परदेशमा राजनीति: सबैका आआफ्नै दुःख


  • November 23, 2018


परदेशमा राजनीति: सबैका आआफ्नै दुःख

छाेप्राकी

गत महिनाको कुरा हो, एकदिन दिउँसो लन्च खाइवरी काम गरिरहेको थिएँ, मोबाइलाको घण्टी बज्यो । एउटा अर्जेन्ट रिक्वेष्ट गरिरहेको थिएँ, त्यसैले फोन उठाइनँ । काम सकेर इमेल पठाइ सकेपछि मिसकलको उत्तर गरेँ । एउटा प्रजातान्त्रिक अर्गनाइजेसनको आयोजनामा हुन लागेको डिनरमा आउन निम्तो गरिएको रहेछ । मानिसको जात पनि अजीवको छ । स्वार्थैस्वार्थले जेलिएर बाँचेको छ । अनेक नियम कानून बनाउँछ, कुरा गर्नु पर्दा निकै ठूलाबडा कुरा गर्छ तर आत्माले सोंचेर कुनै कुरा गर्नुपर्छ, कतै न कतै केही न केही स्वार्थ लुकेकै हुन्छ । तर यदाकदा यस्ता पनि पाइन्छन् जसको स्वार्थभन्दा आचरण वा व्यवहार बढ्ता देखिन्छ । मलाई पनि यो निम्तो गर्ने व्यक्ति सम्झँदा मेरो मनमा उसप्रति आदर्शभाव नै बढी आउँछ । सायद यसमा मेरो आदर्शभाव भन्दा पनि स्वार्थ लुकेको पनि हुनसक्छ किनकि हामी स्वार्थी र स्वार्थ खाली अरूको मात्रै देख्दछौँ, आपूm सधैँ दागरहित नै देख्दछौँ । कुरो र कुलो जहाँ पनि जान्छ, खाली पानी मात्रै नजाने हो । पानी त सधैँ उकालोतिरबाट ओरालोतिर जान्छ । किनकि यो स्वार्थलाई पनि कसरी व्याख्या गर्ने, केलाई स्वार्थ भन्ने केलाई नभन्ने कुरा कतिपय वेला छुट्याउनै गाह्रो हुन्छ । यो स्वार्थ भन्ने कुरा ठीक कि बेठीक भन्ने कुराबाट पनि आउँछ । ठीक बेठीक भन्ने कुरा ठाउँ, समय र परिस्थितिअनुसार भइदिन्छ ।
अँ, कार्यक्रमको निम्तो स्वीकार गरेर म भनेको दिन भनेकै ठाउँमा गएँ । डिनर चल्दै थियो दशैँको शुभकामना तथा मनका कुरा राख्न विभिन्न अर्गनाइजेसन तथा स्वतन्त्र पदमा नभएकाहरूलाई एकपछि अर्को गरी बोलाइयो । त्यहाँ राजनीति र विशेष गरी नेपाली कांग्रेसलाई कसरी अघि बढाउन सकिन्छ भन्ने विचारहरू धेरै साथीहरूले राखे । म आजकल सिड्नीको नेपाली राजनीतिबाट कति टाढा रहेछु भन्ने