सिड्नी वाटरका वरिष्ठ योजनाकार गौतम


  • January 11, 2016


सिड्नी वाटरका वरिष्ठ योजनाकार गौतम

कृष्ण तिवारी
अस्ट्रेलियाली नेपाली समुदायमा चिनिएका व्यक्तित्व हुन् हर्ष गौतम । करिब चौविस वर्षदेखि अस्ट्रेलियालाई आफ्नो कर्मभूमि बनाउदै आएका गौतम पेशाले वरिष्ठ इन्जिनियर हुन् । झण्डै २२ वर्षदेखि निरन्तर सिड्नी वाटरमा वरिष्ठ योजनाकारको रुपमा काम गरिसेकेका गौतमले जीवनमा धेरै अनुभव हासिल गरे । देश विदेशको अध्ययन, ज्ञान र कामको अनुभवलाई युवा पुस्ता माँझ सिकाउने र सिक्ने काममा उनी सदैव अग्रसर नै रहे ।
दाङको हापुर साइपुरदेखि काठमाडांै अफ्रिकाको तान्जानिया हुदैं अस्ट्रेलियासम्मको जीवन यात्रामा अवसर र चुनौतिलाई पछ्याउँदैं गौतमका पाइला अस्ट्रेलियामा रोकिएका छन् । जीवनका आरोह र अवरोहसँगै अनगिन्ती अनुभव सगाल्दैं अगाडि बढेका गौतम आफ्नो जीवनप्रति खुसी छन् ।
सामाजिक कार्यमा समेत अग्रसर रहन रुचाउने गौतम हेल्प नेपाल नेटवर्क सिड्नी च्याप्टरका संयोजक समेत हुन् ।
दाङ जिल्लाको हापुर साईपुर गाउँमा मध्यम परिवारमा जन्मिएका गौतमका परिवारमा ६ जना दाजुभाई दिदीबहिनी मध्ये जेठो छोरा थिए ।
बुवा दामोदर गौतम, गोश्चरा कार्यालयमा जागिरे थिए । शिक्षित परिवारमा जन्मेका गौतमले अध्ययनको लागि घरमा अनुकुल वातावरण पाए । साईपुरबाट कृष्णपुरमा बसाई सरेपछि गौतमले प्रारम्भिक शिक्षा त्यहीबाट लिए । पछि बुवाको जागिर घोराही सरुवा भएपछि कक्षा ९ र १० पद्मोदय पब्लिक बहुउद्वेश्यीय विद्यालयबाट सके । घोराहीमा सरुवा भएपछि गौतमको बुवा जेलमा जेलर समेत बने । गौतमका बुवा जेलर हुँदा मोहन वैद्य त्यहीको जेलमा राजनितिक बन्दी जीवन बिताउँदै थिए ।
वि.सं २०२६ सालमा एसएलसी दोस्रो श्रेणीमा पास गरेका गौतम पढाईमा मध्यम स्तरमा गनिन्थ्ये । गौतम एसएलसी पास भएपछि दाङबाट पाँच दिन लगाएर उच्च शिक्षाको लागि काठमाडौं पुगे । यातायात तथा संचारको विकास नभएका कारण त्यतिवेला राजधानी आऊजाऊ गर्न निकै मुश्किल थियो । अस्कल क्याम्पसमा भर्ना भएका गौतमले फिजिक्स विषय लिए । यता बुवाको चाहना भने बायोलोजी लिएर डाक्टर बनोस् भन्ने थियो । विसं २०२८ सालमा उनले दास्रो श्रेणीमा आइएस्सी पास गरे । पढाईमा लगनशील र मिहिनेती भएपनि गौतमले आइएस्सीसम्म खासै राम्रो अंक हासिल गर्न भने सकेनन् । बिएस्सीका लागि उनी त्रिचन्द्र क्याम्पस पुगे । बिएस्सीमा उनको पढाईले कायापलट नै गर्यो । उनी नेपालभरिबाट चांैथो स्थान ल्याउन सफल भए । Harsha Gautam
त्यतिवेला राम्रो अंक ल्याएका विद्यार्थीहरुका लागि उच्च शिक्षाका लागि कोलोम्बो प्लान पाउने अवसर थियो । बिएस्सीको लागि चार वटा सिट आउने गर्दथ्यो । गौतमले प्लानमा जाने उत्सुकता देखाएनन् बरु उनी गाउँकै एउटा स्कुलमा पढाउन थाले । साथीहरु आफु छनौटमा पर्न गौतम नगइदिए हुन्थ्यो भन्ने कामना गर्दथ्ये ।
