Saturday, August 13, 2022

व्यवहार र आचरण सुधारौं


  • October 27, 2015


व्यवहार र आचरण सुधारौं

दिनेशराज जोशी
जननायक विश्वेश्वरप्रसाद कोइरालाले २००७ सालको क्रान्तिको उद्घोषसँगै प्रारम्भ गर्नुभएको संविधानसभाको सपना ६५ वर्षपछि पूरा भएको छ । हजारौंको बलिदानी तथा लाखौंको त्याग र तपस्याबाट नेपाली जनता आफ्नो संविधान आफंैले बनाउन सफल भएका छन् । विभिन्न षड्यन्त्र र कालखण्डलाई चिर्दै २०७२ असोज ३ गते, हामीले हाम्रा प्रथम राष्ट्रपति डा. रामवरण यादवज्यूबाट संविधान प्रमाणीकरण गर्न सफल भयौं ।
आज, हामी नेपालीले, नेपाली जनताद्वारा नेपाली जनताकै लागि नेपाली जनताद्वारा प्रदत्त संविधान प्राप्त गर्न सफल भएका छौं । विश्वसामु हामीले हाम्रो शिर उँचो पारेका छौं, नेपाल आफ्नो निर्णय आफंै गर्न सक्षम छ भनेर प्रमाणित गरेका छौं । नेपालको नयाँ संविधान जारी भएपछि एकातिर बहुसंख्यक नेपालीहरू खुसीयाली मनाइरहेका छन् भने अर्कोतर्फ तराई क्षेत्र संविधानमा आफ्नो भावना नसमेटिएको भन्दै अशान्त रहेको छ । तराई क्षेत्रका आदिवासी तथा पहाडी क्षेत्रका जनजातिहरूले संविधानमा अपनत्व नदेखेको कारण वर्तमान अवस्था सिर्जना भएको हो । व्यक्ति वा समुदायको समाजमा आफ्नै छुट्टै छाप र पहिचान हुन्छ । त्यसलाई हामीले कदर गर्दै उनीहरूका जायज मागहरूलाई सम्वोधन गर्नु जरुरी छ ।
राज्यको पहिलो कर्तव्य, उसको जनताको जिउधनको सुरक्षाको प्रत्याभूति, शान्ति सुरक्षा तथा अमनचैन हो । राज्यले जुनसुकै मूल्य चुकाएर भए पनि जनतालाई यी कुराहरूमा विश्वस्त पार्न सक्नुपर्छ । तराई क्षेत्रमा राज्यले अहिले आफ्नो मुख्य दायित्व बिर्सेको छ । नेपाली नागरिकहरू आफ्नै मुलुकमा त्रसिद हुँदै बन्दी जस्तो भएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । महिनौंसम्मको बन्द हडताल नाकाबन्दीजस्ता समस्याले बिहान बेलुकाको छाक टार्न समस्या पैदा हुन गएको छ, जनजीवन प्रभावित छ । तराई क्षेत्र पूर्णरूपमा अशान्त भई थप हिंसा, हत्या र आतंक मच्चिइरहँदा, छिमेकी मुलुकले त्यसैलाई बहना वनाई नेपालमा आफ्नो स्वार्थ अनुरूपको प्रयास गर्नु पनि मानवीय स्वार्थ जस्तै हो । यदि, कुनै घरमा आफ्ना दाजु–भाइहरू सबै मिलेर बसेका छन् भने कसैले पनि त्यो घरमा आँखा लगाउन सक्दैनन् तर, आफ्नो परिवारभित्र मेल भएन भने कुनै पनि बेला एक पक्षलाई उचालेर छिमेकीले त्यो घरभित्र खेल्ने प्रयत्न गर्दछ । यस्तो अवस्थामा घरमुलीले नै चित्त दुखाएका भाइ– बहिनीहरूलाई फकाउने फुल्याउने प्रयत्न गर्नुपर्छ न कि त्यसलाई चिढ्याउने । अहिले, नेपालको राजनीतिक परिदृष्श्यमा पनि यही अवस्था सिर्जना भएको छ ।
