Friday, December 1, 2023

शैक्षिक व्यवसायमा जमेका भण्डारी


  • August 13, 2017


शैक्षिक व्यवसायमा जमेका भण्डारी

कृष्ण तिवारी
मनमा इच्छा शक्ति र लगनशीलता भयो भने असम्भव भन्ने कुरा केही हुँदैन । नेपालीहरु विश्वका जुनसुकै देशमा गएर कर्मभूमि बनाए पनि आफूले आर्जन शिक्षा, सीप र अनुभवका कारण विदेशी भूमिमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । अनि कर्मभूमिबाटै नेपाल र नेपालीलाई चिनाउन समेत पछि परेका छैनन । मनमा अठोट र सङकल्पका साथ लागनशिल भएर अगाडि बढ्यो भने आफ्नो उद्धेश्यमा पुग्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन्– बिकास भण्डारीले । विगत ८ वर्षदेखि अस्ट्रेलियाको व्रिसवेनमा केही साथीहरुसँगको सहकार्यमा क्वीन्सफोर्ड कलेज संचालनमा ल्याएर शैक्षिक क्षेत्रमा हात हालेका भण्डारीले आज कलेजको सफलतासँगै एडिलेड हुँदैं सिड्नीमा समेत आफ्नो शाखा कलेज विस्तार गरिसकेका छन् । भण्डारी उक्त कलेजमा म्यानेजिङ डाइरेक्टर र कम्पलाइन्स म्यानेजरको रुपमा कार्यरत छन् । उनले कलेजको शैक्षिक विभागको जिम्मेवारी बहन गर्दै आएका छन् । Screen Shot 2017-08-13 at 9.36.06 pm
सरल अनि मिजासिलो स्वभावका धनी भण्डारीको जन्म काठमाडौंस्थित गोकर्णमा मध्यय वर्गिय परिवारमा भएको थियो । उनी परिवारमा जेठो सन्तान थिए । व्यापारिक पृष्ठभूमि रहेको भण्डारीलाई वाल्यकालमा शिक्षादिक्षाको लागि कुनै आर्थिक संकटको समाना गर्नु परेन । बुवा मधुसुधन भण्डारी गाउँमै कहलिएका नामी व्यापारी थिए । अर्थात उनको बुवाको कन्ट्रक्सन कम्पनी थियो । प्रारम्भिक शिक्षा काठमाडौंकै इङलिस प्रिपेटरी स्कुलबाट लिएका भण्डारीले कक्षा ७ र ८ भने वाग्मती वोडिङ स्कुलबाट सके । उनी कक्षामा मेधावी छात्रको रुपमा चिनिन्थे । कक्षामा उनी सधैं कि पहिलो कि दोस्रो स्थान मै रहन्थे । कक्षा ८ पास गरेपछि भने उनी अध्ययनको लागि भारतको देहरादून पुगे । पढाईमा निकै अब्बल भएका कारण पढाई अझ राम्रो हुने भएका कारण भण्डारीको परिवारले उनलाई देहरादून पठायो । भण्डारीले देहरादूनको केम्ब्रीयन हलबाट वोर्ड परिक्षा पास गरे । भण्डारीले दिल्ली विश्वविद्यालयको हंसराज कलेजबाट सन् १९९७ मा व्यवस्थापन विषयमा स्नातक पुरा गरे । 17097289_10156087058874896_40762267542964603_o
व्यवस्थापन अध्ययन सकेपछि उनी नेपाल फिरे । नेपालमा बुवाको कन्ट्रक्सन कम्पनीमा भण्डारीले काम थाले । करिब दुई वर्ष उनले बुवाकै कम्पनीमा काम गरे । भण्डारी काम भन्दा बढी साथीभाईहरुसँग रमाइलो गर्न औधी मन पराउँथे । उमेरका हिसावले पनि लक्का जवान भण्डारीलाई रमाइलो तिर बढी ध्यान जान्थ्यो । घरमा अभिभावकहरुले छोराले कामप्रति त्यति लगाब नदेखेपछि उनलाई उच्च शिक्षाको लागि अस्ट्रेलिया पठाउने निधो गरे ।
अस्ट्रेलियाको यात्रा
