भिम न्यौपानेको व्यवसायिक फड्को


  • April 20, 2018


भिम न्यौपानेको व्यवसायिक फड्को

मेलवर्न निवासी भिम न्यौपाने नेपाली समुदायमा चिनिएका पात्र हुन् । नेपाली समुदायमा हुने कार्यक्रमहरुमा उनी धक फुकाएर सहयोग गर्न रुचाउँछन् । प्रवासलाई कर्मभूमि बनाए पनि आफ्नो व्यवसायबाट विदेशीलाई नेपाल र नेपाली चिनाउने काममा अग्रसर छन् उनी । नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बुद्ध ट्राभल्स एण्ड टुर्सका संचालक न्यौपाने करिब १८ वर्ष अगाडि अध्ययनको शिलसिलामा अस्ट्रेलिया छिरेका हुन् । नेपाली कम्युनिटीको मन्दिर निर्माण होस् वा स्थानीय सकर टिम अथवा क्रिकेट टिमलाई उनको सहयोग अर्थपूर्ण छ । प्रवासी नेपालीका दुखसुखका सारथी बनेको न्यौपाने आफ्नो व्यवसायसँगै समाजिक कार्यमा समेत अग्रसर हुन रुचाउँछन् ।
नेपालदेखि नै ट्राभल्सको काम गरेर धेरै अनुभव बटुलीसकेका न्यौपाने आफ्नो व्यवसायलाई मेलवर्नबाट सफल पार्दै सिड्नी, एडिलेट हुँदै न्युजील्याण्डका शहरमा समेत विस्तार गरेका छन् । साथै उनले मेलवर्नमा निरङकार नेपाली तथा इण्डियन रेष्टुरेन्ट पनि संचालनमा ल्याएर विदेशीलाई नेपाली परिकारमा पल्काउँदैं अस्ट्रेलियामा नेपाललाई चिनाउन तथा विदेशी पर्यटकलाई नेपाल भित्रयाउन सफल समेत भएका छन् ।

आजभन्दा झण्डैं ४४ वर्ष अगाडि बाग्लुङको बिहूँ गाविसमा मध्यम वर्गिय किसान परिवारमा जन्मेका भिम न्यौपानेले प्रारम्भिक शिक्षा वाग्लुङकै ताराखसे प्राविबाट लिए अनि कक्षा ६ अध्ययनका लागि घरबाट करिब ४५ मिनेटको पैदल बाटो हिडेपछि पुगिने भिमसेन मावि पुगे । घरको आर्थिक अवस्था नाजुक भएकै कारण उनले वाल्यकालमा पढाईलाई सोचेजस्तो समय दिन सकेनन् । स्कुलले जीवनमा उनको पढाईको स्तर मध्यम वर्गमा गनिन्थ्यो ।

न्यौपाने ०४४ सालमा चितवनस्थित मामा घर पुगे अनि पढाईलाई निरन्तरता दिए । चितवनकै गौरीगञ्जबाट निमावी सके अनि प्रेमवस्ती बाट प्रवेशिका । गणित उनको निकै मन पर्ने विषय थियो । गणित राम्रो भएकै कारण सबै साथीभाईहरुले उनलाई माविमा साइन्स विषय पढ्न सुझाएका थिए । तर उनी भने अनेक बहाना बनाएर भूगोल विषय रोज्न पुगे । भूगोलभन्दा साइन्स पढ्न अलि बढी खर्चिलो भएका कारण भित्री मनले साइन्स पढ्न खोजे पनि आर्थिक हौसियतकै कारण साइन्स पढ्नबाट बन्चित भए उनी । पछि स्कुलका प्रधानाध्यापकले यो कुरा थाहा पाएपछि अफिसमै बोलाएर आफ्नो कुरा नराखेकोमा न्यौपानेसँग गुनासो गरे । न्यौपानेले सबै कुरा पहिल्यै खोलेको भए छात्रवृत्तिमा नै विज्ञान विषय पढाउने कुरा गरे । तर भूगोल लिएको एक वर्ष भैसकेका कारण उनले सोही विषयलाई निरन्तरता दिए । वि.सं. २०४८ सालमा न्यौपाने प्रथम श्रेणीमा प्रवेशिमा पास गरे ।

