सिड्नी । एनआरएन अष्ट्रेलियाले नोभेम्बर २० तारिख शुक्रबार साँझ ५ बजे सिड्नीको मार्टिन प्यालेस लगायत अष्ट्रेलियाका विभिन्न राज्यमा गर्न लागिएको भारतीय नाकाबन्दीको विरोध प्रदर्शनको तयारी पुरा भएको छ । अबर्नस्थित प्यासिफिक कलेजमा नेपाली समूदायका विभिन्न संघ, संस्था तथा अग्रजहरुसँग छलफल गरी कार्यक्रम सफल बनाउन एनआरएनए एनएसडब्लुका सचिव भुपाल सिटौलाको संयोजकत्वमा एक सय एक सदस्यीय स्वयंसेवक परिचालन कमिटी गठन गरिएको एनआरएन न्यूसाउथवेल्सका संयोजक दिनेश पोखरेलले नेपाल न्युज अस्ट्रेलियालाई बताए ।
उक्त विरोध कार्यक्रममा विभिन्न दश वटा नाराहरु तय गरि प्ले कार्डमा प्रर्दशनी गरिने भएको छ । करिब एक घण्टाको विरोध कार्यक्रम पश्चात कार्यक्रमको समापन गरिनेछ । उक्त स्थानमा नाकाबन्दी विरुद्ध हस्ताक्षर संकलन कार्य समेत गरिने पोखरेलले बताए ।
। कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनका युथ कोअर्डिनेटर विजय पोखरेल, एनआरएन ओसेनिया क्षेत्रीय संयोजक महेन्द्र लम्साल, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष विनोद श्रेष्ठ, नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका दिनेश जोशी, नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका प्रतिनिधि शरद खरेल, नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसनका कोमल पाठक, झापाली समाज अस्ट्रेलियाका सचिव रुपक मैनाली, चितवन समाज अस्ट्रेलियाका उपाध्यक्ष छवि सापकोटा लगायतले एनआरएनए अस्ट्रेलियाको विरोध कार्यक्रमका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सिड्नी लगायत मेलवर्न, व्रिसवेन र एडिलेटमा पनि सोही दिन एकै समयमा विरोध कार्यक्रम राखिएको छ ।
सिड्नी लगायत विभिन्न राज्यमा गरिएको हस्ताक्षरलाई अर्को हप्ता क्यानवेरा स्थित भारतीय दुतावासमा बुझाइने पोखरेलले नेपाल न्युज अस्ट्रेलियालाई जानकारी दिए । एनआरएनए एनएसडब्लुका संयोजक दिनेश पोखरेलको संयोजकत्वमा सम्पन्न छलफल कार्यक्रममा पोखरेलले सबै नेपाली समुदायलाई विरोध कार्यक्रममा आ–आफ्नो उपस्थिति जनाइदिनु हुन पनि अनुरोध गरेका छन् ।