कर्मसँगै समाजसेवामा डा. प्रवीन


  • March 13, 2016


कर्मसँगै  समाजसेवामा डा. प्रवीन

कृष्ण तिवारी
अस्ट्रेलियालाई कर्मभूमि बनाएका प्रवासी नेपालीहरु आफ्नो ज्ञान, सीप र क्षमतालाई विभिन्न विधामा पस्किरहेका छन् । चाहे चिकित्सा क्षेत्र होस् वा इन्जिनियरिङ नै अथवा अन्य । आफ्नो क्षेत्रमा विशेष ज्ञान हासिल गरेका अनुभवी पोख्त प्रवासी नेपालीहरुको संख्या अस्टे«लियामा दिनानुदिन बढ्दो छ । आफ्नो व्यस्त कामसँगै नेपाली समुदाय र नेपालका लागि केही गरौं भन्ने भावना बोकेका थुप्रै नेपालीहरु मध्येका एक हुन् डा. प्रवीन पाठक ।

नेपाली समुदायमा सेवा गर्न धन मात्रै चाहिदैन् मन भए पुग्छ भन्ने उदाहरण दिएका छन् डा. प्रवीनले । अस्ट्रेलियामा जनरल प्राक्टीसियन अर्थात जी. पी. रहेर चिकित्सा क्षेत्रमा कार्यरत प्रविनका अधिकांस समय विरामीहरुको उपचार र काउन्सिलिङमा नै वित्ने गर्दछ । त्यसको अलवा मेडिकल कलेजका विद्यार्थीहरुलाई पढाउने काम पनि गर्छन् । विगत १० वर्षदेखि अस्ट्रेलियालाई कर्मभूमि बनाउँदै आएका युवा डाक्टर प्रविन कर्मसँगैं समाजसेवामा रमाउँदैं नेपाली समुदायमा भिजिसकेका छन् । अस्ट्रेलियामा छरिएर रहेका नेपाली डाक्टरहरुको संस्था अस्ट्रेलेसियन नेप्लीज मेडिकल एण्ड डेन्टल एशोसियसन (Australasian Nepalese Medical and Dental Association) को एनएसडब्लुका संयोजक समेत रहेका प्रविन समयले भ्याएसम्म समुदायका गतिविधिहरुमा उपस्थिति जनाएर आफ्नो सीपहरु बढ्दैं आएका छन् ।
आजभन्दा चालिस वर्ष अगाडि विराटनगरको भानुटोलमा मध्यम वर्गीय परिवारमा जन्मेका प्रवीनले प्रारम्भिक शिक्षा गाउँबाटै लिए । प्रविनका बुवा अर्थमन्त्रालय अन्र्तगत अधिकृत स्तरका सरकारी जागिरे थिए । बुवाको सरुवासँगै उनको पढाई पनि कहिले विराटनगर त कहिले राजविराज अनि झापातिर सरुवा हुन्थ्यो । शिक्षित परिवारमा जन्मे हुर्केका प्रविनले वाल्यकालमा अध्ययनका लागि राम्रो वातावरण पाए । we 4
पढाईमा मध्यम रहेका प्रविन अध्ययनको अलवा क्रिकेटका समेत पारखी थिए । आज उनीसँगै क्रिकेट खेल्ने सहपाठीहरु राष्ट्रिय टिममा समेत समावेश छन् । सन् १९९० मा सरस्वति माविबाट प्रवेशिका पास गरेका प्रविन उच्च शिक्षाको लागि काठमाडौंस्थित विश्व निकेतनमा साइन्स विषयमा भर्ना भए ।
दुई सन्तान मध्ये उनी एक्लो छोरा थिए । घरपरिवारमा छोरालाई भविष्यमा डाक्टर बनाउने बाबुआमाको ठुलो चाहाना थियो । परिवारको चाहना मुताविक प्रवीन प्लस टु पास गरेपछि आफ्नैं खर्चमा डाक्टर बन्ने लक्ष्य बोकेर एमडि गर्न सन् १९९५ मा रसिया पुगे । प्रवीनले कार्गिज स्टेट मेडिकल एकेडेमीबाट एम डि अध्ययन सकेर सन् २००१ मा नेपाल फर्के । त्यतिवेला उनले कोशी अञ्चल अस्पतालबाट एक वर्षे इन्र्टनसिप पुरा गरे । अनि विराट हस्पीटल एण्ड रिसर्च सेन्टरमा पार्ट टाइम काम थाले । विपी मेमोरियल धरानमा उनले झण्डै ६ महिना काम गरे ।

