Saturday, April 13, 2024

भुकम्पपछि मुस्ताङमा हवाई पर्यटक बढे


  • June 18, 2015


भुकम्पपछि मुस्ताङमा हवाई पर्यटक बढे

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विनाशकारी भूकम्पका कारण ठप्प बनेको यहाँको पर्यटन व्यवसायी पछिल्लो समय पर्यटकको आवागमनसँगै तङग्रिदै जान थालेको छ । बेनी–जोमसोम सडकखण्डको विभिन्न स्थानमा झरेको पहिरोका कारण सिधा सवारीसाधन सञ्चालनमा आउन नसक्दा पोखरा–जोमसोम हवाई मार्ग हुँदै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । बृहत्तर किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि सडक मार्ग हुँदै मुस्ताङ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका प्रमुख सन्तोष शेरचनले पोखरा–जोमसोम रुट हुँदै विभिन्न देशका पर्यटक आउन थालेको जानकारी दिए । उनका अनुसार जापान, अमेरिका, चीन, मलेसियालगायतका पर्यटक बढी आउन थालेका छन् । ‘हवाई मार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेको छ, जेठ अन्तिम हप्तादेखि नियमितरुपमा पर्यटक आइरहेका छन्’ , उनले भने, ‘एकहप्ताको अवधिमा २०० को हाराहारीमा पर्यटक हवाई मार्गमार्फत जिल्ला भित्रिएका छन् ।’ मौसममा आउने परिवर्तनका कारण दिनभर उडान हुन नसक्दा पर्यटक भने समयमै पोखराबाट जिल्ला आउन सकेको छैन । यो रुटमा गोमा, सिम्रिक, मनाङ एयरले नियमित उडान भर्दै आएका छन् । विनाशकारी भूकम्पपछि पनि नियमित गइरहने पराकम्पन र बेनी–जोमसोमको विभिन्न स्थानमा खसेको पहिरोका कारण साढे एक महिनासम्म पर्यटक नआउँदा यहाँका पर्यटन व्यवसाय अस्तव्यस्त बनेको थियो । सुनसान बनेको होटल विस्तारै बुकिङ हुन थालेको मुस्ताङ उद्योग वाणिज्य सङ्घले जनाएको छ । पछिल्लो समय मुस्ताङको मुक्तिनाथ र लोमान्थाङ क्षेत्रमा पनि पर्यटकको चहलपहल बढ्दै गएको एक्यापको भनाइ छ ।


NEPAL NEWS Team
198 views

सम्बन्धित समाचारहरु