विसं २०३२ सालमा गौतम फेरि काठमाडौं आए । अनि किर्तिपूरमा तथ्थाङक शास्त्रमा एमए भर्ना भए । त्यतिवेला तत्कालिन धीरेन्द्र सरकार जोग्राफी विभागमा अध्ययन गर्दथे । २०३२ सालमा विद्यार्थीहरुको आन्दोलन सुरु भयो । आन्दोलनले गौतमको पढाई पनि विथोलिन पुग्यो । अब उनी विदेश जाने सोच बनाए । पछि फेरि कोलोम्बो प्लान अन्र्तगत नै गौतम इन्जिनियरिङ अध्ययनका लागि रिजनल इन्जिनियरिङ कलेज कुरुक्षेत्र गए । करिब पाँच वर्षको अध्ययन सकेर उनी नेपाल फर्किए ।
शैक्षिक योग्यता भएपछि गौतम सरकारी जागिरतिर लोभिए । सँगै पढेका आफुसहित तीन जना साथीहरुले सरकारी जागिरको लागि इरिगेसन विभागमा आवेदन दिए । अरु साथीहरु भन्दा गौतमको शैक्षिक योग्यतामा अंक उच्च थियो । तर अपशोच दुई जना साथीहरुको नाम निस्कियो तर गौतमको नाम भने निस्किएन । यो घट्नाले गौतमलाई सरकारी जागिरप्रति नै वितृष्णा बढ्यो । विस्तारै मनमा सरकारी जागिर नै नखाने सोच बनाउन थाले ।
केहि समयपछि उनी कृषि अनुसन्धान केन्द्र एप्रोसमा रिर्सच प्रोजेक्टमा काम थाले । करिब २ वर्ष उनले सडक विस्तार, साना सिंचाई तथा खानेपानीमा प्लानिङ गर्ने जिम्मेवारी पाए । काम गर्दागर्दै गौतमलाई मास्टर्स गर्न मन लाग्यो । त्यहाँ काम गरेपछि छात्रवृत्ति पाउन केहि सजिलो थियो । उनी सन् १९८२ मा एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीमा (एआइटी) मास्र्टस गर्न बैंकक पुगे । त्यहाँ उनले मास्टर्स इन वाटर रिसोर्स इन इन्जिनियरिङ पढे । सन् १९८३ मा मास्टर्स सकेर नेपाल फर्के । नेपाल फर्केपछि एप्रोसमै काम गर्नु पर्ने भयो । तर उनी नेपाल विद्युत प्राधिकरणमा छिरे । अनि पछि विद्युत प्राधिकारणबाट इरिगेसन विभाग अन्र्तगत हाइड्रोलोजी एण्ड मेट्रियोलोजी विभागमा जिम्मेवारी पाए । त्यहाँ कार्यरत रहँदा गौतमले हाइड्रो प्रोजेक्ट अरुण– तेस्रो, काली गण्डकी दोस्रोको प्रारम्भिक अध्ययन समेत गरे ।
केहि वर्ष नेपालमै रमाएका गौतमलाई अब भोलिन्टीयर काम गर्न मन लाग्यो । उनी युनाइटेड नेसनको “एफएओ” प्रोजेक्टमा काम गर्न सन् १९८७ मा पूर्वी अफ्रिकाको तान्जानियामा पुगे । उनले अफ्रिकाका किसानहरुसँग मिलेर काम गरे । इरिगेसन प्रोजेक्ट अन्र्तगत गौतमले त्यहाँका किसानहरुलाई कुलो बनाउने, पानीको अध्ययन गर्ने, तथा कृषि उत्पादन बढाउनेतिर अग्रसर भए । पहिला आफु मात्रै अफ्रिका हानिएका गौतम केहि समयपछि उनकी श्रीमतीले पनि सोही प्रोजेक्टमा भोलिन्टीयरको रुपमा काम शुरु गरिन् । श्रीमान–श्रीमती नै स्वयंसेवी कामका लागि तान्जानिया पुगे । तान्जानियाको मोसीमा करिब २ वर्ष काम गरे । अनि नेपाल फर्के । नेपाल फर्केपछि सोचेजस्तो जागिर पाउन मुश्किल नै भयो । अनि फेरी यूएन कै त्यही प्रोजेक्टमा दोस्रो पटक अफ्रिका पुगे ।