प्रवेशिका पासपछि उनी उच्च शिक्षाका लागि चितवनकै विरेन्द्र क्याम्पसमा मेजर म्याथ लिएर आइए भर्ना भए । विरेन्द्र क्याम्पसबाट आईए सकेका न्यौपाने त्रिचन्द्र क्याम्पसमा बिए अध्ययनका लागि काठमाडौं हानिए । न्यौपानेलाई काठमाडौं सुरुमा निकै विरानो लाग्यो । काम कलेज आउजाऊ गर्न उनले एउटा एटलसको साइकल किने । सोही साइकलबाट काठमाडौंका गल्ली गल्ली भौतारिदै जीवनका अनेकौं सपनाहरु बुने । उनले केही गर्ने अठोट बोके । तर आफुसँग श्रोतसाधन नहुँदा कयौं सपनाहरु त्यसैं विलाएर जान्थे ।

“त आँट म पु¥र्याउछु” भने झैैं त्रिचन्द्र पढ्दा पढ्दैं ठमेलमा २०५० सालमा चितवन पिस गेस्ट हाउस संचालनमा ल्याए । भर्खर २१ वर्ष टेकेका न्यौपानेले सबैको विश्वास जितेर आफन्त र साथीभाईबाट ऋण गरेरै व्यवसायतिर हात हाले । घरमा जेठो छोरा भएका कारण घरायसी अभिभारा बढ्दै गयो । न्यौपानेले आफ्नो अध्ययनलाई निरन्तरता दिदै व्यवसाय विस्तारमा लागे । उनले सँगसगै मोवाइल ट्राभल्स पनि चलाए । अर्थात ट्राभल्स एजेन्सीसँग सम्पर्क गरेर टिकट किनी विक्रिवितरण गर्ने अनि त्यहाँबाट आउने केही मुनाफा आफुले लिने । त्यतिवेला न्यौपाने गेस्ट हाउस र ट्राभल्सको काममा एक्लै खटिन्थ्ये । भाइवैनीहरु अलि सानै भएका कारण बुवाआमासँगै गाउँतिरै थिए ।
उनको गेस्ट हाउसमा विदेश जानका लागि धेरै नेपालीहरु आउँथे । पासर्पोट राख्ने जिम्मा यिनै न्यौपानेलाई दिन्थे । धेरै पटक न्यौपानेलाई साथीभाईहरुले विदेश जान हौसाए पनि तर उनी हौसिएका थिएनन् । नेपालमा नै केही गर्ने उनको सोच थियो । व्यवसायले पनि राम्रो पिकअप लिदै थियो ।

अस्ट्रेलियाको यात्रा
एक दिन न्यौपाने साईकलको पाइडल मार्दै भृकुटीमण्डप घुम्न निस्कदैं थिए । उनले त्यहाँ एक हुल मानिसहरु भृकुटीमण्डपतिर लागेको देखे । अनि उनी पनि त्यतैतिर मोडिए । त्यहाँ एजुकेसन फेयर चल्दै रहेछ । एउटा कन्सल्टेन्सीले उनको सबै डकुमेन्ट माग्यो । कन्सल्टेन्सीका मान्छेले नेपालमा होटल व्यवसाय र ट्राभल्समा लागेको मान्छे अस्ट्रेलियामा होटल म्यानेजमेन्ट पढ्न जादा राम्रो हुने कुरा सुझाए । न्यौपानेले यसो गमेर सोचे । होटल विधामा अध्ययन गरेपछि अझ बढी केही राम्रो गर्न सकिन्छ भन्ने लाग्यो उनलाई । अनि आफ्ना सबै डकुमेन्ट दिल्ली पठाए । पछि दिल्लीको हाई कमिसनले अन्तरवार्ताको लागि दिल्ली बोलायो । न्यौपाने अन्र्तवार्ता दिन दिल्ली पुगे । अन्र्तवार्तामा सफल भए अनि अस्ट्रेलियाको भिषा लगाएर नेपाल फर्के । यता भिषा लागेकै दिन गाउँमा छोरा जन्मिएको खबर पाए । न्यौपाने काठमाडौ आएर रातारात वाग्लुङ पुगेर भर्खरै जन्मिएको छोरासँग र जीवन संगीनीसँग एक घण्टा विताएर पुनः काठमाडौं फर्किए ।

करिब पाँच वर्ष ठमेलमा गेस्ट हाउस र ट्राभल्स संचालनमा ल्याएका न्यौपानेले आफ्नो रुचिको क्षेत्रमा अझ बढी ज्ञान हासिल गर्ने हेतुले सन् १९९९ मा होटल म्यानेजमेन्ट अध्ययनका लागि मेलर्वनस्थित सूइनवर्न विश्वविद्यालयमा आइपुगे । अस्ट्रेलियाका सुरुवाती दिनहरु न्यौपानेका लागि त्यति सहज थिएन । काम र पढाईको तनावले जीवनमा अनेकैं हण्डरहरु खान पुगे ।