नेपालका विभिन्न अस्पतालहरुमा काम गर्दै अनुभव संगालेका प्रवीनलाई सन् २००३ मा रसियाबाट एउटा छात्रवृति आयो । विराट हस्पीटल अन्र्तगत आएको छात्रवृतिमा प्रविन पाँच बर्षे कोर्ष एम एस गर्न रसिया पुगे । उनले त्यहाँ यूरोलोजी (पिसाब र किड्नी) मा एमएस गर्दै थिए । करिब २ वर्ष यूरोलोजी अध्ययन गरिसकेका प्रविन घरपरिवारबाट विवाहको कुराकानी चलेपछि नेपाल फर्किए । नेपालमा उनकी आमाको साथीकी छोरीसँग विवाहको प्रसंग चल्दै थियो । प्रविनले पनि हुनेवाला आफ्नी जीवनसंगीनीलाई भेटेर कुराकानी गरे । दुवैजनाको मन मिलेपछि अन्ततः परिवारको मञ्जुरीमा सन् २००५ मा प्रविनले सुनीतासँग लागनगाँठो कसे । विवाहपछि केही समय प्रवीनले विर अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा जनरल सर्जरी विभागमा काम गरे ।

विवाहपछि प्रवीनको जीवनले अर्कै मोड लियो । उनकी जीवनसंगीनी सन् २००१ मा अस्ट्रेलियामा एमबिए गर्न आईसकेकी थिइन् । पढाई सकेर एटिओमा सरकारी जागिर खाएकी सुनीता अस्ट्रेलियातिर स्थापित भैसकेकी थिइन् । भर्खर विवाह बन्धनमा बाधिएकी जीवनसंगीनीलाई छोडेर एक्लै रसिया जान उनको मनले मानेन । अनि एमएसको पढाईलाई प्रविनले यहि ब्रेक लगाए । जिन्दगीमा केही पाउन केही गुमाउनु पर्छ भने झैं प्रवीनको एमएसको पढाई अधुरैं रह्यो । विवाहको केही महिनापछि सन् २००५ मा आफ्नो जीवनसंगीनी भेट्न अस्ट्रेलिया आइपुगे ।

अस्ट्रेलियाको यात्रा
भनिन्छ, जीवनमा लेखेको पाइन्छ, देखेको पाइदैन् । सुनीतासँग लगनगाँठो कसेका प्रविनको यात्रा अचानक अस्ट्रेलियातिर मोडियो । यता सुनीता व्यवस्थित तबरले अस्ट्रेलियामा जमिसकेकी कारण प्रवीनलाई अस्ट्रेलियामा खासैं सर्घष गर्नु परेन । साथीभाई अनि जीवनसँगीको हौसला र सहयोगका कारण प्रविनले आजसम्म जीवनमा पछाडि फर्केर हेर्नु परेको छैन् । यस अर्थमा प्रविन आफूलाई निकै भाग्यमानी ठान्छन् ।
तर प्रवीनले आफ्नो योग्यतालाई अस्ट्रेलियाली मान्यता सरह पाउन भने केही मिहिनेत नैं गरे । शुरुमा उनले अलेक्जेण्डरियामा कार्डियो टेक्नीसियन भएर काम थाले । करिब डेढ वर्ष काम गरेपछि उनी लिभरपुल अस्पतालमा आफ्नो मेडिकल करियर शुरुवात गरे । त्यहाँ झण्डै एक वर्ष विताए । सन् २००८ मा उनी वागावागा भन्ने ग्रामिण ठाउँमा जनरल प्राक्टीसियनको अनुभव बटुल्न पुगे । त्यहाँ उनले Estella Medical and Dental Centre मा काम थाले । त्यतिवेला उनले आफ्नो जीवनसंगीनी र सानी छोरीलाई सिड्नीमा नै छोडेर ग्रामिण भेगमा काम गर्न पुगे । त्यहाँ काम गर्दागर्दै प्रवीनले सिड्नी विश्वविद्यालयबाट डिप्लोमा अफ चाइल्ड हेल्थ (DCH ) पनि सके ।
उनले करिब ३ वर्ष वागावागामा विताएरे अस्ट्रेलियन डाक्टर सरह मान्यता पाउन तीन वटा परिक्षा पास गरे । अस्ट्रेलियन मेडिकल काउन्सिलको पहिलो परिक्षामा उनी ३ सय परिक्षार्थी मध्ये उत्कृष्ट २० मा पर्न सफल भएका थिए भने आफ्नो क्षेत्रबाट सर्वोत्कृष्ट नम्बर ल्याउन सफल भए । Screen Shot 2016-03-13 at 8.09.33 PM
जीवनमा परिश्रमको फल मिठो हुन्छ भने झैं प्रवीनले सन् २०११ मा ँच्ब्ऋन्ए सके । सन् २०११ देखि हालसम्म प्रविन Rouse hill Town Medical Centre मा जनरल प्राक्टीसियनको रुपमा कार्यरत छन् । बच्चादेखि पाका उमेरका विरामीसँग पारिवारिक वातावरणमा उपचार गर्नु, उचित राय सुझाव सल्लाह दिनु उनको दिनचर्या नै हो । कहिलेकाही नेपालीहरु समेत उनले काम गर्ने क्लिनिकमा सेवा लिन आउँदा प्रवीनको मन आनन्दित हुन्छ । आफ्नो कामप्रति उनी गौरब अनुभूति गर्छन् ।

