संविधानको मस्यौदामा सक्रिय भएर सुझाव दिन प्रधानमन्त्रीको अपिल


  • July 20, 2015


संविधानको मस्यौदामा सक्रिय भएर सुझाव दिन प्रधानमन्त्रीको अपिल

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधानको पहिलो मस्यौदामाथि सुझाव संकलन गर्ने अभियानमा सहभागी हुन सम्पूर्ण नेपालीलाई अपिल गरेका छन्। प्रधानमन्त्री कोइरालाले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै आफैंले संविधान निर्माण गर्ने नेपाली जनताको ऐतिहासिक चाहना करिब एक शताब्दी लामो संघर्ष र राजनीतिक आरोह–अवरोहपछि साकार हुन लागेको जनाएका छन्। प्रधानमन्त्री सोमबार र मंगलबार हुने सुझाव संकलनमा सहभागी भएर आफ्ना सुझाव राख्न भनेका छन्। ‘संविधानसभाले संविधानको पहिलो मस्यौदा पारित गरी राय सुझावका लागि जनतासमक्ष पुर्या एको छ,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘यस मस्यौदामाथि निर्वाचन क्षेत्र तहमा छलफल गर्ने कार्यक्रम सोमबार र मंगलबार तोकिएको छ। यसरी मस्यौदा पारित गरी जनताको धारणा बुझ्ने यो प्रयास आधुनिक र उच्च लोकतान्त्रिक अभ्यास हो।’ सबै राजनीतिक दलको सहमतिमा बनेको संविधानको मस्यौदालाई कस्तो बनाउँदा राम्रो हुन्छ भन्ने बारेमा सुझाव दिन उनले आग्रह गरेका छन्। ‘यो मस्यौदा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको सहमतिको पनि दस्तावेज हो, यसका कतिपय प्रावधान र धारामा सादृश्यता नपाइन पनि सक्छ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘मस्यौदामा निहित कुन कुन धारा र प्रावधानलाई कस्तो बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा आफ्ना ज्ञान र अनुभवमा आधारित सुझाव दिएर यस महाअभियानमा सरिक हुन स्वदेश तथा विदेशमा बस्ने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आग्रह गर्दछु।’ संविधान निर्माणमा जनताको प्रत्यक्ष सहभागिता ऐतिहासिक अवसर भएको प्रधानमन्त्री कोइरालाले उल्लेख गरेका छन्। संविधानका कुनै पनि धारामा विमति राख्नेले पनि संशोधनको सुझाव दिन सक्ने उनले जनाएका छन्। ‘बहुलवादमा आधारित लोकतान्त्रिक संविधानले सबै नेपालीको सुनौलो भविष्यको मार्ग खोल्नेछ,’ प्रधानमन्त्री कोइरालाले भनेका छन्, ‘यसका कुनै प्रावधानमा विमति राख्नेहरूबाट पनि संशोधनको आउने मैले विश्वास लिएको छु।’ प्रधानमन्त्री कोइरालाले संविधानसभा बाहिर रहेका राजनीतिक दललाई पनि सुझाव संकलनमा सहभागी हुन अपिल गरेका छन्। ‘संविधानसभामा प्रतिनिधित्व गर्ने वा संविधानसभा बाहिर रहेका राजनीतिक दलप्रति आस्था राख्ने सबै दिदीबहिनी तथा दाजुभाइलाई संविधान निर्माणको महायज्ञमा सरिक भएर लोकतान्त्रिक शासन पद्धतिमार्फत देश र जनताको सुखद भविष्य सुनिश्चितका लागि सहयोग गर्न अपिल गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।


NEPAL NEWS Team
247 views

सम्बन्धित समाचारहरु