तर पाऊनुपर्ने कुराहरु धेरै छन। पाऊनु र गुमाऊनुका चिन्ता सब निराश हुने कारक मात्र हुन।आफ्नो जीवन आफूभित्रै छ । आफू छौं र त सबै छ, तर आफू नै भईएन भने यो लोकमा छ नै के र?

जिवनलाई अझ सुन्दर र सफल बनाऊनेतर्फ लागौं, हतास मानशिकता बोकेर आफ्नो जिन्दगी र परिबार बर्बाद पार्नेतिर कोहि पनि नलागौं। समस्या छन त समाधान पनि छन। यो संसारमा मानिसहरु एक मिनेट भए पनि बढि बाँच्नको लागि कत्रो संघर्ष गरिराखेका छन, हामीचाहिं हाम्रो यो यति सुन्दर र अमूल्य जिन्दगीलाई यत्तिकै बर्बाद पारेर हिंड्ने? जिन्दगी बर्बाद पार्नुपूर्व एकपटक सोंच्नुहोस त- भोलीको दिन किन अझ उत्कृष्ट बन्दैछ भनेर।


सम्बन्धित समाचारहरु