नेप्सेमा सात अङ्कले वृद्धि


  • June 13, 2015


नेप्सेमा सात अङ्कले वृद्धि

काठमाडौँ । यो साता नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेर अन्तिम दिन ९३७.९६ अङ्कमा पुगेको छ । गत साता नेप्से ५४.९० अङ्कले बढेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको १० हजार ७७६ कारोबारबाट रु एक अर्ब ६२ करोड पाँच लाख ७२ हजारबराबरका ३९ लाख ८८ हजार ४० कित्ता सेयर खरिद बिक्री भएका छन् । यो कारोबार रकम गत साताको भन्दा २५.४० प्रतिशत बढी हो ।

गत साता १४७ कम्पनीको नौ हजार १५२ कारोबारबाट रु एक अर्ब २९ करोड २३ लाख ८६ हजारबराबरका ३१ लाख ९८ हजार ९८० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.७१ अङ्कले बढेर २००.८३ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा नबिल ब्यालेन्स फन्ड–१ अग्रस्थानमा छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता विभिन्न १३ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएका छन् ।


NEPAL NEWS Team
306 views

सम्बन्धित समाचारहरु