पुनर्निर्माण प्राधिकरण गठन अझै अलपत्र


  • July 27, 2015


पुनर्निर्माण प्राधिकरण गठन अझै अलपत्र

काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणमा सहयोगको प्रतिबद्धता गरेका दातृ निकायले पुनर्निर्माण प्राधिकरणलाई तत्काल पूर्णता दिन आग्रह गरेका छन् । उनीहरूले तत्काल प्राधिकरणले पूर्णता नपाए सहयोग नगर्ने चेतावनीसमेत दिएका छन् । अन्तर्राष्ट्रिय दाता सम्मेलनका वेला सरकारले प्राधिकरणलाई तत्काल पूर्णता दिएर काम सुरु गर्ने विश्वास दिलाएको थियो । तर, सम्मेलन भएको एक महिना पुग्न लाग्दासमेत प्राधिकरणले पूर्णता पाएको छैन । प्राधिकरणको पूर्णता र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नियुक्तिमा भएको ढिलाइप्रति चासो दिँदै दाताहरूले तत्काल पुनर्निर्माणको वातावरण बनाउन सरकारलाई दबाब दिँदै आएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार प्राधिकरणले कहिलेबाट काम सुरु गर्छ भन्दै दातृ निकायले औपचारिक तथा अनौपचारिक रूपमा सोधखोज गरेका छन् । ‘भूकम्पपछिको पुनर्निर्माणमा सरकारसँग सहयात्रीका रूपमा अगाडि बढ्न दातृ निकायले उत्साहित हुँदै सहयोग प्रतिबद्धता घोषणा गरेका थिए, तर प्राधिकरणको पूर्णतामा भएको ढिलाइबाट उनीहरू निराश भएका छन्,’ स्रोतले भन्यो, ‘हामीले प्रतिबद्धता मात्रै जनाएका हौँ । प्राधिकरणलाई तत्काल पूर्णता नदिए प्रतिबद्धता जनाएको पैसा दिँदैनौँ भन्दै चेतावनी दिएका छन् ।’

अर्थ मन्त्रालयका अनुसार प्राधिकरण गठनमा सरकार गम्भीर नभएको भन्दै दातृ निकायहरूले कागजमै सीमित हुने हो कि भन्ने चिन्तासमेत व्यक्त गरेका छन् । मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव मधुकुमार मरासिनीले पनि दातृ निकायले प्राधिकरणको पूर्णताबारे गम्भीर चासो व्यक्त गरेको बताए । ‘प्राधिकरणका सदस्य र सिइओ नियुक्तिमा भएको ढिलाइप्रति उनीहरूले गम्भीर चासो राखेका छन्,’ मरासिनीले भने, ‘उनीहरूले प्राधिकरणमा सिइओ तत्काल नियुक्त गरी पुनर्निर्माण अगाडि बढाउन आग्रह गरिरहेका छन् ।’


NEPAL NEWS Team
207 views

सम्बन्धित समाचारहरु