Monday, December 4, 2023

नेकपाको समस्या: घण्टा घण्टामा घटना, चट्के समाधान !


  • September 2, 2020


नेकपाको समस्या: घण्टा घण्टामा घटना, चट्के समाधान !


– सि. के. भुसाल

विश्व व्यापी आतंक श्रृजना गरेको कोभिड-१९ का कारण सिंगो संसारका सबै चलायमान गतिबिधिहरु कि त बन्द कि मन्द प्राय: भै रहेको छन। यो महामारीले सिंगो मानव जातीमा बहुआयामिक संकटहरु थपि रहेको र जीवन नै सिमित भैरहेका बखत नेपालमा भने आज भोली यो भाईरस आतंकलाई नै छायामा पार्नै गरी राजनैतिक रस्साकसी बढि रहेको छ। निषेध र प्रति निषेधको राजनीतिक मनोगत कुण्ठा ,दलगत अस्थिरता, द्वन्द , कलह र कचहरीका पसलहरु चौविसै घण्टा खुल्ला छन ।
नेकपाको महिनौ देखिको पट्यारलाग्दो गलफत्ति पश्चात यो विवाद चक्रलाई समाधानार्थ शुत्र पहिचान गरी सिफारिस गर्न भनि गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ। संभवत यसले विगत केही महिनादेखि राॅगिएको राफलाई सितल पार्न खोजेको देखिन्छ। एकिन गर्न सकिन्छ कि द्वन्दरत पक्षहरु विस्तारै गल्दै गएका छन वा थकित हुदै छन ।यध्यपि यो स्थाई युद्व विराम हो भन्न सकिने अवस्था छैन। समयले नेतृत्वमा रहनेहरुको चरित्रमा शुद्विकरण र संगठनमा सुदृढिकरणको माग गरिरहदा उनीहरुमा मनोगत अस्थिरता र विचार एवं विवेकमा सून्यताको अवस्थाबाट गुज्री रहेका छन कि भन्ने देखाऊछ।
भनिन्छ मरिच आफ्नै तेजले खुम्चिनछ। आज नेकपा पनि त्यही आफ्नो तेजले खुम्चिएको छ। बलियो सत्ता र शक्ती को स्वामी हुदाहुदै पनि यो पार्टी मणि गुमाएको मृग जस्तै भएको छ। तरल र अस्थिर मनोवलबाट गुज्रिरहेको छ। द्वन्द अब पहिलो पुस्ताको २/४ जना नेता र नेतृ्त्व बिच नभै, पहिलो पुस्ताबाट शक्ति दोश्रो पुस्ताले शक्ति खोस्नका लागि गर्नु पर्ने समय आएको छ।
घण्टा -घण्टामा विकसित हुने राजनैतिक घटनाक्रम र बिधान र विधि विपरित तत्कालको गौंडो पुर्नै गरि खोजिने चट्के समाधानले झन एक पछि अस्थिरता थपि रहेको छ। नेताहरुमा एकाएक निर्माण हुने निकटता र रातारात विकाश हुने बिकटले पार्टीले संस्थागत निर्णय क्षमतामा स्वखलन र व्यक्तीवादी अहंमता प्रधान हुदै गएको देखाउछ।
केही हप्ता अगाडी नेकपा नेता एव परराष्ट्र मन्त्री प्रदिप ज्ञावाली र अर्का नेता एव कृषि मन्त्री घनश्याम भुसालद्वारा प्रस्तुत लेख र भिम रावल लगायत दोश्रो बरियताका अन्य नेताहरुद्वारा व्यक्त विचार हेर्दा शिर्ष नेतृत्व आफु केन्द्रित भै पार्टी बिभाजन तर्फ धकेलिदै गएकोमा डर र चिन्ता व्यक्त गरे संगै बिभाजनको घनत्व ठम्याउन सकिन्छ।
