Thursday, December 7, 2023

सप्तरीमा गएराती गोली लागेर दुई आन्दोलनकारीको मृत्यु


  • November 22, 2015


सप्तरीमा गएराती गोली लागेर दुई आन्दोलनकारीको मृत्यु

काठमाडौं । सप्तरीमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी गाढा–९ का वीरेन्द्र राम र जमुनी मधेपुर–७ का नागेश्वर यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। रातीको सवारी स्कर्टिङ रोक्न गाउँ गाउँबाट राजमार्गमा भेला भएका आन्दोलनकारी र सुरक्षाकर्मीबीच सप्तरीको भारदह र रुपनीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको हो। घरेलु हतियारसहित राजमार्गमा प्रदर्शन गरिरहेका आन्दोलनकारी प्रहरीमाथि जाइलागेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरीको भनाइ छ। झडपमा परी रुपनीमा १० र भारदहमा १० आन्दोलनकारी घाइते भएको जानकारी उनले दिए। उनीहरुको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। मधेसी मोर्चा, थरुहट थरुवान संयुक्त संघर्ष समिति र मुस्लिम संघर्ष गठबन्धनले शनिबार रातिको स्कर्टिङ रोक्न राजमार्गको सप्तरी खण्डमा चार ठाउँ अवरोध गर्ने कार्यक्रम घोषणा गरेको थियो। सोहीअनुसार मोर्चाले भारदह, रुपनी, विसनपुर, र कदमाहामा दिउँसैबाट गाउँका मान्छे राजमार्गमा जम्मा गर्न थालेका थिए। सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल कुमार ठाकुरका अनुसार बिहानैबाट सप्तरीको भारदह क्षेत्रमा आन्दोलनकारीको रवैया उग्र थियो। राति आन्दोलनकारीसँग संख्या बढी भएको लाभ उठाउँदै प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले अश्रु ग्याँस प्रहार गरी भीड तितरबितर पारेको थियो। प्रहरीले स्कर्टिङ गराउनुपूर्व राति करिब ११ बजे राजमार्गमा धर्ना बसेका आन्दोलनकारीलाई हटाउने क्रममा प्रहरी आन्दोलनकारीबीच झडप भएको थियो।


NEPAL NEWS Team
188 views

सम्बन्धित समाचारहरु