काठमाडौंमा संविधानको मस्यौदामा सुझाव दिने कुन कुन ठाँउ जाने ?


  • July 19, 2015


काठमाडौंमा संविधानको मस्यौदामा सुझाव दिने कुन कुन ठाँउ जाने ?

काठमाडौं । संविधानको पहिलो मस्यौदामाथि सुझाव सङ्कलनका लागि तयार गरिएको कार्यतालिकाअनुसार सभासद्हरू आ–आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् । संविधानसभा सचिवालयकाअनुसार केही शीर्ष नेताबाहेक धेरैजसो सभासद् आ–आफ्नो क्षेत्रमा पुगेर जनमत सङ्कलनको आवश्यक तयारी गरिरहेका छन् ।सचिवालयले आवश्यकताका आधारमा नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा उपलब्ध गराएको छ । हिमाली तथा दुर्गम क्षेत्रका लागि गृह मन्त्रालयको व्यवस्थापनमा हेलिकप्टरको व्यवस्था गरिएको छ भने सुगम स्थानमा सडकबाटै जाने व्यवस्था मिलाइएको छ ।
काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा पनि सुझाव दिनका लागि संविधानसभा सचिवालयले आवश्यक व्यवस्था गरेको जनाएको छ । नागरिक सम्बन्ध तथा संविधान सुझाव सङ्कलन समितिका अनुसार काठमाडौँको निर्वाचन क्षेत्र नं १ का लागि दशरथ रङ्गशाला, विजयस्मारक स्कुल, बानेश्वर व्याङ्केट र भिएस निकेतन स्कुलमा व्यवस्था गरिएको छ ।
क्षेत्र नं २ का लागि भगवती मावि साँखु, सरस्वती मावि कोटेश्वर, आस्था पार्टी प्यालेस थली र गोल्डेनगेट उमावि पुरानो बानेश्वरमा स्थान तय गरिएको छ । क्षेत्र नं ३ का लागि आलापोटको कागेश्वरी पुस्ताकालय, सुन्दरीजलको ओख्रेनी मावि, समता स्कुल नयाँबस्ती बौद्धमा पुगेर जनताले आफ्ना सुझाव दिन सक्नेछन् ।

क्षेत्र नं ४ का जनताले बास्केटबल कोर्ट गोल्फुटार, मिलनचोक पार्टी प्यालेस, गोल्डेन लाइट पार्टी प्यालेस र अग्रवाल भवन कमलपोखरीमा पुगेर सुझाव दिन सक्नेछन् ।
क्षेत्र नं ५ मा पुरानो गाविस भवन टोखा, धुम्बाराही पार्टी प्यालेस, धापासी नेचर क्लब र परेली पार्टी प्यालेसका लागि स्थान तय गरिएको छ भने क्षेत्र नं ६ मा मानसिंह धर्म उमावि, लैनचौरमा दुग्ध विकास संस्थान नजिकै र पब्लिक बोर्डिङ स्कुल, क्षेत्र नं ७ मा बालाजु पार्क, क्षेत्र नं ८ का लागि ज्ञानोदय उमावि बाफल, क्षेत्र नं ९ का लागि तीनकुने ग्राउण्ड कुलेश्वर र बलम्बु गुर्जुधारा–८ जिविसको पुरानो भवनलाई सुझाव दिने स्थानका रूपमा तय गरिएको छ । त्यसैगरी क्षेत्र नै १० का जनताले पाँगा पार्टी प्यालेस कीर्तिपुर, त्रिभुवन आर्दश विद्यालय फर्पिङ, दक्षिणकाली नगरपालिका र सतुङ्गल पार्टी प्यालेस, सतुङ्गल चन्द्रागिरि नगरपालिकामा सुझाव दिने स्थानको रूपमा छनौट गरिएको छ । आफूलाई पायक पर्ने तोकिएका स्थानमा पुगेर आफ्नो सुझाव दिन समितिले आग्रह गरेको छ ।


NEPAL NEWS Team
408 views

सम्बन्धित समाचारहरु