सिड्नी । नेपालमा अनाथ बालबालिकाहरुको निम्ति काम गरेर विश्व्माझ विशेष पहिचान बनाउन सफल पुष्पा बस्नेत तथा सीएनएन हिरो २०१२ को उपाधि जित्न सफल नेपाली चेली यतिबेला अस्ट्रेलियाको भ्रमणमा छिन् ।
यहि अवसरमा पारेर शुक्रबार (१८ तारिख सेप्टेम्बर) साँझ हम्बुसमा रहेको अन्नपूर्ण नेपाली रेष्टुरेन्टमा एक च्यारिटी डिनर तथा अन्तरक्रियाको आयोजना गरिने भएको छ । सो कार्यक्रममा बस्नेतले आफ्नो बालबालिका प्रोजेक्ट सम्बन्धी छोटो भिडियो रिपोर्ट समेत प्रस्तुत गर्नेछिन् । जेलमा रहेका अनाथ वालवालिकाहरुको सहयोगार्थ सो च्यारिटी डिनरको आयोजना गर्न लागिएको हो । उनले सञ्चालन गरेको पुतली घर सहयोगी हातहरुकै कारण यहाँसम्म आइपुगेको छ ।
एनआरएन अष्ट्रेलियाको भगिनी संस्था नारी निकुञ्जको सहकार्यमा आयोजना हुन लागेको सो कार्यक्रम एउटा कार्यक्रम हुने नारी निकुञ्जकी सचिव प्रतिज्ञा अधिकारीले नेपाल न्युज अस्ट्रेलियालाई बताइन् । उनले भनिन्– “पुष्पाको अभियानमा हामी प्रवासी नेपालीहरुले सकेको सहयोग गर्न पाउनु आफैमा गर्वको कुरा हो ।” । समाजसेवामा होमिएकी एक चेलीलाई सबैले सक्दो सहयोग गर्न कार्यक्रममा उपस्थिति जनाइदिनुहुन पनि अधिकारीले सबैलाई आग्रह गरेकी छिन् । बस्नेतले नेपालमा जेलमा रहेका बाबाआमाका छोराछोरीको निम्ति शिक्षाको प्रबन्ध गरेकी छिन् । साथै केही दिन अघि मात्रै मेलबर्नमा आयोजना गरिएको कार्यक्रमबाट ८ हजार ५ सय डलरभन्दा बढी सहयोग संकलन भएको थियो ।