इन्धन खरिद सम्झौतामा ढिलाइ


  • December 18, 2015


इन्धन खरिद सम्झौतामा ढिलाइ

काठमाडौं । उपप्रधानमन्त्री कमल थापा एक सातापछि चीन भ्रमणमा जाँदै छन् । भ्रमण मूलतः चीनबाट इन्धन खरिदका लागि सम्झौतामा केन्द्रित हुनेछ । थापाले चीनको उच्च राजनीतिक तहमा वार्ता गरेपछि इन्धनको मूल्य तय हुने र त्यसैमा सम्झौता भर पर्ने परराष्ट्रसम्बद्ध अधिकारीले बताए । सरकारले चीनबाट इन्धन ल्याउने बताइरहे पनि खरिदका लागि व्यापारिक सम्झौता गर्ने अवस्थामा पुगेको छैन । दुई महिनाअघि चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको नेतृत्वमा चीन गएको वाणिज्य मन्त्रालय तथा नेपाल आयल निगमसहितको टोलीले चीनसँग नेपाललाई चाहिने एकतिहाइ इन्धन खरिद गर्ने ‘फ्रेमवर्क एग्रिमेन्ट’ गरेको थियो । तातोपानी नाकापारिको बाटो सहज हुने–नहुनेमा चिनियाँ पक्षले नेपाललाई अझै आधिकारिक जवाफ दिएको छैन । चिनियाँ पक्षले भूकम्पका कारण एउटा डाँडो नै तीन मिटर भास्सिएकाले त्यो क्षेत्रमाथिको खतरा कायमै छ भन्ने जानकारी सरकारलाई गराएको छ । यसबारे चीनका विभिन्न निकाय सम्मिलित प्राविधिक टोलीले एक महिनाअघि संयुक्त अध्ययन गरेको र त्यसको विवरणका आधारमा यातायात सुचारु हुने कि नहुने भन्नेबारे चीनले निर्णय लिने कूटनीतिक स्रोतले बतायो । त्यो निर्णयका लागि कति पर्खिनुपर्ने भन्ने यकिन छैन । ‘यदि त्यो ठाउँ सडक यातायातका लागि उपयुक्त छैन भन्ने विवरण आयो भने हामीलाई झनै अप्ठेरो छ,’ परराष्ट्र स्रोतले भन्यो, ‘तर, त्यस्तो विवरण आएन भने हाम्रा लागि अहिलेलाई सबैभन्दा सहज बाटो त्यही हो ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।


NEPAL NEWS Team
202 views

सम्बन्धित समाचारहरु