विना कुनै राजनैतिक र वैचारिक प्रश्न, पद र आसनको उचीत व्यवस्थापन स्वंयमा चुनौतीको प्रश्न बन्दै आईरहेको छ । दिनानु दिन शिर्ष नेतृत्व अन्त्यहिन व्यक्तित्व टकराव र धुर्वीकरणको शिकार भै रहेको छ। पाकिसकेको उमेर र थाकी सकेको नेतृत्वले आफ्नो निर्णय क्षमता गुमाउदै गएको हो कि भन्ने आभास हुने गरी मुद्धाहरु लम्बेतान भै रहेका छन। प्रमुख नेताहरु नै यती बेला पार्टी फुटको दिशा उन्मुख बताई रहेका छन भने दोश्रो तहका नेताहरु यो भन्दा अगाडी बढेर एक अर्का बिरुद्ध बेलगाव प्रस्तुत भै रहेका छन। पार्टीका स्थापित मूल्य विपरित आफ्नो कद र जिम्मेवारी विर्सैर एक अर्कोलाई नग्याॅउन र चिरहरण गर्न उद्वत छन। शिर्षस्थ निकट रही गुटगत राजनीतिको एकलौटी स्वाद लिन पल्केका कतिपय मझौला नेताहरु समग्र पार्टी हित र मुलुकको हितमा आफ्नो हित देख्दैनन। त्यसै गरी नव धनपतिहरु राजनैतिक विचौरीयाको स्वरुपमा नेतृत्वलाई गलत प्रभावमा पार्न सलवलाई रहेका छन र पार्टी कब्जा गर्न प्रयत्नरत छन।अझै पनि नांगो बिजुलीको तारबाट तिव्र गतिमा प्रवाह भै रहेको छ ‘गिराउने र टिकाउने’ हाई भोल्टेजको कुर्ची राजनिती। यो जोखिमपुर्ण प्रवाहमा कस्लाई कति बेला कति भोल्टेजको झड्काले झट्कार्नै हो त्यो समयले देखाउने नै छ।
नेकपाको आन्तरिक कलहले त्यो पार्टी मात्र नभै मुलुक नै ठप्प प्राय: छ। राजनीतिमा स्थिरता र विकाशमा संमृद्धीको वाचा र नारा दिएर प्राप्त गरिएको त्यो अपार जनमत अहिले सारमा वेवारिसे जस्तै बनेको छ। पार्टीका बैठक गर्नै र महत्वपुर्ण निर्णय लिन सकिने निकायहरु निकम्बा र बन्धक बनाईएका छन । बैठक बस्दैनन, बसी हाले भने पनि अनिर्णित रहन्छन । पछिल्ला पटक कतिपय बैठकहरुका सम्बन्धमा एक पक्षले अर्को पक्ष विरुद्व त्यसको वैघनिकता मै प्रश्नहरु उठाईएका छन। सिंगो पार्टी संयन्त्र निष्कृय र नेताका आ-आफ्ना स्वार्थ समुह अर्थात गुटहरु सकृय र चलायमान छन । के यी नै निर्वस्त्र गुटवन्दीको गोलचक्कर सकृयताबाटै अपेक्षा गरिएको छ राजनैतिक स्थायित्व ? के यही शैलीबाट सहज र संभव छ सपना बाॅडिएको संमृद्वी ? यो आसनको कुश्ती विशुद्व पदको पगरीको लागि खेलिएको पौठेजोरी बाहेक बाॅकी केही होईन भन्ने आजको जागरुक युवा पुस्ताले बुझीसकेको छ। सिद्दान्तत: सामुहिक निणर्य र सो को कार्यान्वयनमा व्यक्तिगत जिम्मेवारी रहने मान्यता राख्ने नेपालका कम्यूनिष्ट पार्टीहरु व्यवहारमा जुट्नका लागि फुट्ने र फुट्नका लागि जुट्ने चक्र नियती कै रुपमा देखिन्छ। नेताहरुका पछिल्ला गतिविधिहरु नियाल्दा सबैमा ‘नेगेटिभिटी’ र एक आपसी भय भित्र नै बाॅचेका छन। उनीहरु कमजोर हुदै गएको वा गल्दै गएको थकित अवस्थाको एउटा सूचक हो भन्न सकिन्छ यो जारी निर्णय हिनता।