महसुस त्यहाँ गएपछि भयो । हुनत म नेपाली राजनीतिबाट धेरै नै टाढा पुगिसकेको छु । पत्रपत्रिकाका टाउके न्युज हेरेर के भइरहेछ भन्ने त थाहा छ तर पार्टीभित्रका कुराहरू केही पनि थाहा छैन र थाहा पाउने चेष्ट पनि गर्दिनँ । खालि कहिलेकाहीँ दुई÷चार जना बसेर गफ गरेको वेला पंगु हुन नपरोस् भनेर सबै पार्टीका राष्ट्रिय राजनीति भनुँ वा नेपालको वर्तमान अवस्थाचाहिँ अपडेट गरिराखेको हुन्छु । त्यसदिन पनि राजनीतिको बारेमा निकै विचार विमर्श भए । त्यसमा पनि ‘सिड्नीमा रहेका प्रजातन्त्रप्रेमीहरू कसरी एकजुट वा एकढिक्का हुन सकिन्छ त ?’ भन्ने बारेमा विभिन्न विचारहरू आए । त्यहाँको कुरा सुन्दा लाग्यो कुनै पनि कुराको सिस्टम बसाल्न नसक्नु वा बनाउन नसक्नु देश, पार्टी र इभन परिवार चलाउन कति कठिन भनूँ वा मोनोपोली गर्न कति सजिलो हुँदोरहेछ भनने कुरा त्यहाँ सुन्न पाइयो । मैले देखिरहेको छु नेपालका सबै पार्टीहरूमा बुढो गोरूले गाई ओगटेझैँ गरी ओगटेर बसेका छन् । मैले शुरु देखि एनआरएनको संगठन गरेको हेरिरहेको छु । म गलत पनि हुन सक्छु तर उपेन्द्र महतोले एनआरएन बनाउन र पद्धति बसाल्न ठूलो देन खेलेका छन् वा ठूलो देन छ । मलाई अहिले पनि लाग्दछ उनले आफ्नो समयावधि लम्ब्याउन चाहेको भए अरू दुई, चार वर्ष सजिलै लम्ब्याउन सक्थ्यौँ । तर विश्वमा छरिएर बसेका नेपालीलाई एकतृत गर्न सजिलो छैन । म यहाँ देखिराखेको छु, एउटै सिद्धान्त मान्ने पार्टीभित्र पद्धति बसाल्न नसकेर समयमा पद कुनै पनि पार्टीकाले आफ्नो पद छोड्न सकेका छैनन् । तर एनआरएनमा कम्तिमा त्यो पद्धति त बसेको छ । त्यसभित्र मेम्बर बनाउन पैसाको खेल हुन्छ । पार्टीलाई प्रयोग गरेर जित्ने वा आफ्नै साथीलाई हराउने काम हुन्छ । अब विस्तारै जातीयतालाई पनि उपयोग गरेको देखिन थालेको छ । धर्म पनि आउला । तर धर्मको लागि उपयुक्त संख्या नपुग्न सक्छ त्यो अर्कै कुरा हो तर त्यसमा पनि चलखेल त पक्कै भएको छ होला !