सन् १९९९ मा भण्डारी यूटिएसमा एमबिए अध्ययनका लागि सिड्नी आइपुगे । उनका नत साथीभाई न त कुनै आफन्त नै थिए, यो विरानो मुलुकमा । तर पनि भण्डारी अलि हकी स्वभावका थिए । दिल्लीमा अध्ययन गरेर पनि होला उनको अंग्रेजी निकै राम्रो थियो । भण्डारी नेपालबाट सिधैं एउटा लगेज र १५ सय डलर बोकेर सिड्नी आइपुगे । न त बस्ने वाँसको कुनै ठेगान छ, नत खानाको । एयरपोर्टबाट उनी सिधै ट्याक्सी समातेर युटिएसको लाइब्रेरी पुगे । आफुले नेपालबाट ल्याएको लगेजलाई लाइब्रेरीकै एउटा कुनामा राखेर भण्डारी डेरा खोज्न हिंडे । काठमाडौंमा कोठा खोजे जस्तै टु–लेट हेर्दै हिडे । झमक्क साँझ पर्न लाग्यो कतै टु–लेट( खाली कोठा) देखेनन् । अनि पुन लाइब्रेरी फर्केर आफ्नो लगेज समाते । यता लाइब्रेरीको गार्डले बेवारिसे अवस्थामा लगेज छाडेकोमा भण्डारीलाई झपारे । अनि उनी लगेज गुडाउँदै कहाँ सस्तोमा बस्ने ठाउँ पाइन्छ भन्दै हिडे । रातको २० डलरमा पाइने होटलमा भण्डारी पुगे । होटलका स्टाफले एउटा कार्ड थमाए र कोठा नम्बर दिए । भण्डारी कोठा नम्बर खोज्दै भित्र पस्दा त ३,४ जना केटीहरु बसिरहेको देखे । एकछिन त उनी झँस्किए गलत कोठामा पुगेछु कि भनेर । उनी पुनः स्टाफको सहयोग माग्न पुगे । स्टाफले कोठा नं त्यहि नै बताएपछि उनी पुनः सोही कोठामा पुगे । वास्तवमा यो होटल ब्याकप्याकर्स रहेछ । एउटै कोठामा तह–तहमा ४,५ वटा सम्म वेडहरु राखिएका थिए । भण्डारी जीवनको यो क्षणलाई कहिल्यै विर्सैन सक्दैनन् । नेपालबाट ल्याएको १५ सय डलरमध्ये हजार डलर त होटलमा खादा र बस्दा मात्रै सकियो । केही समयपछि उनले एक इण्डियन साथीसँग रुममा सेयरिङ गरेर बसे ।
विद्यार्थी जीवनमा भण्डारीले निकै हण्डर खाए । तर आत्मविश्वास भने कहिल्यै गुमाएनन् । काम खोज्दै हिंडे । उनले एउटा पेट्रोल पम्ममा रातीको काम पाए । विदेशमा कामलाई महत्व दिने कुरा भण्डारीले बुझिसकेका थिए । उनी त्यही पेट्रोल पम्ममा काम सुरु गरे । रातभरि काम गरेर विहान आँखा मिज्दै उनी यूटियस कलेज पुग्थे ।
सानैदेखि पढाईमा अब्बल भएर पनि होला भण्डारीलाई आफ्नो पढाईलाई विषेश ध्यान दिन्थे । भण्डारीले सन् २००२ मा एमबिए सके । पछि सिक्यूयुबाट मास्टर्स अफ प्रोफेसनल एकाउन्टिङ पनि सके । साथै भण्डारी चार्टड फाइनान्सियल एनालाइसिस्ट पनि हुन ।
वास्तवमा भण्डारीले अस्ट्रेलियालाई नै कर्मथलो बनाउँछु भन्ने कुनै योजना नै थिएन । उनी भन्छन्– अध्ययन नै मेरो पहिलो प्राथमिकता थियो । यता आएपछि अध्ययन पश्चात पाइने प्रिभिलेजलाई आफूले पनि किन सदुपयोग नगर्ने त भन्ने लाग्यो अनि पिआर लिन पुगे । सन् २००३ मा भण्डारी पिआर लिएर नेपाल फर्के । अनि शैक्षिक क्षेत्रतिर हात बढाए । भक्तपुरको वालकोटमा भण्डारीले स्टार्नफोर्ड इन्र्टरन्यासनल वोडिङ स्कुल खोले । झण्डै ११ रोपनी जग्गामा फैलिएको स्कुल साच्चैं नै नमुना नै थियो । पछि नेपालमा वोडिङ स्कुलमाथि माओवादीहरुले चन्दा आतकं मच्चाउन थाले । अन्नतः भण्डारीले स्कुल नै बन्द गर्न पुगे ।