समाजसेवा र जीवन
समाजसेवामा रमाउँन पाउँदा प्रविनको मन निकंै फुरुङ हुन्छ । प्रवीन भन्छन्– आमाकैं श्रय र प्रेरणाबाट मलाई यस क्षेत्रमा लाग्ने रुचि बढेको हो । उनकी आमाको पनि धर्मकर्म र समावसेवामा निकै लगाव छ । कहिलेकाही त उनी आफ्नो काम भन्दा समाजसेवालाई प्राथमिकतामा राख्न रुचाउँछन् । नेपालबाट अस्ट्रेलिया भ्रमण आएका अभिभावकहरुलाई वेलावेलामा उनी लगायत उनको ANMDA संस्थाले निशुल्क स्वास्थ्य परिक्षण समेत गर्दै आएकोे छ । प्रवीन ANMDA का एनएसडब्लुका संयोजक छन् । साथै उनी शब्दमालामा समेत आबद्ध छ ।
नेपालमा भूकम्प गएको तेस्रो दिन ANMDA का प्रतिनिधिहरु नेपाल पुगेर हेल्थ क्याम्प नै चलाए । कहिलेकाही उनी नेपालबाट आएका अभिभावकहरुको हेल्थ इन्सुरेन्स नभए पनि स्वास्थ्यमा केही खराबी देखिए निशुल्क परिक्षण गरिदिन्छन् । हालसालै एक अभिभावकको समस्या देखिएपछि परिक्षण गर्दा क्यान्सर रोग फेला पारेको अनुभव सुनाउँछन् उनी । तर क्यान्सर रोगको पहिलो स्टेज भएकाले समयमा नै रोग निको भएपछि अभिभावकको अनुहारमा झल्किएको खुसी उनी कहिल्यै विर्सन सक्दैनन् ।
सन् २००५ मा सुनीतासँग मागी विवाह गरेका प्रवीनका दुई छोरीहरु रिचा र सौर्या छन् । आफ्नो सफलताको श्रेय आफ्नी आमा र जीवनसंगीनी सुनीतालाई दिन्छन् प्रवीन । सुनीता पनि नारी निकुञ्जमा आबद्ध रहेर नेपाली समुदायमा सक्रिय छिन् । साथै उनी विगत १० वर्षदेखि अस्ट्रेलियन ट्याक्टेसन अफिसमा कार्यरत छिन् । प्रविन नेपाल गएका बखत व्यक्तिगत रुपमै भएपनि गाउँले विरामीलाई निशुल्क परिक्षण गर्ने, औषधीदिने काम गर्दै आएका छन् । उनी भन्छन्– हामी नेपाली जहाँ बसेपनि जन्मभूमिको लागि सबैले आ–आफ्नो ठाउँबाट केही न केही सहयोग गर्न सक्छौं । family whole
जीवन भनेको सुखदुखको संगम पनि हो । तर मेरो लागि जीवन रातमा राम्रोसँग निदाउन सक्नु पनि हो । समाजिक कार्यमा लाग्दा पाउँने खुसी र उर्जा अरुसँग तुलना गर्नै नसकिने बताउँछन् प्रविन । भन्छन्– धनसम्पत्तिले मानिस कहिल्यै सुखी रहन सक्दैन् । सुखी रहन त केवल मन सफा अनि पारिवारिक माया चाहिन्छ । भविष्यमा प्रवीन आफ्नै निजी क्लिनिक खोल्ने योजनामा छन् । निजी क्लिनिक खोल्न सकियो भने नेपाली समुदायलाई अझ बढी सेवा र सहयोग गर्न सकिने उनको विश्वास छ । सफल जीवनको लागि कर्मशिल भएर मिहिनेतका साथ अगाडि बढ्नुपर्ने सुझाव दिन्छन् उनी । फुर्सतको वेला साथीभाई र परिवारसँग रमाउन चाहने प्रवीन भन्छन्– कर्म गरेपछि फल अवश्य पाइन्छ ।


NEPAL NEWS Team
330 views

सम्बन्धित समाचारहरु