वर्तमान सरकारले उनीहरूको मागलाई केही सम्बोधन गर्दै संविधान संशोधनको प्रक्रियामा जाँदै गर्दा, आन्दोलनरत पक्षले पनि आफ्ना कुराहरू राख्दै वार्ताको माध्यमवाट समस्या समाधान गर्दै, मुलुकलाई आर्थिक क्रान्तिको बाटोमा अग्रसर गराउनु पर्दछ । संविधान एउटा देशको मूल–कानुनमात्रै हो । यसको सबल प्रयोग त हामी नेपालीजनले आफ्नो व्यवहारमा गर्न सक्ने परिर्वतनहरूले मात्रै दिन सक्छ । हामीले पहिला ‘म’ भन्ने भावनालाई त्यागेर ‘नेपाल र नेपाली हुँ’ भन्ने भावनालाई आत्मसाथ गर्नुपर्दछ र त्यसलाई व्यवहारमा उतार्नु पर्दछ । हामी अहिले एउटा उग्रराष्ट्रवादी धारणाले प्रेरित भइरहेका छौं, जुन घातक साबित हुन सक्छ । जस्को कारण कतै हामी सिरियापथतर्फ त लम्किँदै छैनौं ? पहाड–तराई–हिमालबीच मधिसे–पहाडिया–जनजाति आदिको नाराले हामी जातीय द्वन्द्वमा फसिरहेका त छैनौं ? यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ । अर्कोतर्फ, हामी बिहान सबेरै उठ्छौं, कोलगेटको ब्रसमा रामदेवको पेस्ट हाली लाइफब्बाईको साबुनले मुख धुँदै नुहाउँदै अमुलको कट्टु र गन्जी लगाउँदै, लिप्टन चियाको चुस्कीसँगै भारतीय सोना मनसुली चामल, चाइनिज राइस कुकरमा पकाउँदै हकिन्सको प्रेसरकुकरमा पाकेको आयातीत दाल, तरकारी र चट्नीसँग भात खाँदै पल्सर मोटरसाइकलमा विदेशवाट आयातीत तेल हाल्दै स्मार्टफोन चलाउँदै कानमा हेडफोन राखेर हिन्दी गीत बजाउँदै कुम हल्लाउँदै बनारसी सारी र कुर्थामा सजिँदै दिनरात चोकचोकमा गफिने, ठूला कुरा गर्ने र हिन्दी सिरियल बिना जीवन नै अपूरो छ भन्दै गफिन्छौं, अनि सामाजिक सञ्जालमा चर्को राष्ट्रवाद ओकल्दै ‘यो मन त मेरो नेपाली हो’ भन्दै हिँड्छौं । व्यवहार पूरै विदेशी परनिर्भर आश्वासन चाहिँ स्वदेशी यो कत्तिको सुहाउँछ ? इन्धनको आपूर्ति बन्द हुँदा ‘पैदल–साइकल तथा इलेक्ट्रिक–साइकल’को राष्ट्रवादी शब्दहरू खर्चिन्छौं, अनि व्यवहारमा पेट्रोल खोज्दै यत्र–तत्र भौतारिन्छौं ।
तसर्थ, हामीले आफ्नो धरातलीय यथार्थतालाई नबुझी चर्को राष्ट्रवादको राप अलाप्दा त्यसको प्रभाव आफूमै कत्तिको छ भनेर सोच्नु आवश्यक छ । हालै, एक नेपाली अर्थविद्ले टीभी अन्तर्वार्ताको क्रममा भन्नुभएको थियो– जबसम्म हामीले आफ्नो मुलुकको स्रोत उपयोग गरेर बिजुली उत्पादन गरी विदेशमा उल्लेख्य मात्रामा बिक्री गर्न सक्षम हुन सक्दैनांै, तबसम्म मुलुकले यस्ता किसिमको झमेलाहरूमा सधंै झुक्नुपर्ने अवस्था आउ“छ । कुनै पनि राष्ट्रले आफ्नो स्वार्थ नहेरी अन्यत्र लगानी गर्दैन, चाहे त्यो उत्तरको होस् वा दक्षिणको । उनीहरू निस्वार्थी हुँुदैनन्, आफ्नो स्वार्थ पूरा हुने भए मात्र सहयोगका हातहरू बढाउँछन् । हाल, मुलुकमा देखिएको द्वन्द्व सरकारले सफल कूटनीतिक माध्यमवाट आफ्नो स्वार्थलाई सम्बोधन गर्दै पार लगाउनुपर्छ । हामी जनताले यस समस्यावाट पाठ सिक्दै आफूलाई स्वावलम्बी तथा आत्मर्निभर बनाउन आजैदेखि मन, वचन र कर्मले लाग्दै परनिर्भरतालाई क्रमशः घटाउँदै लगी शून्य प्रायः बनाउन सक्नुपर्छ । अनिमात्रै नयाँ संविधानको मर्मलाई हामीले आत्मसाथ गरेको ठहर्छ । राज्यले असन्तोष पक्षलाई सम्बोधन गर्ने र हामी सबै आफ्नो व्यवहारलाई सच्याउने हो भने मात्र, हामीले व्यक्त गरेको– ‘यो मन त मेरो नेपाली हो’ वाक्यले सार्थकता पाउनेछ । अन्यथा, यो एउटा हात्तीको देखाउने दाँतमात्रै साबित हुनेछ ।


34 views

सम्बन्धित समाचारहरु