सुर्खेतमा प्रदर्शन उग्र बन्यो, गोली लागि एकको मृत्यु, वीरेन्द्रनगरमा कर्फ्यु


  • August 10, 2015


सुर्खेतमा प्रदर्शन उग्र बन्यो, गोली लागि एकको मृत्यु, वीरेन्द्रनगरमा कर्फ्यु

काठमाडौं । संघीयताको सीमांकनप्रति असन्तुष्टि जनाउँदै सुर्खेतमा थालिएको आन्दोलन हिंसात्मक भएको छ। सीमांकनप्रति विरोध जनाउँदै सुर्खेत बन्द गरी प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ। भीडले उग्र रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन २५ राउण्डभन्दा बढी हवाई फायर गरेको छ। यसैबीच सुर्खेतका सिडिओ बलदेव गौतमले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु जारी गरेका छन्। प्रर्दशनकारीले नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काको घरमा ढुंगामुढासमेत गरेका छन्। मध्यपश्चिमाञ्चलका तीन जिल्लालाई कर्णालीसँग मिसाइएको भन्दै सोमबार सुर्खेत जिल्ला बन्द आह्वान गरिएको हो। ६ प्रदेशको सीमांकनबाट मध्यपश्चिमाञ्चलका जिल्ला विभाजित भएको भन्दै नागरिक संघर्ष समितिको आह्वानमा बन्द गरिएको हो। कर्णालीका पाँच जिल्लासहित भेरीका सुर्खेत, जाजरकोट र दैलेखलाई सुदूरपश्चिमको क्षेत्रमा पारिएको भन्दै आन्दोलन घोषणा भएको हो।

बन्दमा जिल्लाका सबै राजनीतिक दल, संघसंस्था तथा स्थानीयले समर्थन गरेका छन्। बन्दका कारण यातायात, बजार र शिक्षणसंस्था ठप्प छन्। अखण्ड मध्यपश्चिम नभएसम्म आन्दोलन नरोकिने संघर्ष समितिले चेतावनी दिएको छ।


NEPAL NEWS Team
531 views

सम्बन्धित समाचारहरु