भण्डारीलाई यो कुरा राम्रोसँग थाहा थियो कि आफ्नो ज्ञान, सीप र अनुभवले नेपालमा नै केही गर्न सकिन्छ भन्ने । त्यसैले उनलाई अस्टे«लियाको पिआरले भन्दा नेपालको मायाले बढी सताउने गर्दथ्यो । नेपालमै केही गरौं भन्ने सोचका साथ उनी नेपाल फिरेका थिए । तारादेविको गीतले “सोचे जस्तो हुन्न जीवन” ….. भने झैं भण्डारीको जीवन पनि सोचेजस्तो भएन । अन्ततः करिब ४ वर्ष नेपाल बसेर उनी सन् २००७ मा पुनः अस्ट्रेलिया आइपुगे ।
पछि अस्ट्रेलिया आउँदा भण्डारीलाई सबै कुरा नौलो लागिसकेको थियो । पछिल्लो पटक उनी आफ्नी जीवनसंगीनीसँगै आएका थिए । नेपालमा समेत स्कुल खोलेर अनुभव संगालेका भण्डारीले सिड्नीको एआइसिएल कलेजमा एकाउन्टिङ विषय अध्ययपन गराउन थाले । सिड्नी आएदेखि नै भण्डारीलाई आफै केही गरौं भन्ने हुटहुटीले निकै सताउने गर्दथ्यो । भण्डारी अरुको निर्देशनमा काम गर्न भन्दा पनि अलि फ्रिडम चाहिने स्वभावका थिए । करिब ६ महिना भण्डारीले कलेजमा पढाए । पछि आफै केही गर्ने सोचमा कलेज छाडिदिए ।
घरबाट समेत बुवाको तारन्तार फोन आयो, छोरा आफै केही व्यवसाय गर भन्ने । सिड्नीमा नै रहेका सन्तोषसँगको भलाकुसारीपछि भण्डारीले शैक्षिक क्षेत्रमा हात हाल्ने जमर्को कसे । उनीहरुलाई रुपेश पाठक र बद्री जौशीले समेत होस्टेमा हैंसे थप्ने काम गरे । अनि सहकार्य गरी चारैजना एउटै यात्रामा हिड्न तयार भए । कलेज त खोल्ने तर कहाँ ? भन्ने वारेमा उनीहरुले निकै अध्ययन गरे । शुरुमा नै सिड्नीमा कलेज खोल्न बढी खर्च लाग्ने भएका कारण ब्रिसवेनमा कलेज खोल्ने निर्णयमा पुगे । शुरुका ५, ६ महिना उनीहरुले मार्केट स्टडी, र स्ट्राटेजी प्लानमै खर्चिए । अनि सन् २००९ बाट ब्रिसवेनमा क्वीन्सफोर्ड कलेज स्थापना गरे । सुरुका केही वर्ष निकै सर्घष नै गर्नुपर्यो । एकपटक त कलेजले तलब र कोठाभाडा तिर्नसमेत नसकेर बन्द गर्ने स्थितिमा समेत पुगे । तर कलेजका सहयात्रीहरु यसबाट कहिल्यै हरेश खाएनन् । बरु आफ्ना जीवनसंगीनीहरुले कमाएको पैसाले घरखर्च धानेर निरन्तर कलेजलाई कसरी सफलतातिर लान सकिन्छ भन्ने योजना बुनिरहे । अन्ततः उनीहरुको सपना आज साकार भएको छ । सुरुमा ९ जना विद्यार्थीहरुबाट सुरु गरेको यस कलेजमा आज डोमेस्टीक र इन्टरन्यासनल गरी करिब ३ हजार विद्यार्थीहरु अध्ययन गर्छन् । करिब ५० वटा मुलुकका विद्यार्थीहरु उच्च शिक्षाको लागि क्वीन्सफोर्ड कलेजमा अध्ययनरत छन् । ब्रिसवेनमा मुख्य कलेज रहेका क्वीन्सफोर्डको आज एडिलेट हुदै सिड्नीसम्म शाखा कलेजहरु संचालनमा आइसकेको छ । भविष्यमा मेलवर्नमा लगायत अरु स्टेटहरुमा शाखा खोलिने लक्ष्य रहेको भण्डारी बताउँछन् । उनी भन्छन्– हाम्रो कलेजको उद्धेश्य भनेकै गुणस्तरिय र व्यवहारिक शिक्षा हो । क्वीन्सफोर्डमा सर्टिफिकेट २ देखि एड्भान्स डिप्लोमा सम्मका करिब ४० वटा कोर्षहरु अध्यापन हुने गर्दछ । साथै नसिङ विषय अधययनको लागि समेत तयारी भैरहेको भण्डारी बताउँछन् ।
