Thursday, December 7, 2023

जनकपुरमा कर्फ्यु तथा दंगाक्षेत्र हटाइयो


  • September 15, 2015


जनकपुरमा कर्फ्यु तथा दंगाक्षेत्र हटाइयो

जनकपुर । आन्दोलनको क्रममा गत शुक्रबार प्रहरीको गोली लागी मृत्यु भएका तीन युवकको शवयात्रालाई दृष्टिगत गरी स्थानीय प्रशासनले आज बिहान साढे ९ बजेदेखि कर्फ्यु तथा दंगाक्षेत्र हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले मधेसको महानपर्व चौठचन्द तथा शव यात्रालाई दृष्टिगत गरी कर्फ्यु एवं दंगाक्षेत्र हटाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । शुक्रबारदेखि जनकपुरमा निरन्तर कर्फ्यु लाग्दै आएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको चलू जनकपुर,भरु जनकपुर अर्थात् जनकपुर भरौं अभियान अन्तर्गत शुक्रबार गाउँगाउँबाट आएका हजारौं प्रदर्शनकारी कर्फ्यु अवज्ञा गर्दै नगरमा प्रवेश गरेका थिए । यस क्रममा प्रहरीले चलाएको गोली लागी जमुनियाका १७ वर्षीय निक्कुकुमार यादव, क्षीरेश्वर नगर पालिका, महेन्द्रनगरका ३७ वर्षीय संजयकुमार चौधरी तथा सिनुरजोरा गाविस अरेरवा गाउँका १२ वर्षीय बालक दिलिप यादवको मृत्यु भएको थियो । गत पाँच दिनदेखि जनकपुर अंचल अस्पतालमा तीनै जनाको शव राखिएको थियो । जिल्ला सुरक्षा समितिले आन्दोलनको क्रममा मृत्युवरण गरेका तीनै जनालाई शहीद घोषणा, आश्रित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचार लगायतका विषयमा गृहमन्त्रालयमा सिफारिस सहित लेखि पठाएकोले मोर्चा सामूहिक शव यात्रा तथा दाह संस्कार गर्ने निर्णय गरेको हो । सदभावना पार्टी धनुषाका अध्यक्ष संजयकुमार सिंहले आज बिहान ११ बजे जनकपुर अञ्चल अस्पतालमा भेला भई मध्यान्ह १२ बजे शवयात्रा निकालिने जानकारी दिए । सिंहका अनुसार जनकपुरको उत्तरी नाकामा रहेको बाबा पेट्रोल पम्प नजिकै लगेर शवको सामूहिक दाह संस्कार गरिने छ ।


NEPAL NEWS Team
317 views

सम्बन्धित समाचारहरु