हिजो हुकुमी सरकार थियो, त्यसैले स्वतन्त्रता थिएन। त्यसैले विकास भएन भन्ने विश्वास गरियो। त्यसैले रा जतन्त्रलाई बिसर्जन गरियो, प्रजातन्त्रको प्रवेश भयो। त्यस पछि पनि जन जीवनमा खसै सकारात्मक प्रभाव देख्न सकिएन व्यस्था परिवर्तनको।अल्पमतको सरकार लामो समय सम्म चलिरहदा अस्थिरता र भष्ट्रचारले गगन चुम्यो भनियो र प्रचुर बहुमतको सरकारको आवश्यकता खड्कियो। संयोगले भनौ वा नियती , आशाले भनौ वा विगतको दुरावस्था, पटक पटक सरकार परिवर्तनका फोहोरी खेलले वाक्क भै आशा स्वरुप जनताले बहुमत दिलाए कम्युनिष्टहरुलाई । तर भै दियो के ? सिंगो कम्युनिष्ट पार्टी सरकारमा पुगेको महसुस न जनताले गर्न पाए न यसका कार्यकर्ता ले नै। दृश्यमा देखियो, एउटा गुटले सरकार चलाएका छन भने अर्को गुटले कटु प्रतिपक्षको भुभिका संचालन गरेका छन ।जनतामा निराशा चुलिदो छ। पार्टीको व्यवस्थापन र सरकारको संन्तुलन दुबै तर्फ राजनैतिक नेतृत्व सुशासन र विकाशको शारथी हुनुको विपरित चरम द्वन्दका प्रवर्तक भएका छन । लामो समयदेखि चुलिएका नागरिकका अपेक्षा र हाम्रो कार्य सम्पादनको असक्षमताले सृजना गरेको असन्तुष्टिलाई समय मै संबोधन गर्न नसकि यसरी नै नेतृत्व विषयान्तर भै रहेयौ भने समय अनुसार प्रवृती परिवर्तन नहुदा पात्र नै परिवर्तन पनि गर्न सक्छ भन्ने कुरा पनि जबरजस्त उठन सक्छ।
अहिले पार्टी कार्यकर्ता पंक्ती पार्टीको संघर्ष निर्रथक द्वन्द निरिह भै हेरी रहेका छन। निर्वाचनमा पार्टीले झोला बोकाउदा कुन आश्वासन दिई मतदातासंग भोट मागिएको थियो र अब मतदातालाई दिने जवाफ के हुने भन्ने द्वविधामा छन। तर नेताहरु व्यक्तिगत रुपमा एकले अर्कालाई र समुहगत रुपमा एक गुटले अर्को गुटलाई गलत स्थापित गर्न रस्साकसी गरी रहेका छन । एकले अर्कोलाई फकाउने, गलाउने, थर्काउने, धम्काउने विधि र प्रकृयाको पाठ सिकाउने र एक समुहले अर्कोलाई गलत स्थापित गर्न तल्लिन छन।
आम नागरिक र सिंगो कार्यकर्ता पंक्ती पार्टी एक ढिक्का भै प्रभावकारी ढंगले सरकारको संचालन होस भनी अपेक्षा गरेका छन। तर आफु बाहेक सबै असक्षम देख्ने दिर्घ रोगले व्याप्त गाॅजी सकेको छ नेताहरुलाई। उनीहरुमा न जिम्मेवारी बोध न लज्जाबोध कै आभास भेटिन्छ।
जसरी शिर्ष नेतृत्वले आफु नै पार्टी र आफु नै सरकार ठानी यथास्थितीमा समयको प्रवाह रोक्ने चेष्टा गरि रहेका छन त्यो गलत हो। यो रोगले नेताहरुलाई मात्र नभै सिंगो पार्टी प्रणालीलाई नै क्रमश: पंगु र बिकृत बनाउदै लगेको छ।
यदि समयको गती र परिस्थितीको माग ढिलो हुनु अगावै बुझ्न सकिएन भने आफुलाई निर्विकल्प देख्नेको पनि विकल्प तयार हुन्छ। अर्थात विकल्प सुन्यताको विकल्प पनि विकशित हुने अर्को विकल्प नै हो भन्ने शास्वत सत्य स्थापित हुन्छ। समग्रमा अहिले नेकपाको आन्तरिक जीवनमा जसरी जे भै रहेको छ, त्यसको आवश्कता पुष्टी गर्नै जायज आधार र कारण भेटिदैनन।मुलुक हाक्ने पूर्ण जिम्मेवारी प्राप्त गरेको पार्टी र यसको नेतृ्त्व थप जिम्मेवार र ज्यूदा प्रश्नहरु प्रति थप जवाफदेही बन्न जरुरी छ।


NNA Team
363 views

सम्बन्धित समाचारहरु