उनले विद्यार्थीकालमा क्लिनिङदेखि किचेन ह्याण्डसम्मको काम गरे । न्यौपाने क्लिलिङ काम गर्न राति १ बजे क्राउन क्यासिनो पुग्थे अनि विहान ६ बजे काम सकेर आँखा मिच्दै उतैबाटै झोला भिरेर क्याम्पस पुग्थे । पछि न्यौपानेले वेटरदेखि सेफको काम समेत गर्न भ्याए ।
नेपालदेखि म्याथमा अब्बल रहेका न्यौपानेलाई फेरि एक पटक गणितले झस्कायो । उनको चार्टड एकाउन्टेन्ट बन्ने सोच पलायो । अनि एकाउन्टिङ विषयमा सोही विश्वविद्यालयबाट ३ वर्षको स्नातक तह पनि सके ।

अध्ययन सकेपनि उनले एक वर्षजति एकाउन्टिङ विषयमा काम पनि गरे । तर पनि उनको मन जागिरप्रति स्थीर नै भएन । अनि सन् २००५ बाट सानै व्यवसाय भए पनि सुरु गर्ने अठोटका साथ मेलवर्नस्थित काउलफिल्ड नर्थमा नेपाली परिकार पाइने कान्तिपुर रेष्टुरेन्ट खोले । राम्रो व्यवसाय गरेका न्यौपानेले उक्त रेष्टुरेन्ट सन् २०१४ मा बेचेर अर्को निरङकार नेपाली तथा इण्डियन रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । विशेष सुविधा, आर्कषण साँजसज्जा सहित नेपाली तथा इण्डियन परिकारहरु पाइने उक्त रेष्टुरेन्ट निकै प्रख्यात छ ।

नेपाल रहँदा नै ट्राभल व्यवसायमा रुचि देखाएका न्यौपानेले पैसाको अलिअलि जोहो गर्दै सन् २००८ बुद्ध ट्राभल्स एण्ड टुर संचालनमा ल्याए । सुरुमा मेलवर्नबाट संचालनमा आएको उक्त ट्राभल्सले नेपाल लगायत सिड्नी, एडिलेट र न्युजिल्याण्डमा आफ्ना शाखाहरु विस्तार गरेको छ ।
आज सोही ट्राभल्सबाट न्यौपाने नेपाली तथा अस्ट्रेलियन नागरिकलाई नेपाल भ्रमणमा विभिन्न प्याकेजहरु उपलब्ध गराउदै आएका छन् । उनी भन्छन्– “हामी स्तरीय सेवा दिदै आएका छौं । टिकट वेच्नु मात्र हाम्रो लक्ष्य होइन् । हामी कहाँ आएका ग्राहकहरु गन्तव्यमा पुगेर नफर्कदा सम्म आइपर्ने समस्याहरुलाई समाधान गर्दै स्तरिय सेवा पु¥र्याउदै आएका छौं ।”

जन्मभूमीप्रति आफ्नो कर्तव्यलाई सबैले सम्झेमा सानो तिनो सहयोगबाट पनि नेपालमा विकास गर्न सकिने उनको तर्क छ । कहिलेकाही न्यौपानेले अस्ट्रेलियनहरुलाई नेपाल भ्रमणमा जान प्रोत्साहित गर्ने हेतुले नेपाल सम्बन्धि जानकारीमुलक सुचनाहरु उनीहरुलाई ब्रिफिङ गर्न समेत पछि पर्दैनन् । कहिलेकाही न्यौपाने यहाँका विभिन्न स्कूल कलेजहरुमा नेपालको पर्यटन सम्बन्धि जानकारी दिनका लागि गेष्ट लेक्चलरका रुपमा पुग्छन् अनि नेपालका पर्यटनको वेलीविस्तार सुनाउछन् । त्यसैले त उनले वार्षिक करिब २ सय भन्दा बढी अस्ट्रेलियनहरुलाई नेपाल घुमाउन पठाउँछन् । न्यौपानेकै ट्राभल मार्फत वार्षिक करिब १० हजार प्रवासी नेपालीहरु नेपाल आउजाऊ गर्छन् ।
न्यौपाने कला क्षेत्रमा पनि उत्तिकै मोह राख्छन् । नेपाली कलालाई प्रवासमा जर्गेना गर्ने काममा उनी होस्टेमा हैंसै गरिरहेका छन् । नेपाली कलाकारहरुको हिमचिमले उनलाई कला क्षेत्रमा प्रवेशका लागि नजिक्याएको छ । म्युजिक भिडियोमा समेत अभियन गरेका न्यौपानेले बाटोमूनीको फूल –२, दोख, सुनकेसरी लगायतका ठुला पर्दामा चलचित्रमा मुख्य निर्माताको रुपमा देखा परेका छन्  । उनी भन्छन्– यो मेरो कला क्षेत्रको मोह हो अनि कलाप्रतिको सम्मान पनि ।

