राष्ट्रसंघको ७० औं महासभामा प्रधानमन्त्री सहभागी हुने


  • August 10, 2015


राष्ट्रसंघको ७० औं महासभामा प्रधानमन्त्री सहभागी हुने

काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको ७० औं महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता जनाउने राष्ट्रसंघलाई जानकारी गराएको छ । सम्वोधनको वर्णानुक्रम, होटल बसाई, साइडलाइन सम्मेलनमा सहभागिता लगायत विषय मिलाउनुपर्ने हुनाले दुई महिना अघि नै सरकारले लिखित रुपमै राष्ट्र संघलाई जानकारी गराउनुपर्ने हुन्छ ।

सत्ता परिवर्तन नभए प्रधानमन्त्री सुशील कोइराला नै आगामी असोज ५ मा न्युयोर्क जानेछन् । केही दिनपछि परराष्ट्र मन्त्रीको टोली त्यसतर्फ जाने छ । प्रधानमन्त्री पछि परराष्ट्रमन्त्री जाने वा कतिपय अवस्थामा परराष्ट्र मन्त्रीलाई जिम्मेवारी तोकेर पहिल्यै पठाउने गरिन्छ । तर अहिले तीन फरक महत्वपूर्ण कार्यक्रम रहेकोले प्रधानमन्त्रीले नै नेतृत्व गर्ने भनी गत साता पत्राचार गत साता कूटनीतिक स्रोतले बतायो । कुटनीतिक स्रोतका अनुसार मन्त्रीस्तरमा सहभागिता जनाउने भनिएमा पछि उच्च स्तरको सहभागिता गराउन गाह्रो हुन्छ । पहिले उच्चस्तरको सहभागिता जनाउने जानकारी गराएर अन्तिम समयमा स्तर घटाउन मिल्छ । राष्ट्रसंघ स्थापनाको ७० औं र नेपाल राष्ट्रसंघ सम्वन्धको ६० औं बर्षगाठ समेत रहेकाले नेपालको उच्चस्तरको उपस्थितीको महत्व रहेको हो । सम्मेलनको औपचारिकता भदौ २९ बाट आरम्भ भएपनि यसको उच्चस्तरीय सम्वोधन र उदघाटन भने असोज ११मा हुनेछ । उदघाटन सत्रमा नै नेपालले आफ्नो धारणा राख्न पाउनेछ । ७० औं महासभा आरम्भ हुनु चार दिन अघि २०१५ पछिको विकास कार्यक्रमको लागि छुट्टै सम्मेलन हुने हुनाले नेपाल जस्तो अतिकमविकसित मुलुकको तर्फबाट उच्चस्तरको सहभागिता आवश्यक रहने, परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोखरेलले भने, ‘विश्व शान्तिको लागि भूमिका खेलेको मुलुकका कार्यकारी प्रमुखसंग अमेरिकी राष्ट्रपतिले गर्ने छुट्टै बैठक र भुकम्प पछिको पुर्ननिर्माणमा लागेकोले अन्तराष्ट्रि समुदाय माझ प्रस्तुत हुन पनि यो महासभा उच्चस्तरको सहभागिता महत्वपूर्ण छ ।’
स्रहशताब्दि विकास लक्ष्यमा हासिल गरेको उपलब्धी र गर्नपर्ने कार्यबारे नेपाल जस्तो मुलुकले ब्यक्त गर्नपर्ने धारणा र अवस्था महत्वपूर्ण छ । राष्ट्रसंघ पुर्नसंरचना, अल्पविकसित मुलकुको तर्फबाट नेपाल जस्ता मुलुकले आफ्नो भूमिका खोज्ने लगायतको विषय यो महासभामा उठ्ने छ । अमेरिकी राष्ट्रपति बाराक ओवामाले विश्व शान्तिका लागि भूमिका निर्वाह गरेका मुलुकका कार्यकारी प्रमुखहरुसंग छुट्टै छलफल गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा नेपालको सहभागिता अपरिहार्य मानिन्छ, विश्व शान्तिमा नेपालको भुमिका अग्रणी छ । प्रधानमन्त्री कोइरालाले महासभामा जादा आफ्नो नियमित स्वास्थ्य परिक्षण समेत गर्ने हुनाले चिकित्सकसंग उनको समय मिलाउने काम न्यूयोर्क स्थित नेपाली नियोगले गरिरहेको छ । उनले गत बर्ष महासभाकै दौरानमा नियमित परिक्षण गराएपछि क्यानसरको उपचार गराएको अस्पतालमा उनले पुन परिक्षण गराएका छैनन् ।

परराष्ट्र मन्त्रालय उच्चस्रोतका अनुसार मुलुकमा संविधान जारी भएर नयाँ प्रधानमन्त्री चयन भएको खण्डमा महासभामा कोइरालाको स्थानमा अर्का ब्यक्ति गए पनि चिकित्सकलाई परिक्षणको लागि भने कोइराला तोकिएको समयमा जाने एक अधिकारीले बताए । संविधान निर्माण भएलगत्तै प्रधानमन्त्रीले राजिनामा दिने र अर्को सरकार निर्माणको तयारी गर्ने बताइएको र संविधान निर्माण कार्य पनि द्रुत गतिमा अघि बढेको छ । सरकारले भ्रमणको मितब्यताको लागि टोली सानो बनाउन एक निर्देशिका नै जारि गरेकोले प्रधानमन्त्रीको नेतृत्वमा १८ र परराष्ट्र मन्त्रीको नेतृत्वमा ७ जनाको टोली हुनसक्ने एक अधिकारीले बताए । तर लामो समय सम्म चल्ने उक्त महासभामा सभासद तथा कर्मचारीहरु विचमा पनि गइरहनेछन् ।


NEPAL NEWS Team
239 views

सम्बन्धित समाचारहरु