अँ त्यसदिन त्यहाँ उपस्थित हुने धेरैको चासो र चिन्ता भनेको सिड्नीमा भएको नेपाली कांग्रेसको भातृ संगठनलाई कसरी एकढिक्का बनाउने र आगामी एनआरएनको चुनावमा कसरी डेमोक्र्याटिकको एउटा युनाइटेड संगठन बनाउने भन्ने देखेँसुनेँ । कतिका वर्षपछि यस्तो संगठनमा गएको भएर होला कुरा र काम गराइ देखेर अनौठो लाग्यो । शुरुमा त लाग्यो न संगठन छ न सिद्धान्त छ न उद्देश्य छ, त्यसै हो मा हो गरेर हिँडेको छ । यसो हेर्छु नेपालका पार्टीहरू कांग्रेस, कम्युनिष्ट र अरू सबै पार्टीको एउटै सिद्धान्त छ, एउटै उद्देश्य छ र संगठन पनि छ । सबैको सिद्धान्त भने पनि उद्देश्य भने पनि त्यो हो कसरी धन कमाउने, कसरी सम्पत्ति जम्मा गर्ने, ठाउँठाउँमा घरजग्गा जम्मा गर्ने भन्ने छ । त्यस उद्देश्यप्राप्तिको लागि चोरीचकारी, धम्की, नातावाद, कृपावाद जेजे गर्न सकिन्छ त्यहीत्यही गर्ने । मैले गत वर्ष जाँदा एउटा गाउँस्तरीय संगठनको वडाअध्यक्ष बन्न प्रायःजसो सबै पार्टीका उम्मेदवारहरूले एक डेढ लाखभन्दा बढी चन्दा पार्टीलाई बुझाएका थिए । ती उम्मेदवारहरू कुनै व्यापारी, धनीमानी मान्छे होइन । अनि चुनाव जितेपछि कसरी गाउँठाउँको विकास गर्ने । यदाकदालाई छोडेर हेर्दा धेरैको त्यही हालत भएपछि अब फेरि पहिले खर्च गरेको असुलउपर गर्ने र अर्को चुनावको लागि जम्मा गर्ने कामभन्दा अरू कहिले के गर्न फुर्सद हुन्छ र ! विचरो जनता एउटा पार्टीको पछि लागेको छ । “साँढेको फल झर्ला र खाम्ला” भनेझैँ लागेको लाग्यैछ । उता पार्टीका वा पार्टीबाट चुनाव जितेकाहरू चाहिँ कहाँबाट झार्न सकिन्छ भनेर लागेकालाग्यै छन् । अनि यहाँ चैँ ती नेताहरूका लागि र त्यस्ता पार्टाीका लागि चिन्ता र प्रार्थना गर्दछन् । अहिले पनि सबै पार्टीका समर्थक र सदस्यहरूले नैतिकता सिकाउन सक्दैनन् भने कहिले सिकाउने हो ? “भिरबाट लडेको गोरूलाई, रामराम भन्न सकिन्छ तर काँध थाप्न त सकिँदैन नि ! अहिले मलाई लाग्दछ कांग्रेस र कम्युनिष्टहरू अन्य पार्टाीमा जान नसकेर वा त्यही पनि मेरो पनि कमाउने पालो पाउँछु कि भनेर लागेका छन् । पोहोर राम काकालाई भेटेको थिएँ । आराम विश्रामका कुराहरू भए । परिवार र नाता कुटुम्बका कुराकानी भए । अनि राजनीतिका कुराकानी पनि भयो । एकचोटि राजनीतिको कुराकानी गर्दा धुरुधुरु रुनुभयो । मैले भने– ‘काका सधैँ यो कांग्रेस भनेर कति लाग्नुहुन्छ । के दियो तपाईँलाई ? के दियो तपाईको गाउँलाई र के दियो देशलाई ?” उहाँले भन्नुभयो “बाबु म कहाँ जाउँला ? म धर्म छाड्न जान्दिनँ । म पोइला जान सक्दिनँ । यसले केही गरेन र पनि गरे यसैले गर्छ कि जस्तो लाग्छ ।” अनि मैले केपी ओलीका शब्द सम्झेँ “कांग्रेस कहीँ छैन, कतै देख्न पाइँदैन र पनि यत्रो भोटचाहिँ कसरी आयो ?” अनि बल्ल मेरो घैँटोमा घाम लाग्यो । कांग्रेसलाई त पशुपतिनाथले पो जोगाएका रहेछन् त । अनि बल्ला पो थाहा पाएँ कांग्रेस हार्दा जनताको आत्मा दुखेको रहेछ भन्ने नेतालाई अब घुसखोरी खान नपाइने भयो भने चित्त दुखेको रहेछ । यहाँ पनि आत्मामा दुःख र चित्त दुख्नेहरू पक्कै पनि होलान् अनि कम्युनिष्ट बन्न नसकेर बाँकी बसेकाहरूपनि । कम्युनिष्टमा पनि ठ्याक्कै त्यही अवस्था छ । कोही पनि फरक छैन । सबै कुरा एकले अर्कोको हुबहु नक्कल गर्दछन् । उनीहरूको पनि हालत पाँच÷सात वर्षपछि अहिलेको कांग्रेसकै हालत हुन्छ । त्यसमा कुनै शंका गर्ने ठाउँ देख्दिनँ ।


Nepal News Australia
336 views

सम्बन्धित समाचारहरु