समाजसेवा र जीवन
न्यौपाने २०५२ सालमा बाग्लुङकी सरस्वतीसँग विवाहबन्धनमा बाधिए । यो उनको मागी विवाह थियो । आफन्तजनको चिनजानले यो जोडीको भेट जुराइदियो । जीवनका अनेकैं ओरोह र अवरोह पार गर्दै आएका न्यौपाने जीवनदेखि निकै खुसी छन् । उनी भन्छन्– धर्यता, योग्यता र लागनशीलता नै सफलतामा पुग्न सकिने द्योतक हुन् । आफ्नो सफलताको श्रेय जीवनसंगीनी सरस्वती र आफन्तजन र साथीभाईहरुलाई दिन्छन् उनी । जीवनसंगीनी सरस्वती र दुई छोराहरु कैलाश र भिषेकका साथ पारिवारिक जीवन विताएका न्यौपाने जीवनप्रति निकै खुसी छन् । आफ्नो व्यवसायलाई जीवनसाथी सरस्वतीले होस्टेमा हैसे गर्दै साथ दिदै आएकी छिन् ।

राजनीतिबाट अलि टाढै बस्न रुचाउने न्यौपानेलाई समाजसेवा गर्न पदमा बस्नु पर्दछ भन्ने लाग्दैन । उनी पदभन्दा बाहिर बसेर पनि आफुले सकेको सहयोग गर्दै आएका छन् । उनी अगाडि भन्छन्–“नेपाली समुदायलाई मेरो साथ सधै रहनेछ ।” समय र परिस्थितिले भ्याएसम्म उनी समुदायका कार्यक्रमहरुमा सामेल हुन रुचाउँछन् र सकेको सहयोग गर्न पछि हट्दैनन् । आफ्नो व्यवसाय पनि नेपाली समुदायसँग जोडिएकाले प्रवासमा नेपाली–नेपाली फुटेर होइन जुटेर काम गर्नुपर्नेमा उनको विशेष जोड छ ।

भविष्यमा उनी नेपालको टुरिज्जम क्षेत्रमा केही लगानी गर्ने सोच बनाएका छन् । सन् २०१६ मा उनले युवा उद्यमशील श्रीलंकाली अवार्ड पाउन सफल भए । साउथ एसियाबाट न्यौपाने छानिएका थिए । उनको बुद्ध ट्राभल्सले विभिन्न वर्ष सिगापुर एयरलाइन्स, मलेसियन एयरलाइन्स, थाई एयरलाइन्सबाट टप टेन ट्राभल्स एजेन्सीको रुपमा अवार्ड पनि पाइसकेको छ । न्यौपानेले आफ्नो व्यवसायमा झण्डै तीन दर्जनलाई विगत १० वर्षदेखि रोजगारी दिदै आएका छन् ।

जीवन भनेको लक्ष्यलाई पछ्याउनको लागि क्षितिजलाई चुम्ने प्रयासमा गरिएको जीवनको भोगाई हो । कहिले उकाली त कहिले ओराली कहिले भिर त कहिले पाखाहरुसँग पैठेजोरी खेल्दै अगाडि बढ्नु जीवन हो । जीवनमा सधै सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्ने उनको सुझाव छ । जीवनमा सुख भन्दा पनि खुसीले अर्थ राख्ने उनी बताउँछन्  । उनी थप्छन्– यहाँ मानिसहरु पैसाले सुख किन्न सकेपनि खुसी किन्न सक्दैनन् । सकारात्मक सोचका साथ सबैको भलो चिताउने सकेको सहयोग गर्ने न्यौपानेको खुसी प्राप्त गर्ने मूल मन्त्र हो ।


सम्बन्धित समाचारहरु