सम्मेलनमा दाताहरुद्धारा झन्डै ४०० अर्ब रूपैयाँ सहयोगको बचन


  • June 25, 2015


सम्मेलनमा दाताहरुद्धारा झन्डै ४०० अर्ब रूपैयाँ सहयोगको बचन

भारत–१००, चीन–७६, एडिबी–६०, विश्व बैंक–५०, जापान–२६, अमेरिक– २३, इयु–११, नर्बे–३ अर्ब सहयोग घोषणा

काठमाडौं । भूकम्प पछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन नेपाल सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा विभिन्न मुलुक तथा दातृ निकायले करिब ४ सय अर्ब रूपैयाँ बराबरको सहयोगको बचन दिएका छन्। भारतले सबैभन्दा ठूलो १०० अर्ब सहयोगको घोषणा गरेको छ। यो सहयोग मध्ये २५ अर्ब अनुदान हुनेछ।
भूकम्पपछि भारतले नेपालको पुनर्निर्माणको लागि १ अर्ब डलर सहयोग गर्ने भएको हो। बिहीबार राजधानीमा भइरहेको दाता सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्री सुस्मा स्वराजले भारतले सहयोग गर्ने रकम खुलाएकी हुन्। यसमध्ये २५ प्रतिशत अनुदान दिने उनले बताइन्। भारतले पहिले नै दिने भनेको एक अर्ब डलरको सहयोग सहित आउने पाँच वर्ष भित्र भारतीय सहयोग दुई अर्ब डलर पुग्ने भएको छ।
यस्तै चीन सरकारले ७६ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। चीनले भूकम्पपछिको नेपालको पुनःनिर्माण, पुनःस्थापना र नवनिर्माणमा सघाउन करिब रु ७६ अर्ब २० करोड प्रदान गर्ने घोषणा गरेको छ ।
राजधानीमा जारी नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा चीनका विदेशमन्त्री वाङ यीले उक्त घोषणा गरेका हुन्। चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको बताउँदै उनले प्राकृतिक विपत्तिबाट प्रभावित भएको छिमेकीलाई पुनःनिर्माण, पुनःस्थापना र नयाँ निर्माणमा मद्दत गर्न एक अर्ब वित्तीय सहायता उपलब्ध गराइने जानकारी दिए। त्यसैगरी, उनले पूर्वाधार विकासका पाँच क्षेत्रमा केन्द्रित सहायता कार्यक्रम कार्यान्वयनका लागि पहिलो चरणमा २०१६/१८ का लागि झन्डै ५० अर्ब चिनियाँ सहयोग आउने चिनियाँ विदेशमन्त्रीले स्पष्ट गरे।

यस्तै विश्व बैंकले ५० अर्ब रूपैयाँसम्म सहयोग गर्ने भएको छ। विश्व बैंकका अध्यक्षले बिहीबार राजधानीमा आयोजित सम्मेलनमा भिडियो सन्देश दिँदै उक्त सहयोगको घोषणा गरेका हुन्। बिहीबारको सम्बोधनमा उनले २० अर्ब पुर्वाधार निर्माण र १० अर्ब बजेटमा सहयोग गर्ने गर्ने बताएका छन्।
यस्तै युरोपियन युनियन(इयु) ले ११ अर्ब रूपैयाँ अनुदान दिने भएको छ। राजधानीमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै इयुको प्रतिनिधिले उक्त अनुदानको घोषणा गरेका हुन्। यस्तै एडिबीले भूकम्पपछिको पुननिर्माणका लागि २५ अर्ब रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। राजधानीमा आयोजित कार्यक्रममा एडिबीले यस्तो घोषणा गरेको हो। एडिबीले २० अर्ब रूपैयाँ पुर्वाधार निर्माणका लागि सहुलियत पूर्ण ऋण र ५ अर्ब बजेटका लागि अनुदान हुनेछ। भविश्यमा थप सहयोग गरेर ६० अर्बसम्म पुर्‍याउन सकिने एडिबीले बचन दिएको छ।

अमेरिकाले भूकम्पसँग सम्बन्धित सहयोग १३ अर्ब रूपैयाँ पुर्‍याउने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेश मन्त्री जोन केरीको सन्देश पढ्दै उक्त सहयोग रकम आउने बताएका हुन्।

भूकम्प पछि पुनर्निर्माणका लागि नर्वेले ३ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार राजधानीमा भएको सम्मेलनमा बोल्दै नर्वेका प्रतिनिधिले उक्त सहयोग रकमको घोषणा गरेका हुन्।

भूकम्प पछि जापानले नेपाललाई पुननिर्माणका लागि २६ अर्ब रूपैयाँ सहयोग गर्ने भएको छ। बिहीबार राजधानी काठमाडौंमा भएको दाता सम्मेलनमा बोल्दै जापानका विदेश राज्य मन्त्री जापानका विदेश राज्यमन्त्री मिनोरु कियुचीले उक्त सहयोग रकम घोषणा गरेका छन्।


NEPAL NEWS Team
284 views

सम्बन्धित समाचारहरु