सिड्नी । पूर्वी नेपालका आदिवासी कोच जातिको नयाँ वर्ष पर्व सिरुवा पवनी अस्ट्रेलियामा पनि मनाइएको छ ।
सिड्नीको एसफिल्ड पार्कमा अप्रिल १७ तारिख(आइतवार) झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको सो कार्यक्रममा सिड्नीवासी नेपालीहरुले एकआपसमा रंग, हिलो छ्यापाछ्याप गरेर खुशी साटासाट गरी सिरुवा पवनी मनाए ।
कार्यक्रममा प्रमुख अतिथि तथा एनआरएनकी संरक्षक ईन्द्रा वनले सांस्कृतिक रुपमा धनी रहेका कोच जातिको भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा राज्यस्तरबाट नै पहल गर्नुपर्ने बताइन् । प्रवासमा समेत आफ्ना भाषा र संस्कृतिलाई जिवितै राख्न यस्ता कार्यक्रमले बढी महत्व राख्ने बताइन् । कार्यक्रममा झापाल्ऽी समाज अष्ट्रेलियाका अध्यक्ष दिपक खनालले झापाका आदिवासीहरुको पर्व कोच कला र संस्कृतिलाई अष्ट्रेलियासम्म ल्याएर मनाउन पाउनु सबैको लागि खुशीको कुरा भएको बताए ।
कार्यक्रममा एनआरएन न्यूसाउथवेल्सका संयोजक एवं झापाली समाज अष्ट्रेलियाका संरक्षक दिनेश पोखरेले नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक बताउँदै अगामी दिनमा यस्ता कार्यक्रमलाई झापाली समाजले प्राथमिकता दिने बताए । निन्फाका अध्यक्ष तुम्बाहाम्फेले नेपाल्ऽी पहिचानहरुको संरक्षणका लागि पहिचान सहितको राज्य अपरिहार्य रहेको बताए ।
यसैबिच सिड्नीमा अघिल्लो पटक आयोजना गरिएको नेपाल महोत्सवमा राजवंशी नृत्यको कोरियाग्राफी प्रस्तुत गर्ने कार्यमा नेतृत्वदायी भूमिका खेलेका कारण स्थानिय हाँस्य कलाकार एवं नृत्य निर्देशक भुपेन्द्र चुडाललाई सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनका ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, पूर्वअध्यक्ष महेन्द्र ओलीको समेत उपस्थिति रहेको थियो । सिरुवा पवनी पर्व पूर्वी नेपालमा नयाँ वर्षको पूर्वसन्ध्यादेखि तीन दिनसम्म मनाउने परम्परा छ । यस अवसरमा आफन्त र परिवारजन भेटघाट गरी विशेष परिकारहरु बनाउने र एकआपसमा रंग, हिलो छ्यापाछ्याप गरेर खुशी साटासाट गर्ने चलन रहिआएको छ ।