Saturday, December 2, 2023

कोइराला–वान भेटवार्ताः नाकाबन्दीप्रति राष्ट्रसंघ ‘संवेदनशील’


  • November 15, 2015


कोइराला–वान भेटवार्ताः नाकाबन्दीप्रति राष्ट्रसंघ ‘संवेदनशील’

न्युयोर्क । राष्ट्रसंघका महासचिव वान कि मुनले नेपालले बेहोरिरहेको भारतको अघोषित नाकाबन्दीप्रति आफू संवेदनशील रहेको बताएका छन् । राष्ट्रसंघीय मुख्यालयमा बिहीबार नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तामा महासचिव वानले नेपालको पछिल्लो स्थितिप्रति राष्ट्रसंघले ‘फलोअप’ गरिरहेको जानकारी गराएको आजको कान्तिपुर दैनिकले समाचार प्रकाशित गरेको छ ।

भेटवार्तामा सहभागि नेपाली टोलीका अनुसार महासचिव वानले नाकाबन्दीका कारण नेपालले भोगिरहेको मानविय संकटप्रति चिन्ता व्यक्त गर्दै भुपरिवेष्ठित मुलुकका रुपमा नेपालले पाउनुपर्ने स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका थिए । गत बुधबार मात्र पत्रकार सम्मेलनमार्फत महासचिवका प्रवक्ता स्टेफेन डुजरिकले नेपालको पछिल्लो परिस्थितिबारे बानको अभिव्यक्ति सार्वजनिक गरेका थिए । भेटवार्तामा पनि ‘स्टेटमेन्ट’ मा झै बानले आफ्ना भनाई कोइारालासमक्ष राखेका थिए । कोइरालाका परराष्ट्र मामिलासम्बन्धी पूर्वसल्लाहकार डा। दिनेश भट्टराईले भने, ‘महासचिव बानले नेपालको संकट समाधानका लागि आफू लागिपरेको बताउनुभयो ।’

नेपाल ऐतिहासिक संविधान निर्माण गर्न सफल रहेकोमा कोइरालालाई बधाईसमेत दिएका महासचिवले नाकाबन्दीको विषयमा आफूले के मद्दत गर्न सक्छु भन्दै जिज्ञासा राखेको भट्टराईले बताए । प्रत्युत्तरमा कोइरालाले नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघ र बान नेतृत्वको प्रशंसा गर्दै सबै पक्षलाई समेटेर र कसैलाई पनि नचिढाएर समस्या समाधान गरिनुपर्ने विचार राखेका थिए ।

कोइरालाले भारतको पछिल्लो व्यवहारले आफू नाजवाफ भएको टिप्पणीसमेत गरे । परराष्ट्र मामिलासम्बन्धी पूर्वसल्लाहकार भट्टराईले कोइरालाको भनाई उधृत गर्दै भने, ‘भूकम्पको ठूलो विनाशमा सबभन्दा छिटो त्यत्रो ठूलो सहयोग गरेको छिमेकीले अहिले यसो गर्दा म स्तब्ध छु र मेरो बोली नै बन्द भएको छ ।’

नाकाबन्दीले कुनैपनि पक्षको स्वार्थलाई हित नगर्ने कोइरालाको भनाई थियो । नेपालमा भारतको अघोषित नाकाबन्दीबारे खासै सार्वजनिक अभिव्यक्ति नदिएका कांग्रेस सभापतिले बानसमक्ष भारतसँगको नेपाल सम्बन्ध आफ्नो सरकारको सबभन्दा महत्वपूर्ण प्राथमिकता रहेको स्मरण गरेका थिए ।

भारत नेपालको सबभन्दा महत्वपूर्ण र मूल्यवान छिमेकी रहेको तर्क गरेका कोइरालाले छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउने आफूहरुको प्राथमिक विषय भएको धारणा राखेको एक सहभागिले बताए । आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कार्यबारे महासचिव बानलाई जानकारी दिने क्रममा कोइरालाले कुनै पार्टी विशेषको नाम उल्लेख नगरे पनि अतिवाद अंगालेका पार्टीहरुलाई संविधानको मुलधारमा ल्याउन सफल भएको बताएका थिए । संविधानको सफल कार्यान्वयनका लागि आफ्नो पार्टी सदा सक्रिय र सहयोगी हुने कोइरालाको भनाई थियो ।

महासचिव बानले प्रतिपक्षका रुपमा कोइराला नेतृत्वको भूमिका आगामी दिनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए भने कोइरालाले सरकारको कामकारवाही मूल्याकंनका आधारमा समर्थन र विरोध गरिने बताएका थिए । स्वास्थ्य उपचारका क्रममा गत बुधबार न्युयोर्क आइपुगेका कोइरालाको बुधबार मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्यष् परीक्षण गरिएको थियो । उनको स्वास्थ्य सन्तोषजनक रहेको चिकित्सकले बताएका छन् ।


NEPAL NEWS Team
164 views

सम्बन्धित समाचारहरु