अस्ट्रेलियाको यात्रा
जीवनका उकाली ओरालीहरुमा गौतमले आर्जन गरेका ज्ञान, सीप र कार्यअनुभव साच्चै अनगिन्ति थिए । अफ्रिकामा काम गर्दागर्दै उनले अस्ट्रेलियाले स्कील माईग्रेसन अन्र्तगत दक्ष जनशक्ति भित्रयाएको सुने । यो कुराले उनको मनमा पनि चासो पर्यो । अनि जीवनको बाटोलाई मोड्दै सन् १९९२ मा गौतम स्कील माइग्रेसन अन्र्तगत सपरिवार अस्ट्रेलिया आइपुगे ।
सुरुवातका केही दिनहरु जागिरकै खोजीमा व्यस्त रहे । तर आएको २÷३ महिनामा नै उनले त्यसवेला ल्याण्ड एण्ड वाटर कन्जरभेसन विभागमा काम थाले । ज्ञान, सीप र कामको अनुभवले खारिएका गौतमलाई आफ्नो क्षेत्रमा काम पाउन खासै गाह्रो भएन । सन् १९९४ देखि उनी सिड्नी वाटरमा काम थाले । सुरुमा हाइड्रोग्राफिक डिभिजनमा काम सुरु गरेका गौतमले पछि प्लानिङ क्षेत्रमा आए ।
झण्डैं २२ वर्षदेखि उनी सिड्नी वाटरमा वरिष्ठ योजनाकार तथा मोडेलरको रुपमा कार्यरत छन् । उनको काम भनेकै नयाँ–नयाँ ठाउँमा निर्माण पूर्वाधारहरुसँगै ढल निकास, खानेपानीको प्रारम्भिक अध्ययन गर्नु, योजना बनाउनु अनि विकासका पूर्वाधारहरु तयार गरिदिनु हो ।
अहिले न्यू साउथ वेल्समा हाउजिङ कम्पनीहरुको व्यवसाय फस्टाउँदो छ । करिब ४ दशमलब ५ मिलियन जनसंख्यालाई उचित खानेपानीको व्यवस्था, ढलनिकासको योजना उनी कार्यरत सिड्नी वाटरले गर्दै आएको छ । बरिष्ठ योजनाकार गौतमले जीवनमा आर्जन गरेको ज्ञान, अनुभव र कार्यदक्षता सिड्नी वाटरलाई निरन्तर पस्कीरहेका छन् ।

