संविधान जारी गर्न दलहरु लागीपरेका छन् : प्रधानमन्त्री


  • August 3, 2015


संविधान जारी गर्न दलहरु लागीपरेका छन् : प्रधानमन्त्री

उदयपुर । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक अनिश्चितकालका स्थागित भएसंगै संविधान लेखन प्रक्रिया अन्यौल भइरहेका बेलमा प्रधानमन्त्री सुशील कोइरालाले विधिको शासन पद्धति स्थापित गर्दै राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउन शीघ्र लोकतान्त्रिक संविधान जारी गर्न राजनीतिक दलहरु लागिपरेका बताएका छन् । पूर्वी नेपाल जोड्ने वैकल्पिक सडक मार्गमा रहेको कोशी चतरा पुल उदघाटन गर्दै प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक परिपाटी दिगो भएपछि विकासले पनि गति लिने पनि बताए ।
पूर्वी नेपाल जोड्ने वैकल्पिक सडक मार्गमा रहेको कोशी चतरा पुल उदघाटनपछि प्रधानमन्त्री कोइरालाले पूर्वाञ्चलको विकासका निम्ति मेरुदण्डका रुपमा रहेको कोसी पुलबाट सामाजिक, आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । मुलुकको विकास निर्माणका लागि वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै प्रधानमन्त्री कोइरालाले जनताका इच्छा आकाक्षा पूरा गर्न र देशलाई आर्थिक समृद्धिको बाटोमा डो¥याउन सरकार तयार रहेको समेत स्पष्ट पारे । उनले सडक पुलजस्ता भौतिक पूर्वाधार निर्माणमा सरकार केन्द्रित रहेको पनि स्पष्ट पारे ।
अशान्ति, अस्थिरता र अराजकताले देश विकासको गतिलाई अवरुद्ध पारेकामा सम्पूर्ण नेपाली जनता चिन्तित रहेको पनि कोइरालाको भनाई थियो । प्रधानमन्त्री कोइरालाले भने–‘अब शान्ति, स्थायित्व र राष्ट्रिय एकताका निम्ति सम्पूर्ण नेपाली जनता र राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्छ ।’ उनले लोकतान्त्रिक परिपाटी दिगो भएपछि विकासले पनि गति लिने र विकासलाई नै केन्द्रमा राखेर बनाइएको नयाँ संविधान पनि चाँडै आउनेमा बिश्वास दिलाए । नयाँ संविधानले महिला, जनजाति, दलित, आदिवासी, पिछडावर्ग, मस्लिम समुदायको हकहित सुनिश्चित गर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले संविधान च्यात्ने र सङ्घर्षमा उत्रने कामले मुलुकलाई अझै पछाडि धकेल्ने बताए ।
एसियाली विकास बैंकको सहयोगमा बनेको पुल सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने यो पुल सञ्चालनमा आएसँगै हेटौंडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो खुलेको छ । यो पुलले मध्यपहाडी राजमार्गलाई तराईसँग जोड्न सहयोग गर्छ भने हेटौंडाबाट धरान जोड्ने छोटो बाटो पनि खुलेको छ । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौंडा सहजै रुपमा जोडिएका छन् ।
एक अर्ब पाँच करोड लाग्ने अनुमान गरिएपनि पुल ७६ करोड ११ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको छ । यो रकममध्ये एडिबीको ६० प्रतिशत अनुदान र बाँकी ४० प्रतिशत नेपाल सरकारको लगानी रहेको छ । २ सय ६१ दशमलव ३ मिटर लामो यो पुलमा तीनवटा पिल्लर त्यसमाथि फ्लस राखेर माथिल्लो भागमा पिच गरिरएको छ ।


NEPAL NEWS Team
254 views

सम्बन्धित समाचारहरु