सिड्नी । नेपाली कथानक चलचित्र बाटो मुनिको फूल २ को प्रिमियर शो अस्ट्रेलियाको मेलवर्नमा आउँदो डिसेम्बर ६ तारिख भिलेज सिनेमा हलमा तथा सिड्नीमा डिसेम्बर १२ तारिख इभेन्ट सिनेमा हल बरउडमा हुने भएको छ । नेपाली समाजमा घटेका सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण गरिएको उक्त चलचित्र सुर्वण थापाले निर्देशन गरेका छन् । भने गायक यश कुमारले नायकको भूमिकामा आफ्नो ससक्त प्रस्तुति देखाएका छन् ।
मेलवर्न निवासी बुद्ध ट्राभल्स एण्ड टुरका निर्देशक भिम न्यौपानेले समेत उक्त चलचित्रमा एउटा गाउँले परिवेशमा आफ्नो कुशल अभियन प्रस्तुत गरेका छन् । अस्ट्रेलियाका अन्य राज्यहरु व्रिसवेन, एडिलेड, पर्थ र ताजमिनिया समेत डिसेम्बरको अन्ततिर सो चलचित्र प्रर्दशनी गरिने न्यौपानेले नेपाल न्युज अस्ट्रेलियालाई बताए । नेपाली चलचित्रलाई प्रवासमा भित्रयाएर नेपाली कला, संस्कृतिलाई नयाँ पुस्ता माँझ परिचित गराउन र नेपाली कलाकारलाई सम्मान गर्न पनि यस्ता चलचित्र सहयोगी हुने न्यौपानेले बताए । अस्ट्रेलिया पछि उक्त चलचित्र युरोप र अमेरिकामा समेत प्रर्दशन गरिनेछ ।
सो चलचित्रको प्रिमियर शो रेड कार्पेटका दिन नायक तथा गायक यश कुमारको सुमधुर गीतहरु प्रत्यक्ष समेत सुन्न सकिनेछ । चलचित्रका अन्य कलाकारहरुमा दिलिप रायमाझी, अर्पण थापा, रिमा विश्वकर्मा, रिचा शर्मा, बाबु बोगटी, गणेश उप्रेती, शुभद्रा अधिकारी, टिका पहाडी,आसिष्मा नकर्मी लगायतको भूमिका रहेको छ । उक्त प्रिमियर शो मा सबै नेपाली समुदायलाई उपस्थिति जनाइदिनु भई नेपाली कला, संस्कृतिको जर्गेनामा थप पहल गरिदिन न्यौपानेले आग्रह गरेका छन् । एएलपी इन्टरटेनमेन्ट तथा बुद्ध ट्राभल एण्ड टूरको संयुक्त पहलमा उक्त चलचित्र अस्ट्रेलिया भित्रिएको हो । यस अघि सन् २०१० मा निर्मित “बाटो मुनिको फूल” फिल्मले नेपाली दर्शकहरुको मन जित्न सफल भएको थियो ।