लामो समय एउटै क्षेत्रमा काम गरेर विशिष्ट ज्ञान हासिल गरेका गौतम आफ्नो कामप्रति गौरब गर्छन । उनी आफुले सिकेका ज्ञान र अनुभवलाई नयाँ पुस्तालाई सिकाउँदै नयाँ–नयाँ प्रविधिको प्रयोगमा आफुलाई घुलमिल गराउन पाउँदा औधी खुसी हुन्छन् ।
खानेपानी र उचित ढल निकास विकासका सूचक मानिन्छन् । यहाँ हुने कामको समन्वय देख्दा उनी नेपाललाई झलक्क सम्झन्छन् । नेपालमा सरकार र निर्माण कम्पनीहरु बिच समन्वय तथा प्रारम्भिक योजनाका अभावका कारण सडक विभागले आज कालोपत्रे गरको सडक खानेपानी विभागले भोली खनेर पानीको पाइप बिछ्याउँछ । अनि करौडौ रुपैयाँमा बनाएको बाटो कुरुप बन्छ । यस्ता साना–तिना कुराहरुमा सरकार गम्भिर नभएको देख्छन् उनी । सरकारसँग इच्छाशक्ति हुने हो भने यी समस्या समाधानमा समस्या नहुने तर्क गौतमको छ ।
आफुले विदेशमा आर्जन गरेको सीप र अनुभवलाई नेपालमा साटासाट गर्न चाहन्छन् उनी । तर सरकारसँग यस्तो वातावरणको सहजीकरणको लागि कस्ले पहल गरिदिने भन्ने विषयमा अन्योलमा छन् । नेपालमा पनि अस्ट्रेलियामा जस्तै विकासका पूर्वाधारहरु तयार पार्न पाए भविष्यमा नयाँ पुस्ता खानेपानी तथा ढल निकासका समस्याबाट चिन्तित हुनु नपर्ने उनी बताउछन् ।
समाजसेवा र जीवन
समयले भ्याएसम्म उनी सामाजिक कार्यमा घुलमिल हुन रुचाउँछन् । अस्ट्रेलियाको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोशियसनमा आवद्ध रहेर सन् १९९२ मा कोषाध्यक्षको रुपमा काम गरे । त्यतिवेला नेपाली समुदाय निकै सानो थियो । नेपाली चाडपर्व दशैतिहारमा एक आपसमा मिलेर मनाउन यहि संस्था मार्फत नेपालीहरु एउटा घरमा जम्मा हुन्थ्ये अनि नाचगान गरि रमाइलो गर्दथे । एनआरएनमा राजनीति हावी भएकै कारण एनआरएनप्रति उनको चाहना पटक्कै छैन ।
उनी भन्छन्– “समाजिक सेवाको लागि संघ संस्थामा आवद्ध हुनु नै पर्छ भन्ने छैन । व्यक्तिगत रुपमा पनि दुख परेका नेपाली समुदाय र जन्मभूमिलाई सहयोग गर्न सकिन्छ ।”
सन् २००३ बाट उनी हेल्प नेपाल नेटवर्क सिड्नी च्याप्टरको कोर्डिनेटर रहेर काम गरेका छन् । प्रवासमा रहेका नेपालीहरुबाट महिनाको एक डलर अभियान अन्र्तगत हेल्प नेपालले नेपालका दुर्गम ठाउँहरुमा शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ ।
जीवनलाई गौतम समयको प्रवाहसँग एउटा अविरल यात्राको रुपमा लिन्छन् । उनको परिभाषामा जीवन अनुभव सँगाल्ने एउटा अवसर पनि हो । जीवनको गोरेटोमा कयौं साथीहरु भेटिन्छन् कोहीले अलि परसम्म साथ दिन्छन् तर कोही छोटो यात्राका क्रममा नै टाढिन पुग्छन् ।
जीवनमा लगनशील भएर दृढताका साथ आफ्नो मार्गमा लम्कियो भने सफलता हात पार्ने उनको अनुभवले सिकाएको छ । उनी व्यक्तिगत उपलब्धिमा बढी विश्वास राख्छन् । जीवनमा आफुले गरेका उपलब्धिलाई आलोचनात्मक सोचबाट पनि हेर्न सक्नुपर्ने गौतम बताउँछन् ।
गौतम सन् १९८२ मा काठमाडौं निवासी रचना शर्मासँग विवाहबन्धनमा बाँधिए । उनको यो मागी विवाह थियो । गौतमकी जीवनसंगीनी रचना पनि नेपाली समुदायमा सहभागी हुन रुचाउँछिन् । रचनाले करिब १० वर्ष बालवालिकाको क्षेत्रमा काम गरिन् । हाल उनी राज्य सरकार अन्र्तगत डिपाटमेन्ट अफ फेमली एण्ड कम्युनिटी सर्भिसमा कार्यरत छिन् ।
गौतम दम्पत्तिका छोरी अनिसा र छोरा अचल छन् । अनिसा भर्खरै जेण्डर स्टडीमा पिएचडी सकेकी छिन् भने अचल म्याथमेटिक्समा ग्रयाजुएट डिग्री सकेका छन् । फुर्सतको वेलामा घरपरिवार र साथीभाइहरुसँग रमाउँन चाहने गौतम अध्ययनका सौखिन छन् ।


NEPAL NEWS Team
344 views

सम्बन्धित समाचारहरु