वैवाहिक सम्बन्ध र जीवन
भण्डारीले सन् २००४ मा काठमाडौं कि पुजा ढकालसँग विवाहबन्धनमा बाँधिए । भण्डारीको यो प्रेमपछिको मागी विवाह थियो । पुजा बंगलादेशबाट डेन्टीस्ट अध्ययन सकेर काठमाडौंको समाज डेन्टलमा काम गर्थिन । भण्डारीले पुजालाई अस्पतालमा नै पहिलो पटक देखे । अनि पुजासँग मित्रता गाँसे । अनि अन्ततः दुवै परिवारको मञ्जुरीमा विवाह नै गर्न पुगे । जीन्दगी भनेको भण्डारीको परिभाषामा एउटा सघर्षको यात्रा नै हो । उनी भन्छन्– जीवनमा लगनशील भएर अगाडि बढियो भने कुनै कुरा असम्भव भन्ने हुँदैन् । जीवनमा लक्ष्य प्राप्तीको लागि धैर्य र लगानशीलता चाहिने उनको अनुभवले सिकाएको छ । जीवनमा लक्ष्य आफु अनुकुल लिनुपर्दछ । सधै सकारात्मक सोचका साथ अगाडि बढेमा एक न एक दिन लक्ष्यमा पुग्न सकिने बताउँछन् भण्डारी । अहिलेका नयाँ पुस्तालाई उनी भन्छन्– अस्ट्रेलिया अवसर र चुनौतीको देश हो । चुनौतीलाई पन्छ्याउँदै संकल्प लिएर अगाडि बढेमा जीवनमा सफलता हासिल गर्न सकिन्छ । भण्डारी एनआरएनएको राजनीतिबाट अलि टाढा नै बस्न रुचाउँछन् । उनी भन्छन्– समाज सेवा गर्न पदमा नै बस्नु पर्छ भन्ने छैन् । मन भयो भने बाहिरबाटै पनि गर्न सकिन्छ । नेप्लीज एसोसियसन अफ क्वीन्सल्याण्डमा उनी सदस्यको रुपमा रहे । त्यसका अलवा उनी कुनै संस्थामा आबद्ध छैनन् । Screen Shot 2017-08-13 at 9.35.17 pm
प्रवासमा बसेपछि भण्डारीको मन नेपालमा नै छ । उनी भन्छन्– यहाँ घेरै नेपालीहरुको दाँत हाँसे पनि आँत हाँस्न सकेको छैन् । नेपाल सरकारले प्रवासी नेपालीहरुलाई लगानीको लागि निश्चित मापदण्ड बनाइदिने हो भने धेरै नेपाली स्वदेश फर्कने भण्डारी बताउँछन् । उनको चाहना पनि नेपालमै केही गरौं भन्ने नै छ । त्यसैले होला सायद आजसम्म भण्डारीले हरियो पासपोर्टलाई माया मार्न सकेका छैनन् । नयाँ पुस्तालाई अस्ट्रेलिया आउँदा रिसर्च गरेर आउन सल्लाह दिन्छन् । उनी भन्छन्– टेक्निकल विषय अझ बढी प्रभावकारी छ । भण्डारी नेपालमा नै अटोमोटिभ विषयमा शिक्षा दिएर प्रवासमा सीप युक्त जनशक्ति ल्याउन पाए कति फाइदा हुन्थ्यो होला भन्ने चिन्तनमा छन् । भविष्यमा भण्डारीले नेपालमा नै अन्र्तराष्ट्रिय स्तरको अटोमोटिभ विषयमा अध्ययन संचालन गर्ने रणनीति पनि बुनेका छन् । फुुर्सदको समयमा परिवार तथा साथीभाईहरुसँग रमाउन चाहने भण्डारी आफ्नो सफलताको श्रेय आमाबुवा, जीवनसंगीनी तथा आफन्तजन र शुभचिन्तकहरुलाई दिन चाहन्छन् । भण्डारी परिवारमा दुई छोरीहरु श्रेया र श्रृती छन् ।


NEPAL NEWS Team
396 views

सम्बन्धित समाचारहरु